गठबन्धनको पक्षमा माहोल बनाउन संयुक्त चुनावी सभाको सहारा

हिमालय टाइम्स
Read Time = 20 mins

अनिल क्षेत्री/हिटा
काठमाडौं । सत्तारूढ पाँच दलीय गठबन्धनले स्थानीय तह निर्वाचनमा देशभर तालमेल गर्ने सहमति गरे पनि अपेक्षाकृत कार्यान्वयन हुन सकेन । केन्द्रको सहमतिविपरीत गठबन्धनमा आबद्ध दलहरूबीच स्थानीयस्तरमा तालमेलप्रति तीव्र असन्तुष्टि मात्र देखिएन असन्तुष्टिको प्रतिविम्ब उम्मेदवारी मनोनयन दर्तामा देखियो । तालमेलको भावनाविपरीत असन्तुष्ट नेता तथा कार्यकर्ताले स्वतन्त्र उम्मेदवारी दर्ता गराए । केन्द्रबाट भागबण्डा भएको ६ महानगर र ११ उपमहानगरमा त अन्य पालिकाभन्दा बढी असन्तुष्टि देखियो । गठबन्धनमा आबद्ध दलका नेताहरूले धमाधम स्वतन्त्र उम्मेदवारी दर्ता गराए । केन्द्रको अपेक्षाविपरीत करिब एकतिहाइ पालिकामा मात्र तालमेल र तालमेल भएका ठाउँमा समेत बागी उम्मेदवारी परेपछि गठबन्धनमा तरंग उत्पन्न भयो ।

गठबन्धनमा आबद्ध दलहरूबीच भएको सहमतिविपरीत आबद्ध सदस्य दलहरूबाटै स्वतन्त्र उम्मेदवारी परेपछि गठबन्धनभित्र अविश्वास सुरु भयो । मुख्य गरी, चितवनको भरतपुर र कास्कीको पोखरा महानगरमा कांग्रेसको तर्फबाट स्वतन्त्र उम्मेदवारी परेपछि गठबन्धनमा अविश्वास पैदा सुरु भयो । स्थानीय पार्टी कमिटीहरूको असन्तुष्टि र बागी उम्मेदवारीको बिगबिगीले झस्किएको गठबन्धन बागी उम्मेदवारी फिर्ता गर्न र तालमेल कार्यान्वयन गराउन अनेक प्रयत्न गर्‍यो । निर्वाचन आयोगले तोकेको मनोनयन फिर्ताको समयअगावै शीर्ष नेताको बैठक बसेर गठबन्धनबीच भएको तालमेलको भावनाविपरीत उम्मेदवारी फिर्ता लिन निर्देशन दियो । उक्त निर्देशन पनि आंशिक कार्यान्वयन भए पनि अपेक्षाकृत कार्यान्वयन हुन सकेन ।

त्यसपछि गठबन्धनमा आबद्ध दलहरूले पार्टी विधानलाई हतियार बनाएर स्वतन्त्र उम्मेदवार र उम्मेदवारका प्रस्तावक तथा समर्थकलाई पार्टीबाट निष्कासन गर्ने रणनीति लियो । यसले गठबन्धनमा आबद्ध दलहरूबीच अविश्वासको खाडल बढ्नबाट त रोक्यो तर, स्वतन्त्र उम्मेदवारीको त्रास भने बाँकी नै रह्यो । स्वतन्त्र उम्मेदवारी फिर्ता लिन गठबन्धनका शीर्ष नेताहरू प्रयासरत छन् । स्वतन्त्र उम्मेदवारीको त्रास र गठबन्धनबीच देखिएको अविश्वासको वातावरण अन्त्य गर्न गठबन्धनले संयुक्त चुनावी सभाको सहारा लिएको छ । स्वतन्त्र उम्मेदवारलाई निष्क्रिय बनाउन र गठबन्धनको पक्षमा चुनावी माहोल सिर्जना गर्न सत्तारूढ गठबन्धनले सबैभन्दा बढी चर्चामा रहेको भरतपुर महानगरमा संयुक्त चुनावी सभा गरेको छ । बिहीबार भएको संयुक्तसभालाई आबद्ध दलका शीर्ष नेताहरूले सम्बोधन गरेर गठबन्धन एकताबद्ध रहेको सन्देश दिएका छन् । भरतपुर महानगरको मेयरको लागि नेपाली कांग्रेसका पुराना नेता जगन्नाथ पौडेलको स्वतन्त्र उम्मेदवारीले गठबन्धनलाई टाउको दुखाइ बनेको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका नेताहरूले उम्मेदवारी फिर्ता लिन पटक–पटक गरेको आग्रह उम्मेदवार पौडेलले अस्वीकार गर्नुभएको छ । गठबन्धनबाट भरतपुर महानगरको मेयरमा माओवादी केन्द्रकी रेनु दाहाल र उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले उम्मेदवारी दिनुभएको छ । गठबन्धनले कास्कीको पोखरालगायत विवाद रहेका स्थानमा पनि संयुक्त चुनावी सभा गर्ने र एकताको सन्देश दिएर गठबन्धनको पक्षमा मोहोल सृजना गर्ने रणनीति बनाएको छ ।

