प्रधानमन्त्री ज्यू ! विवश जनतालाई ढाडस दिने कि धम्की ?

दोषी चस्मा फुकाल्नुहोस्, देश र जनताको अवस्था छर्लङ्ग छ

चिन्तन क्षेत्री
Read Time = 14 mins

काठमाडौं । पुस दोस्रो साता कोरियामा रोजगारीका लागि लिइने ईपीएस भाषा परीक्षामा आफूहरूलाई पनि सहभागी गराउनुपर्ने मागसहित प्रदर्शन गरिरहेका युवाहरू र प्रहरीबीच शुक्रवार झडप हुँदा दुई जनाले ज्यान गुमाए । केही घाइते पनि भए ।

दक्षिण कोरियामा ‘शीप बिल्डिङ’ अर्थात् पानीजहाज बनाउने कामको अवसरका लागि लिइएको भाषा परीक्षामा अनुत्तीर्ण भएकाहरु उत्पादनमूलक क्षेत्रमा काम गर्न जानका लागि लिइने अर्को भाषा परीक्षामा सहभागी हुन नपाउने निर्णय गरेको थियो । सोही निर्णयको विरोधमा भएको प्रदर्शनले उग्र रुप लिँदा दुःखद घटना भयो ।

अदालतको अपरिपक्व निर्णय र सरकारी निकायहरुको अकर्मण्यताले दुई युवाले अकालमा ज्यान मात्रै गुमाएनन् । संघीय सरकारका मन्त्री प्रकाश ज्वाला सवार गाडीमा आगजनी पनि भयो । घटनाको विषयमा दलहरूका अनेक विज्ञप्ति आए । सरकारले छानबिनका लागि उच्चस्तरीय समिति बनायो । अहिले समितिले काम गरिरहेको छ ।

बालकुमारी घटनाको प्रसङ्ग यहाँ किन उल्लेख गरिएको हो भने, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यो घटनासँग सम्बन्धित केही गम्भीर र केही हास्यास्पद अभिव्यक्ति दिँदै आइरहनुभएको छ । भलै सरकार नियन्त्रित सञ्चारमाध्यमहरूको नजरमा विदेश जान पाउँ भन्दा मृत्यु उपहार पाउनेहरूको समाचार भन्दा पार्टीका अभिमुखीकरणका समाचारले प्राथमिकता पाउँछन् ।

घटनाको एक महिनापछि प्रधानमन्त्री प्रचण्डले शनिवार एक सार्वजनिक कार्यक्रममा १७ हजार प्लस २ को हत्यारा भनेर आफूहरूलाई भन्ने गरिएको गुनासाे गर्नुभयाे । उहाँले सार्वजनिक रूपमै तिमीहरू हत्यारा हौँ भनेर भन्नेहरूको प्रतिवाद गर्न पनि पार्टीका कार्यकर्ताहरूलाई निर्देशन दिनुभयो ।

देशको कार्यकारीले रोजगारीका लागि विदेश जान पाउँ भन्दै आन्दोलन गर्नुपर्ने अवस्था आउन नदिनुपर्ने हो । देशमा नै रोजगारी छ तिमीहरू किन विदेश जान्छौँ ? भनेर प्रश्न गर्ने वातावरण बनाउनुपर्ने हो । तर यहाँ यसको ठिक उल्टो भइरहेको छ ।

प्रधानमन्त्रीको भाषण यतिमा मात्रै सीमित थिएन । उहाँले शहीद प्रतिष्ठान नेपालको साधारण सभालाई सम्बोधन गर्ने क्रममा हामीलाई झुट र बेइमानीपूर्ण कुरा गरेर कस्ता मान्छेले हेप्दैछन् ? तर हामी कोही नबोल्ने ? प्रतिवाद नगर्ने ? भनेर कार्यकर्ताहरूलाई उत्तेजित बनाउन समेत भ्याउनुभयो ।

उहाँले भन्नुभयो, ‘आज हामीलाई कस्ता कस्ता मान्छेले हेप्दैछन् ? १७ हजार भन्ने भाष्य, यति झुट बेइमानीपूर्ण, आपराधिक प्रचार खुलेआम हाम्रो अगाडि गरिएको छ । तर हामी प्रतिवाद गर्ने आँट गर्दैनौँ । १७ हजार प्लस २ भनेर एउटा मान्छे ब्यानर बोकेर उभिएको छ । तर हामीले प्रतिवाद नगर्ने ? कोही नलेख्ने, कोही नबोल्ने ? कस्ता भयौँ त हामी ? हिजो भए हामी सहन्थ्यौँ त ? के गर्थ्यौँ हिजो भए ? कस्तो प्रतिवाद गर्थ्यौँ ?’

