मतपत्र छपाइ सम्पन्न, आज सबै जिल्लामा पठाइसक्ने

हिमालय टाइम्स
Read Time = 6 mins

डिबी शर्मा/हिटा
काठमाडौं । आगामी स्थानीय तहको निर्वाचनका लागि मतपत्र छपाइको काम सकिएको छ । वैशाख ३० गते हुने निर्वाचनका लागि मतपत्र छपाइको काम सकिएको निर्वाचन आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार वैशाख २३ गते (शुक्रबार)सम्म सबै जिल्लामा मतपत्र ढुवानी गरिसकिनेछ । ‘स्थानीय तह निर्वाचनका लागि आवश्यक पर्ने सम्पूर्ण मतपत्रको छपाइ सम्पन्न भएको छ, बिहीबार नियमित पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले भन्नुभयो, ‘वैशाख २३ गतेसम्म सबै जिल्लामा मतपत्र ढुवानी सम्पन्न हुनेछ ।’

आयोगले निर्वाचनका लागि खटाइएका कर्मचारीले काम गर्न इन्कार गरेमा कानुनबमोजिम कडा कारबाही गर्ने चेतावनी दिएको छ । मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र मतगणना कर्मचारीलाई अति जरुरी मानवीय र संवेदनशील कारण परेको अवस्थामा बाहेक खटिएका कर्मचारीलाई फेरबदल नगर्न आयोगले भनेको छ । यस्तै, निर्वाचन आयोगले सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री र निर्वाचन पर्यवेक्षण समितिका अध्यक्षलगायत हालसम्म ३७ व्यक्ति तथा राजनीतिक दललाई स्पष्टीकरण सोधेको जनाएको छ ।

सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टलाई आयोगले लिखित जवाफ पेश गर्न आदेश दिएको प्रवक्ता शर्माले बताउनुभयो । मुख्यमन्त्री भट्टले कैलाली जिल्लाको कैलारी गाउँपालिका-७ विपद्पुरका अग्निपीडित मुक्तकमैया बस्तीको स्थलगत निरीक्षणका क्रममा पीडित परिवारलाई तत्कालका लागि प्रतिपरिवार ५० हजार रुपैयाँका दरले राहत दिने प्रक्रिया अगाडि बढेको भन्ने अभिव्यक्ति दिएको भन्दै आयोगले २४ घण्टाभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको हो । त्यस्तै, अन्य विभिन्न पार्टीका नेता तथा स्थानीय तह सदस्यका उम्मेदवारहरूलाई आचारसंहिता उल्लंघन गरेको भन्दै २४ घण्टे स्पष्टीकरण दिन आदेश दिएको छ ।

निर्वाचन पर्यवेक्षण समिति नेपालका अध्यक्ष प्रदीप पोखरेललाई २४ घण्टाभित्र लिखित स्पष्टीकरण दिन आयोगले निर्देशन दिएको छ । पोखरेलले निर्वाचन आयोग, माननीय आयुक्तहरू, आयोगबाट जारी भएका निर्वाचन आचारसंहिता २०७८ र म्यादी प्रहरीलाई लाञ्छना लगाउने अभिव्यक्ति दिनुभएको थियो । त्यस्तै आयोगले रौतहटको दुर्गा भगवती गाउँपालिका-५ का अध्यक्ष धर्मानन्द चौधरीले निर्वाचन आचारसंहिता २०७८ विपरीत मतदातालाई प्रभाव पार्नेगरी गतिविधि गरेकोले २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न भनिएको छ । उम्मेदवार चौधरीले एक महिलालाई दुई हजार नगद दिएको तथा अर्को मानिसलाई पाइप दिएको समेत व्यहोराको निवेदन आयोगलाई वैशाख २० गते प्राप्त भएको थियो । नेकपा एमालेका तर्फबाट काठमाडौ महानगरपालिकाको प्रमुख पदको उम्मेदवार केशव स्थापितले सोही महानगरमा प्रतिस्पर्धी उम्मेदवार रहनुभएको बालेन शाहको विषयमा दिनुभएको अभिव्यक्तिका विषयमा आधार कारणसहित २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न आयोगले निर्देशन दिएको छ ।

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-१० का वडा अध्यक्ष पदमा उम्मेदवार अमृत खनालले मतदाताको पाउमा हजार रुपैयाँको नोट राखेर भोट माग्दै गरेको तस्बिर सामाजिक सञ्जाल, विभिन्न सञ्चारमाध्यममा समाचार आएकोले २४ घण्टाभित्र आधार प्रमाणसहित पेश गर्न आयोगले निर्देशन जारी गरेको छ । बागमती प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तान स्थानीय तह निर्वाचनमा उम्मेदवारको प्रचारप्रसारमा निरन्तर खटिएको भन्ने फोटोसहितको समाचार विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालबाट जानकारीमा आएकोले सो कार्य निर्वाचन आचारसंहिता २०७८ विपरीत भएको देखिएकोले २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न आयोगले आदेश दिएको छ ।

रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिकाका नगर प्रमुख वासुदेव घिमिरेले नेकपा एमालेको उम्मेदवारको प्रचारप्रसारमा खटिएको भन्ने फोटोसहितको समाचार विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालबाट जानकारी हुन आएकोले आयोगले २४ घण्टाभित्र आधार प्रमाणसहित स्पष्टीकरण दिन भनेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?