गठबन्धनका आधिकारिक उम्मेदवारलाई विजयी गराउन सभापति देउवाको आग्रह

चितवनको भरतपुर महानगरमा बिहीबार आयोजना गरिएको सत्तारूढ गठबन्धनको संयुक्त आमसभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशैभर गठबन्धनका आधिकारिक उम्मेदवारलाई विजयी गराउन आग्रह गर्नुभयो । प्रधानमन्त्रीसमेत रहनुभएका सभापति देउवाले देशमा गठबन्धन आवश्यक रहे पनि गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको दाबी गर्दै भन्नुभयो, ‘रेनु हुँदैन भन्नुहुन्छ । यस्तो काम गर्ने मान्छे नभए हो हुन्छ त यहाँ ? उहाँ आफैँ जितिसक्नुभयो । जित्नुहुन्छ । अनि हामीले त्यसमाथि आड नलगाउने ? गठबन्धनको कारणले मैले ८२ प्रतिशत भोटले मैले हाम्रो पार्टीले सबै ठाउँमा जितेको छ । ८२ सिट ल्याएको छ कांग्रेसमा केन्द्रीय समितिमा । यो सानो जित होइन नि । त्यसो भएको हुनाले कुरा स्पष्ट के हुनुपर्‍यो भनेदेखिलाई यो देश एक्लै कुनै पार्टीले पनि देश बनाउन सक्दैन । बहुमत ल्याउन सक्दैन । गठबन्धन आवश्यक छ । सबैभन्दा गठबन्धन नभई नहुने कुरा छ । सजिलो मान्छे हुन् जस्तो लाग्छ प्रचण्डजी तपाईंहरूले चिन्नु नै भएको छैन । उहाँले अघिल्लोपल्ट किन प्रधानमन्त्रीबाट फिर्ता लिनुभयो समर्थन भन्ने कुरा सबैलाई थाहा छ नि । एउटा ठूलो षड्यन्त्र छ हेर्नुस्, यो गठबन्धन टुटाउने षड्यन्त्र छ । यो षड्यन्त्रमा फस्यो भने हाम्रो पार्टी पनि खत्तम हुन्छ । उहाँहरूको पनि त्यही हो । कुनै पनि हालतमा यो गठबन्धन टुटाउने षड्यन्त्र भरतपुर चितवनबाट हुन सक्दैन । हुनुहुँदैन । यो कुरा स्पष्ट हुनुस् तपाईंहरू । भोलि हाम्रो साथीहरूले मौका पाइहाल्थे नि राम्रो काम गर्नुस् न । उहाँलाई पछि छोड्नुस् सहयोग गर्नुस् भनौँला नि । गठबन्धनका उम्मेदवार जिताएको खण्डमा भोलि हाम्रो गठबन्धन बलियो हुन्छ । १०/२० वर्ष गठबन्धन चल्छ । अगाडि बढ्छ ।’