त्यसो त सार्वजनिक कार्यक्रममा नै ५ हजारको जिम्मा हामी लिन्छौँ बाँकीको जिम्मा तत्कालीन सरकारी पक्षले लिनुपर्छ भनेर यसअघि अभिव्यत्ति दिने प्रधानमन्त्रीलाई १७ हजार प्लस २ को जिम्मा लेऊ भनेर कसैले भन्दा चित्त दुखेको होला ।

उहाँले शनिवार कै कार्यक्रममा हाम्रा १० हजार राष्ट्रिय महान् शहीद हुन् भनेर देशभरि कार्यक्रम गर्न केले रोकेको छ ? कार्यक्रम गर्नुस् भनेर पनि कार्यकर्ताहरूलाई निर्देशन दिनुभयो । आफ्ना महान् शहीदहरूको बारेमा सहन सक्दैनौँ भनेर मुठी उठाएर बोल्न आँट गर्न पनि कार्यकर्ताहरूलाई निर्देशन दिनुभयो ।

उहाँको आक्रोश आफूलाई हत्यारा भन्नेहरू खुलेआम हिँडिरहेका छन् तर कार्यकर्ताहरूले केही गर्न सकेनन् भन्ने थियो । उहाँले भन्नुभयो, ‘हामीलाई हत्यारा भन्नेहरू खुलेआम हिँडिरहेका छन्, तीनलाई ठाउँ ठाउँ किन दिन सकेनौँ ?’

केही दिन अघि मात्र युगाण्डाबाट नेपाल फर्किदै गर्दा प्रचण्डले जागिर खाने नाममा जहाँ पायो त्यहीँ जाने तरिका ठिक नभएको समेत बताउनु भएको थियो । उहाँले नेपालीहरूलाई जथाभावी विदेश नजान घुमाउरो चेतावनी समेत दिनुभएको थियो । ‘जागिर भन्दैमा जहाँ पायो त्यहीँ नजानू,’ उहाँले भन्नुभयो । मानिसहरू किन विदेशिन बाध्य छन् रु भन्नेतिर नगई उहाँले जथाभावी विदेश नजान चेतना फैलाउन आवश्यक रहेको सुनाउनुभयो ।

‘सरकारले भन्नेबित्तिकै रुसले मानिहाल्ने स्थिति छैन’ प्रधानमन्त्री प्रचण्डले जागिर खाने नाममा देशको कानुन उल्लंघन नगर्न घुमाउरो चेतावनी दिनुभएको थियो ।

‘भारत र इंग्ल्याण्डबाहेक अन्यत्र कतै पनि नेपाली युवाहरूलाई कहीँ पनि सेनामा भर्ती गर्ने नीति सरकारको छैन । सबैले जनतामा चेतना फैल्याउनुपर्छ । जागिर खाने नाममा जहाँ पायो त्यहीँ जाने तरिका ठिक भएन । राज्यको नीतिविपरीत सेनामा भर्ती हुने, जहाँ पनि जाने अझ बाटो छलेर जाने तरिका भएन भन्ने चेतना फैल्याउनुपर्छ,’ उहाँले भन्नुभयो, ‘यसमा सरकार गम्भीर छ । सरकारले पठाएको पनि होइन । सरकारले भन्नबित्तिकै रुसले मानिहाल्ने कुरा पनि छैन ।’ उहाँको भनाइ थियाे।

आर्थिक रूपमा क्रमशः धराशायी बन्दै गएको मुलुकमा रोजगारीको सम्भावना अत्यन्तै न्यूनतम छ । दिनानुदिन बढिरहेको महँगीको तुलनामा त्यो जागिरबाट हुने आर्जनले धान्ने अवस्थै छैन । अनि राज्य सञ्चालकका क्रियाकलाप जनताको निराशा घटाउनेभन्दा बढाउनेतर्फ छ । उनीहरू जनताका समस्याप्रति पटक्कै संवेदनशील छैनन् । जनआकांक्षा सम्बोधन गर्नेतिर कुनै ध्यान छैन ।

प्रधानमन्त्रीको दोषी चस्माले बालकुमारी घटनालाई पनि लोकतन्त्रविरुद्धको डिजाइन देखेको थियो 

