कहिले बन्छ बागलुङ स्मार्ट सिटी ?

हिमालय टाइम्स
Read Time = 5 mins

डम्मर बुढा मगर/हिटा
बागलुङ । बागलुङ नगरपालिका धौलागिरिकै पुरानो नगरपालिका हो । साबिक धौलागिरि अञ्चल तथा बागलुङ जिल्लाको सदरमुकामसमेत रहेको बागलुङ बजार अहिले पनि अस्तव्यस्त नै छ । चुनावका बेला विभिन्न दलहरूले बजारलाई समृद्ध नगर, सफा नगर र स्मार्ट सिटी बनाउने नारा लगाउँदै आएको वर्षौँ भयो तर अवस्था केही फेरिएको छैन । चुनावी नारा समृद्ध नगर, सफा नगर र स्मार्ट सिटी तर गतिलो नाली निर्माण नहुँदा ठूलो वर्षा हुँदा बजार क्षेत्र जलमग्न हुनेगर्छ ।

सत्ता गठबन्धन होस् वा एमाले राप्रपा तालमेलको नारा होस्, सबैले नगरको व्यवस्थापनलाई जोड दिएका छन् । तर, उनीहरूले राज्यले लागू गरेको बस्ती विकास मापदण्ड पालनामा भने कुनै भूमिका खेलेका छैनन् । बस्ती विकास मापदण्ड पालना नगरी स्थानीय तहको पाँचवर्षे कार्यकाल सकिँदा नगर क्षेत्रहरू व्यवस्थित बन्न सकेका छैनन् । चुनावी नारामा मात्र ल्याइने आकर्षक कार्यक्रमले निर्वाचनपछि स्थान नपाउने गरेको मतदाता गुनासो गर्छन् । बरु टाठाबाठा, पैसाको चलखेल गर्न सक्नेबाट प्रशासन र जनप्रतिनिधि सञ्चालित हुने उनीहरूको मत छ ।

धार्मिक क्षेत्र वा सामाजिक र राजनीतिक क्षेत्रमा अगुवाइ गर्नेले नै मापदण्ड मिच्ने काम गरेका छन् । सदरमुकामको बागलुङ नगरपालिका र ढोरपाटन नगरपालिकामा यो क्रम बढी छ । गलकोट र जैमिनी नगरपालिकामा पनि अहिलेसम्म मापदण्ड लागू गर्ने सुरसार छैन । नेपाल सरकारले २०७२ सालमा बस्ती विकास मापदण्ड जारी गरेको थियो ।

भूकम्प प्रतिरोधी घर निर्माणका लागि मात्र नभई मापदण्डअनुसारका सडकहरू चौडा पार्ने, सेटव्याक राख्ने काम पनि भएका छैनन् । जथाभावी घर निर्माण गर्दा जोखिम नघटेको हो । अग्ला घर बनाउनुपरेमा माटो परीक्षण गर्ने र भूकम्प प्रतिरोधी प्रावधान पनि पूरा गर्नुपर्छ । सामान्य घर बनाउँदा पनि डेढ मिटरसम्म सेटव्याक राख्ने, कम्तीमा १२ इन्च चौडाको पिलर ठड्याउनुपर्ने र पिलरभन्दा बाहिर पर्खाल निकाल्न नपाउने प्रावधान तोकेको छ ।

तीव्ररूपमा विकास भइरहेको गलकोटमा पनि जथाभावी घर बनिरहेका छन् । सडकको मापदण्ड पालना भएका छैनन् । मापदण्डबारे जानकारी भए पनि अधिकांशले चासो नराखेको प्राविधिक बताउँछन् । ‘चुनावको बेला छ, टिप्पणी गर्दा नेतालाई नराम्रो हुन्छ तर राजनीतिक संरक्षणले मापदण्ड पालनामा कठिनाइ छ,’ एक इन्जिनियरले भन्नुभयो । मापदण्डले मूल सडकभित्र ५० मिटरसम्म घर बनाउनुपर्दा चार मिटरको सडक हुनुपर्ने तोकिएको छ ।

जैमिनीले मापदण्ड लागू गर्ने भने पनि पाँच वर्षभरि तयारी गर्दैमा समय बितायो । ‘हामी कार्यविधि बनाएर लागू गर्दैछौँ, अग्ला र ठूला घर बनाउन खोज्नेलाई मापदण्डबारे जानकारी दिने गरिन्छ,’ इन्जिनियर विवेक सापकोटाले भन्नुभयो, ‘नगरपालिका भए पनि ग्रामीण बस्ती धेरै भएकाले मापदण्ड पूर्ण कार्यान्वयन भने गाह्रो छ ।’ मुकाम रहेको स्थान र कालीगण्डकी करिडोर छेउमा मात्रै मापदण्ड निर्धारण गर्नुपर्ने उहाँले बताउनुभयो ।

घरको क्षेत्रफल एक हजार वर्गफिटभन्दा धेरै भएमा माटो परीक्षण, स्ट्रक्चरल एनलाइसिसलगायत काम गर्नुपर्ने मापदण्डमा उल्लेख छ । ठूलो स्ट्रक्चरको भवन बनाउनुपरेमा भवन डिभिजन कार्यालयमा नक्सा पठाउने गरेको छ । बागलुङ नगरपालिकाले भने मापदण्ड मिचेका घरलाई एक लाखदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना लिएर पास गराएको थियो ।

अहिले पनि बागलुङ बजार क्षेत्रमा मापदण्ड विपरीत घर तथा भवन बनाउने क्रम रोकिएको छैन । जथाभावीरूपमा निर्माण भइरहेका भवनहरूले बजार क्षेत्रलाई सुन्दर बनाउनुको सट्टा कुरूप बनाइरहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?