गठबन्धन २० वर्षसम्म निरन्तर रहन्छ : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुरका कांग्रेस कार्यकर्ताले स्थानीय तह निर्वाचनमा हँसिया हथौडामा भोट हालेमा गठबन्धन २० वर्षसम्म निरन्तर जाने दाबी गर्नुभएको छ । चितवनका जिल्लाका नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले माओवादी केन्द्रले विगतमा जस्तै माओवादी केन्द्रले कांग्रेसलाई धोका दिनसक्ने गरेको आशंकाप्रति लक्षित गर्दै अध्यक्ष दाहालले भरतपुरका कांग्रेस कार्यकर्ताले माओवादी केन्द्रको चुनाव चिन्ह हँसिया हथौडामा भोट हालेमा गठबन्धन बलियो मात्र नभई आगामी २० वर्षसम्म लाने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

तालमेलको भावनाअनुसार गठबन्धनलाई भोट नहाले देश दुर्घटनामा जाने चेतावनी दिँदै अध्यक्ष दाहालले भन्नुभयो, ‘अहिले पनि यो गठबन्धन राष्ट्रको आवश्यकता हो । यो गठबन्धन गणतन्त्र र लोकतन्त्रको आवश्यकता हो । देशको जनताको समृद्धि र विकासको आवश्यकता हो भन्ने नबुझेर हालिँदैन हँसिया हथौडामा भोट भन्नुभयो भने देश दुर्घटनामा जान सक्छ । होइन, यो राष्ट्रको आवश्यकता हो । यो जनताको आवश्यकता हो । यो विकास, समृद्धिको आवश्यकता हो ।

यो लोकतन्त्रको आवश्यकता हो भनेर तपाईं चितवनवासी जनताले उत्साहपूर्ण ढंगले भोट हालेर यो टिम रेनु दाहाल र चित्रसेन अधिकारीको टिमलाई विजयी गराउनुभयो भने मात्रै म निकै उत्साही हुनेछु र यो गठबन्धनलाई १०, १५, २० वर्ष लाने मेरो प्रतिबद्धता हुनेछ । त्यसकारण म भन्छु तपाईंहरूले खालि नेताहरू मात्रै नहेर्नुस् । तपाईं जिल्लामा बसेर काम गर्ने नेताहरू र चितवनवासी तपाईं जनताको हातमा पनि फैसलाको अधिकार छ । नेताको मात्रै होइन । तपाईंहरूले नेतालाई अनावश्यक दबाब दिनुभयो, राष्ट्रिय आवश्यकतालाई नजरअन्दाज गर्नुभयो भने दुर्घटनामा जान सक्छ ।’

