निर्वाचन आचारसंहिताप्रति दलहरूको बेवास्ता

Read Time = 5 mins

डम्मर बुढा मगर/हिटा
बागलुङ । स्थानीय तहको निर्वाचन नजिकिएसँगै दलहरू चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका छन् । गाउँ/नगर जताततै चुनावी माहोल छ । मतदातालाई आकर्षित गर्नका लागि दलहरूले ठूला-ठूला पोष्टर पम्लेट छाप्ने, टाँस्ने र चर्को आवाजमा चुनावी प्रचार गरिरहेका छन् । अझ सहरभन्दा गाउँका डाँडाकाँडामा प्रचारात्मक सामग्री तथा चुनावी गीतहरू गुञ्जिरहेका छन् । तर, नियामक निकाय भने मौन छ ।

समुदायिक विद्यालय, स्वास्थ्यचौकी लगायतका स्थानहरूमा पनि आमसभा गरेको पाइएको छ । उनै नेता तथा कार्यकर्ताले सामाजिक सञ्जालमा फोटो पोष्ट गर्ने गरेका छन् । तर, सम्बन्धित निकायले भने यस तर्फ खासै ध्यान दिएको छैन । आचारसंहितामा सार्वजनिक स्थलहरूमा चुनावी प्रचार तथा आम सभा नगर्ने भनेको छ ।

केही दिन अगाडि काठेखोला गाउँपालिका-३ धम्जाको एक विद्यालयमा गठबन्धन र नेकपा एमालेले सयौँको संख्यामा मान्छे जम्मा गरेर चुनावी सभा गरेको थियो । यो त एउटा प्रतिनिधि घटना मात्रै हो । यस्ता कार्यक्रमहरू जिल्लाका धेरै स्थानहरूमा भइरहेका छन् । निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहितामा जुलुस, आमसभा, कोणसभा, बैठक एवं भेला गर्दा सभ्य र अनुशासित तरिकाले गर्ने, भेला गर्दा स्थानीय प्रशासनको अनुमति लिएर मात्रै गर्न भने पनि यहाँका कुनै पनि दलहरूले त्यसको पालना गरेका छैनन् ।

आमसभा, कोणसभा, बैठक एवं भेला गर्नु ७२ घण्टा अगाडि नै स्थानीय प्रशासन र प्रहरीलाई मिति, समय र स्थानको जानकारी गराउने भने पनि यहिलेसम्म कुनै पनि दलले प्रहरी प्रशासनलाई जानकारी गराएको पाइएको छैन । प्रहरी प्रशासनलाई कुन दलले कहाँ आमसभा गर्दै छ भन्नेसमेत जानकारी हुँदैन । जिल्लामा ठूला नेताहरू आउँदा जानकारी गराए पनि अहिले दलहरूले गाउँ-गाउँमा आमसभा आफ्नै तरिकाले गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इन्द्रबहादुर रानाले बताउनुभयो ।

निर्वाचन आयोगले चुनावी प्रचारप्रसारमा १८ वर्षमुनिका बालबालिकालाई प्रयोग नगर्ने भनेको छ । तर, बागलुङका धेरै ठाउँमा दलहरूले तिनै बालबालिकालाई झण्डा भिराएर खुलेआमा आमसभामा डुलाएका छन् । स्कुल पढ्ने बालबालिकालाई पार्टीको झण्डा बोकाएर आमसभामा हिँडाउन कुनै पनि नैतिकताले दिँदैन । तर, नेताहरू यस विषयमा ख्यालै गर्दैनन् ।

मुख्य निर्वाचन अधिकृत बासुदेव न्यौपानेले आचारसंहिता उल्लंघनबारे मौखिक रूपमा केही गुनासाहरू आए पनि लिखित रूपमा नआएको बताउनुभयो । उहाँले दलहरूलाई आफूहरूले आचारसंहिताका वियषमा ध्यानाकर्षण गराएको भन्दै त्यसतर्फ गम्भीर भएको बताउनुभयो । ‘आचारसंहिता उल्लंघनसम्बन्धी धेरै गुनासाहरू त आएका छैनन्, केही मौखिक रूपमा जानकारी गराउनुभएको छ, राजनीतिक दलहरूलाई हामीले यस विषयमा ध्यानाकर्षण गराएका छौँ,’ न्यौपानेले भन्नुभयो, ‘यस विषयमा हामी गम्भीर भएर लागेका छौँ, सबै पालिकाका निर्वाचन अधिकृत पनि लाग्नुभएको छ, अहिलेसम्म त्यस्तो कुनै पनि दललाई कारबाही गरेका छैनौँ, उल्लंघन गरेको पायौँ भने कारबाही हुन्छ ।’

बागलुङ बजारमै पनि दलहरूले चर्को चर्को आवाजमा चुनावसम्बन्धी गीतहरू बजाउने गरेका छन् । यसतर्फ सम्बन्धित निकायले ध्यान नदिएको स्थानीयले समेत गुनासो गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?