प्रधानमन्त्री प्रचण्डको अभिव्यक्ति गैर जिम्मेवार र आक्रोशित मात्रै हुने गरेको छैन । कहिलेकाहीँ उहाँले गम्भीर विषयलाई हास्यास्पद रूपमा पनि भन्ने गर्नुहुन्छ । जसरी सरकार, उहाँको पार्टी र उहाँ विरुद्ध कसैले केही बोल्यो भने पनि उहाँ लोकतन्त्र खतरामा देख्नुहुन्छ त्यसरी नै बालकुमारीमा ‘रोजगारी गर्न विदेश जान दे’ भन्ने दुई युवाको मृत्यु र मन्त्रीको गाडी जलाइएको प्रकरण पनि लोकतन्त्र र गणतन्त्रविरुद्धको डिजाइन भएको देख्नुभयो ।

नेपाली कांग्रेसले मेलमिलाप दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले बालकुमारी घटना लोकतन्त्र र गणतन्त्रविरुद्धको डिजाइनको रूपमा भएको आफूले अनुमान गरेको बताउनुभएको हो ।

उहाँले भन्नुभएको थियो, ‘घटना हामी कसैले पूर्वानुमान गर्न सक्ने खालको थिएन । घटनाको अर्को दिन बिहान घटनाक्रमको ‘ब्रिफिङ’ लिइयो । म अहिले सबै भन्न चाहन्न । केही कुरा गम्भीर लागेको छ । दुई जना युवाको जस्तो परिवेशमा, जसरी हत्या भएको छ । ईपीएसमा जे–जस्ता गतिविधि भएका छन् । गाडी जलाउने जस्तो गतिविधि भएको छ । घटना जस्तो देखिएको छ त्यस्तो छैन । यो कहीँ लोकतन्त्र र गणतन्त्रविरुद्धको डिजाइन त होइन भन्ने अनुमान छ । त्यसै कारण यो घटनासँग सम्बन्धितलाई निलम्बन गरिएको छ र उच्चस्तरीय छानबिन आयोग बनाइएको छ । सामान्य छानबिन समितिले मात्रै पुग्दैन भन्ने निष्कर्ष निकालेर मृतकका परिवारलाई समेत बालुवाटार बोलाएर गम्भीर ढङ्गले समीक्षा गरिएको छ ।’

प्रधानमन्त्री ज्यू, ‘मलाई रोजगारीका लागि विदेश जान देऊ’ भनेर आन्दोलन गर्नुपर्ने दिन ल्याउने तपाईँ । रोजगारी माग्दा गोली हान्ने प्रशासन तपाईँको अनि लोकतन्त्रविरुद्ध कसले चाहिँ डिजाइन गरिरहेको रहेछ ? एक पटक दोषी चस्मा फुकालेर यथार्थ बुझ्ने प्रयास गर्ने कि ? हुन त सुप्रिमोलाई तीन तीन पटक देशको कार्यकारी बनाउन आफ्नो छातीमा गोली थाप्न तयार भएकाहरू मात्र शहीद घोषणा गर्दैमा तपाईँ व्यस्त हुनुहुन्छ । फेरि अहिले तीन हजार थपलाई राष्ट्रिय शहीद घोषणा गरिने भनेर आफ्नो कार्यकर्ताहरूलाई भनिसक्नुभयो । कहाँ उनीहरूको परिवार, आफन्त र उनीहरूले कल्पना गरेको देशको बारेमा तपाईँलाई चिन्ता हुन्थ्यो र ? हिजो तपाईँको सुरक्षाका लागि भनेपछि आफ्नै ज्यान फाल्न तयार हुनेहरू अहिले परिवार पाल्न कै लागि खाडीमा मजदुरी गरिरहेका छन् । तपाईँको कल्पनाको सिंगापुर देख्न त टाढाको कुरा देशमा परिवार पाल्न नसक्ने अवस्था भएर नै खाडी धाउनु पर्ने बाध्यता छ । कम्तीमा यति कुरा मात्रै तपाईँले मनन गरिदिनुभए शहीदहरूको आत्माले शान्ति पाउँथ्यो ।

उहाँको यस्तो प्रस्तुति अहिले मात्रै होइन । शक्ति संघर्षका दौरान पनि उहाँले थर्काएर नै आफ्नो दुनो सोझो पार्दै आउनुभएको आरोप लाग्दै आएको छ । गत निर्वाचनमा ३२ सीट जितेर प्रधानमन्त्री बन्न एमालेसँग मिल्दा होस् वा विश्वासको मत लिँदा कांग्रेसको साथ खोज्दा होस् । बार्गेनिङ पावर आफूसँग रहँदासम्म उहाँ जस्तोसुकै कदम चाल्न पनि पछि पर्नुहुन्न ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?