आफूलाई आशंका गरेर गठबन्धन कमजोर पार्न नखोज्न आग्रह गर्दै अध्यक्ष दाहालले देश दुर्घटनामा परेमा त्यसको जवाफ गठबन्धनको विरोधमा भाषण गरेर हिँड्नेहरूले दिनुपर्ने चेतावनीसमेत दिनुभयो । आगामी दिनमा पनि शेरबहादुर देउवालाई अगाडि राखेर अघि बढ्न अप्ठ्यारो नमान्ने जिकिर गर्दै अध्यक्ष दाहालले भन्नुभयो, ‘परिस्थितिले माग गर्‍यो भने फेरि हामी शेरबहादुरजीलाई अगाडि राखेर गठबन्धन बनाएर, लोकतन्त्रको रक्षा गर्ने, संविधानको रक्षा गर्ने, विकास र समृद्धिको यात्रातर्फ जान हामी अप्ठ्यारो मान्दैनौँ । म लकिरको फकिर होइन । म बौद्ध भिक्षु रहेसम्म घण्टी बजाएर बसिराख्ने मान्छे होइन । मलाई तपाईंहरूले त्यसरी नै बुझ्दा हुन्छ । तपाईंहरूको साथ सहयोग भयो भने म धेरै परसम्म जान सक्छु । तपाईंहरूले अहिले मेरो अभिभावकहरूले भनेजस्तो के हो के हो प्रचण्डको भनेर मलाई आशंकाले हेरेर गठबन्धन कमजोर पार्न खोज्नुभयो भने म त अब दायाँबायाँ गर्दिनँ । देश दुर्घटनामा पर्ने खतरा छ त्यसको जवाफ अहिले यो गठबन्धनको विरोधमा भाषण गरेर हिँड्नेहरूले दिनुपर्नेछ ।’ एमालेका नेताहरूले पुनः मिल्न आग्रह गर्ने गरेको भए पनि आफूले अब सो गल्ती नदोहो¥याउने स्पष्ट पार्दै अध्यक्ष दाहालले भन्नुभयो, ‘कतिपय बेला एमालेका कतिपय साथीहरू होइन हामी नै मिलौँ भन्न आउँछन् आजभोलि । मैले हुँदैन, पहिला त मैले एउटा गल्ती गरेँ अब म दोहोर्‍याउन्न भन्या छु मैले । सुन्नुहोला साथीहरू । भन्दिनुहोला चितवनका सबै राजनीतिक कार्यकर्तालाई । म त्यो गल्ती दोहोर्‍याउन्न । म जनताको फैसला हेर्न चाहन्छु । म राजनीतिक दलहरूको फैसला हेर्न चाहन्छु । जनताको फैसला के हुन्छ त्यसलाई शिरोपर गरेर अगाडि बढ्छु ।’

यसअघि अध्यक्ष दाहालले सत्ता साझेदार दल बीचमा भएको गठबन्धनले आसन्न स्थानीय तहको निर्वाचनमा विजय प्राप्त गर्ने दाबी गर्नुभएको थियो । भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै अध्यक्ष दाहालले भन्नुभयो, ‘उम्मेदवारी उठ्न जो-कोहीलाई पनि स्वतन्त्रता छ । फैसला जनताका हातमा छ । भरतपुरलगायत स्थानहरूमा गठबन्धनले चुनाव जित्ने धेरै आधारहरू छन् जुन कारणले पनि चुनाव जित्न कुनै समस्या छ जस्तो लाग्दैन ।’

चुनावको माहोल अनुकूल बनेको छ : नेपाल
गठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै गठबन्धनको अर्को घटक नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनलाई नोक्सानी हुनेगरी नलाग्न आग्रह गर्नुभयो । चुनावी तालमेलले गठबन्धनमा आबद्ध प्रत्येक दललाई केही न केही फाइदा पुगेको जिकिर गर्दै अध्यक्ष नेपालले भन्नुभयो, ‘अर्को गठबन्धनलाई मद्दत पुग्नेगरी, दक्षिणपन्थी गठबन्धनलाई मद्दत पुग्नेगरी, र यो वाम लोकतान्त्रिक गठबन्धनलाई नोक्सानी हुनेगरी लोकतन्त्रप्रति आस्था राख्ने व्यक्ति, कम्युनिष्ट आन्दोलनप्रति विश्वास राख्ने व्यक्ति, परिवर्तनप्रति समर्पित भएका व्यक्तिहरू कसैले लाग्नु हुँदैन । हामीले पवित्र उद्देश्यले संयुक्त अभियान अगाडि बढाएका छौँ । र यो संयुक्त अभियानले स्वाभाविक रूपमा गठबन्धन दलका सबै पार्टीहरूलाई फाइदा नै भएको छ केही न केही । यस अर्थमा चाहेको जस्तो सबैले पाउँदैनन् । खोजेको जस्तो हुँदैन । एक्लै हुँदा पनि पाइँदैन ।’ अध्यक्ष नेपालले नेपाली कांग्रेसका असन्तुष्ट उम्मेदवारलाई वक्तव्य निकालेर उम्मेदवारी फिर्ता लिनसमेत आग्रह गर्नुभयो ।

