आलमलाई थुनामुक्त नगर्न सर्वाेच्चको आदेश, मुद्दाको अन्तिम फैसला नहुन्जेल थुनामै बस्नुपर्ने

हिमालय टाइम्स
Read Time = 4 mins

नारायण भण्डारी/हिटा
काठमाडौं । रौतहटमा भएको बम विस्फोटका अभियुक्त मोहम्मद अफताव आलमलाई थुनामुक्त नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ । आलमको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय सुष्मलता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासले आलमलाई थुनामुक्त गर्न अस्वीकार गरेको हो । सर्वोच्चले शुक्रबार आलमको रिटमा सुनुवाइ गर्दै रौतहट जिल्ला अदालतको आदेश सदर गरेको छ । जिल्ला अदालतको आदेशविरुद्ध आलम उच्च अदालत जनकपुरको वीरगञ्ज अस्थायी इजलासमा पुगेका थिए । वीरगञ्ज अस्थायी इजलासले पनि जिल्ला अदालतको पुर्पक्षका लागि थुनामा राख्न दिएको आदेश सदर गरेको थियो । जिल्ला र उच्च अदालतको आदेश उल्ट्याई साधारण तारेखमा छाड्ने आदेश माग्दै आलम सर्वोच्च अदालत पुगेका थिए ।

२०६४ चैत २८ गते भएको संविधान सभा निर्वाचनको अघिल्लो दिन २७ चैतको साँझ करिब ६ बजे बम बनाइरहेको घरमा विस्फोट भएको थियो । प्रहरीको अनुसन्धानको क्रममा आलमको निर्देशनमा घटना लुकाउने उद्देश्यले विस्फोटमा परी मृत्यु भएका तथा घाइते भएका मानिसहरूलाई ट्रयाक्टरमा राखी इँटा भट्टामा जलाएको देखिएको थियो । बम विस्फोटमा परेर घाइते भएकाहरूलाई प्रमाणसमेत नष्ट हुने गरी जिउँदै इँटाभट्टामा हालेर जलाएको अभियोग लगाएर सरकारी वकिल कार्यालयले उनीविरुद्ध जिल्ला अदालत रौतहटमा मुद्दा दायर गरेको थियो ।

निर्मम तरिकाले हत्या गरेको अभियोग लागेकाहरूमा आलमसहित उनका भाइ महम्मद अफताव आलम, मोहम्मद मोबिन आलम, शेख भदई, शेख सेराज भन्ने शेष सराज, शेख फजलेहक, सगिर आलम, शेख जुमइन भन्ने शेख मलकार, गौरीशंकर साह, बद्री सहनी र मुक्ति साह छन् । बम बनाएकै ठाउँमा विस्फोट हुँदा दुईजना भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको र नजिकै गाउँका २२ वर्षीय त्रिलोक सिंह पिन्टु र २१ वर्षीय ओसी अख्तर घाइते भएको प्रत्यक्षदर्शीहरूले भनाइ छ । विस्फोटमा मारिएका र घाइते दुवैलाई आलमको निर्देशनमा नजिकैको इँटाभट्टामा हुलेको भन्दै उनीविरुद्ध पिन्टुका बुबा श्रीनारायण र ओसीकी आमा रुक्सना खातुनले प्रहरीमा जाहेरी दिनुभएको थियो ।

सरकारी वकिलले प्रहरी प्रतिवेदनलाई आधार मानेर जन्मकैद माग गर्दै मुद्दा चलाएको हो । बम विस्फोटमा मारिएकालाई जिउँदै इँटाभट्टामा हालेर जलाइएको छ । उक्त घटनाको जाहेरी दिने रुक्सना खातुनलाई पनि गोली हानेर मारेको आरोप आलमलाई लागेको छ ।

आलमलाई पुर्पक्षका लागि ललितपुरको नक्खु कारागारमा राखिएको छ । आलमलाई तीनवटा मुद्दामा ३२ वर्ष कैदको माग गरिएको छ । बम विस्फोट, कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगको मुद्दा उनीविरुद्ध दर्ता भएको हो । मुद्दाको अन्तिम फैसला बाँकी नै छ । सर्वोच्चको शुक्रबारको निर्णयसँगै फैसला नहुन्जेल उनी कारागारमै रहने निश्चित भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?