यो वर्ष सरदरभन्दा धेरै वर्षा हुने आँकलन, तापक्रम पनि बढ्ने

हिमालय टाइम्स
Read Time = 7 mins
A A- A+

सुष्मा कँडेल/हिटा
काठमाडौं । यसपालि धेरै क्षेत्रमा सरदरभन्दा बढी वर्षा हुने आँकलन गरिएको छ । शुक्रबार काठमाडौंमा आयोजित मनसुन सिजनको हावापानी आँकलन कार्यक्रममा जल तथा मौसम विज्ञान विभागले यस वर्ष सरदरभन्दा बढी वर्षा हुने आँकलन रहेको जनाएको हो । नेपालभर लगभग सबै क्षेत्रहरूमा सरदरभन्दा बढी वर्षा विभागको आँकलन छ । विभागको आँकलनअनुसार आगामी जेठ १८ देखि असोज १४ गतेसम्मको चार महिनाको मनसुन सिजनमा देशका अधिकांश स्थानहरूमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको छ ।

विभागका अनुसार प्रदेश नं १ को उत्तरी भूभाग, मधेश प्रदेशको अधिकांश भूभाग र बागमती प्रदेशको दक्षिणी भूभागबाहेक अन्य क्षेत्रमा सरदरभन्दा बढी वर्षा हुने आँकलन गरिएको छ । ती क्षेत्रहरूमा बढी वर्षा हुने सम्भावना ३४ देखि ६५ प्रतिशत रहेको विभागले जनाएको छ । विभागका मौसमविद् सुदर्शन हुमागाईंले सुदूरपश्चिम प्रदेशका पूर्वी भूभाग, कर्णाली प्रदेशका मध्य भूभाग, गण्डकी प्रदेशका मध्य पश्चिमी भूभाग र प्रदेश १ को मध्य भूभागहरूमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशतसम्म रहेको बताउनुभयो ।

प्रदेश १ का तराईका भूभाग, बागमती प्रदेशका उत्तर पूर्वी भूभाग, गण्डकी प्रदेशका दक्षिणी भूभाग, लुम्बिनी प्रदेश, कर्णाली प्रदेशका उत्तर पश्चिमी भूभाग तथा सुदूरपश्चिम प्र्रदेशका उत्तरी भूभागहरूमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको उहाँको भनाइ छ । ‘अब आउने मनसुन सिजनमा वर्षाको आँकलनमा नर्मलदेखि त्योभन्दा बढी वर्षाको सम्भावना रहेको छ,’ मौसमविद् हुमागाईंले भन्नुभयो, ‘देशका उत्तरी भूभागमा सरदरभन्दा बढी न्यूनतम तापत्रम हुने सम्भावना ३५ देखि ५५ प्रतिशत छ । बाँकी भूभागमा सरदर हुने सम्भावना ३५ देखि ५५ प्रतिशत छ ।’ देशका उत्तरी भूभागमा सरदरदेखि सरदरभन्दा केही बढी तापक्रम हुने आँकलन गरिएको उहाँको भनाइ छ ।

गतवर्ष मनसुन अवधिभर ६ वटा स्टेसनमा वर्षाको रेकर्ड तोडिएको हुमागाईंले बताउनुभयो । उहाँका अनुसार चरिकोट, खैरहनीटार, बाजुरा, दमौली, खाटमार्फा र जोमसोम स्टेसनमा पहिलाको रेकर्ड ब्रेक गरेर धेरै वर्षा मनसुन अवधिमा भएको हो ।

नेपालको वर्षाको मनसुनी प्रणालीमा प्रभाव पार्ने पूर्वी प्रशान्त महासागरमा विकसित हुने ‘एन्सो’, हिन्द महासागरमा विकसित हुने दुई ध्रुर्वीय प्रणालीको हालको अवस्था, जलवायु प्रारूपको मनसुन अवधिको आँकलन, युरोप तथा एसियामा गत हिउँद तथा प्रि-मनसुनको अवधिमा परेको हिउँ, अन्तरऋतु परिवर्तनशीलताका कारकलाई समेत मध्यनजर गरी उक्त आँकलन तयार पारिएको हो ।

यस्तै, विश्व मौसम संगठनको विश्वभर र क्षेत्रीयस्तरको जलवायु सूचना उत्पादन गर्ने केन्द्रहरूको हावापानीको प्रारूपको आँकलन, विभागको आँकलन गर्ने प्रविधि र दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्चको आँकलनलाई समेत आधार लिएर बनाइएको हो ।

बेलैमा सचेत रहन आग्रह
विभागकी उपमहानिर्देशक डा. अर्चना श्रेष्ठले सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेकोले बेलैमा सचेत रहन आग्रह गर्नुभएको छ । उहाँले मौसम तथा बाढी पूर्वानुमानको सूचना दिने आ-आफ्नो क्षेत्रको कार्ययोजना बनाउन पनि सम्बन्धित निकायसँग आग्रह गर्नुभयो । ‘जति पूर्वानुमान गतिको समय नजिक हुन्छ, त्यति नै पूर्वानुमानको विश्वसनीयता धेरै हुन्छ,’ उपमहानिर्देशक श्रेष्ठले भन्नुभयो, ‘एक हप्ताभन्दा लामो समयको मौसमको पूर्वानुमानमा विश्वसनीयता कम हुँदै जान्छ । त्यसैले यस वर्ष पनि हामी बेलैमा सचेत भइ जलवायु आँकलन, मौसम तथा बाढी पूर्वानुमानको सूचना दिने आ-आफ्नो क्षेत्रको कार्ययोजना बनाउनुहुन अनुरोध गर्दछु ।’

मौसम पूर्वानुमान गर्ने छुट्टै अनुसन्धान केन्द्र नहुँदा समस्या
वरिष्ठ मौसमविद् डा. इन्दिरा कँडेलले नेपालमा मौसम पूर्वानुमान गर्ने छुट्टै अनुसन्धान केन्द्र नहुँदा समस्या भइरहेको गुनासो गर्नुभयो । उहाँले विभागमा अनुसन्धानका लागि स्किल ह्युमेन रिसर्चहरूको आवश्यक रहेको बताउनुभयो । खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले मौसम बदली हुनेबित्तिकै गौरवको आयोजना मेलम्चीमा केही भइहाल्ने हो कि भनेर चिसो पस्ने गरेको बताउनुभयो ।

ऊर्जा मन्त्रालयको जलस्रोत तथा ऊर्जा सचिव सागरकुमार राईले मौसम प्रणालीलाई वैज्ञानिक बनाउन कसरी तिखार्न सकिन्छ सोअनुसार गर्न विभागका विज्ञहरूलाई सुझाव दिनुभयो । उहाँले मौसम विज्ञान विभागले सूचना मात्रै दिने भएकाले त्यसको क्षति न्यूनीकरणका लागि सम्बन्धित निकायले भूमिका खेल्न जरुरी रहेको पनि औँल्याउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?