यसअघि बिहीबार बिहान भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष नेपालले गठबन्धनको पक्षमा राम्रो माहोल बनेको दाबी गर्नुभएको छ । गठबन्धनका आधिकारिक उम्मेदवारले धेरै स्थानमा निर्वाचन जित्ने दाबी अध्यक्ष नेपालले भन्नुभयो, ‘राम्रोसँग व्यवस्थापन गरेका छौँ । सबै स्थानमा गठबन्धन भए राम्रो हुन्थ्यो भन्ने जनताबाट प्रतिक्रिया आएको छ । गठबन्धनलाई निर्वाचन जिताउने अभियानमा लाग्न सबैलाई आग्रह गर्दछु । चुनावको माहोल अनुकूल बनेको छ, र गठबन्धनका उम्मेदवारलाई विजयी गराउन जनता आतुर छन् ।’

माओवादी केन्द्र कांग्रेसको प्रतिष्पर्धी होइन : पौडेल
सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले माओवादी केन्द्र कांग्रेसको प्रतिस्पर्धी नभएको टिप्पणी गर्नुभएको छ । नेपाली कांग्रेसबाट भरतपुर महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिनुभएका नेता जगन्नाथ पौडेलसँग आफूले भेटेको तर पौडेलले आफ्नो तर्क सुन्न नचाहेको र इमोसनमा, भावावेशमा, एउटा उत्तेजनामा उम्मेदवारी दिएको आरोप लगाउँदै भन्नुभयो, ‘बसेर राम्रोसँग कुरा गरौँ भनेँ, तर उहाँहरूले अलिकति धैर्य राख्न सक्नुभएन । उहाँहरू चाँडै उठेर जान खोज्नुभयो । मलाई लाग्यो म जे तर्क दिँदैछु, त्यो तर्कलाई उहाँहरूले तर्कको रूपमा सामना गर्न तयार नभएको जस्तो लाग्यो । र इमोसनमा, भावावेशमा, एउटा उत्तेजनामा मात्रै उहाँहरू असन्तुष्टि व्यक्त गरेर उत्रिएको जस्तो मलाई लाग्यो । मैले उहाँहरूलाई सबैभन्दा पहिले अहिले नेपालमा जुन राजनीति चलिरहेको छ, जुन राजनीतिक द्वन्द्व चलिरहेको छ, नेपाली कांग्रेसको प्रतिस्पर्धा कोसँग भन्दा हो ? नेपाली कांग्रेसको प्रतिस्पर्धा माओवादी केन्द्रसँग होइन, प्रचण्डसँग होइन, नेपाली कांग्रेसको प्रतिस्पर्धा नेकपा एमालेको ओली प्रवृत्तिसँग हो । हाम्रो द्वन्द्व छ, हाम्रो असहमति छ ।’

चितवन कांग्रेसका नेताहरूले भने- ‘रेनुलाई जिताउँछौँ, भोलि फेरि धोका नहोस्’
नेपाली कांग्रेस चितवनका नेताहरूले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई विगतमा जस्तो कांग्रेसलाई धोका नदिन आग्रह गरेका छन् । पाँच दलीय गठबन्धनले बिहीबार भरतपुरमा गरेको चुनावी सभामा नेपाली कांग्रेस चितवनका निवर्तमान सभापति जितनारायण श्रेष्ठले नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाललाई विगतमा जस्तो धोका नदिन आग्रह गर्नुभएको हो । पहिले पार्टीले निर्णय नगर्दासम्म आफूहरूको केही गुनासो भए पनि पार्टीले निर्णय गरेपछि एकढिक्का भएर लाग्ने बताउँदै श्रेष्ठले भन्नुभयो, ‘हाम्रो सोझो सभापति जे भन्यो त्यही गर्नुहुन्छ, भोलिका दिनमा ढाँट्ने काम धोका दिने काम नहोस्,जे प्रतिबद्धता पाँच वर्षअघि गरेका थियौँ, त्यो तीन महिनापछि टुट्यो ।’

माओवादी केन्द्रप्रति लक्षित गर्दै कांग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङले शीर्ष नेताहरूले गठबन्धन निरन्तर रहने प्रतिज्ञा गरे मात्र चितवनका नागरिकले विश्वास गर्ने बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?