मासपुरवासीको हातमा २८ वर्षपछि लालपुर्जा

दाने बोहरा हुम्ला, संवाददाता
Read Time = 2 mins

हुम्ला । हुम्लाको सदरमुकाम सिमकोट भन्दा निकै टाढा रहेको दुर्गम वस्तिका रुपमा चिनिने ताजाँकोट गाउँपालिका-३ मासपुर गाउँका स्थानीयले २८ वर्षपछि लालपुर्जा पाएका छन् । ०५० फागुन १९ मा मासपुरको मालपोत कार्यालयमा दर्ता भएका २४ घरधुरीले २८ वर्षपछि लालपुर्जा पाएका हुन् ।

पञ्चायत कालदेखि साविकको मैला गाउँ विकास समिति ७ नम्बर वडाको बँदेलचौरमा एक माना चामल र नुन जग्गाको तिरो तिर्दै आएका मासपुरवासीले २८ वर्षपछि भए पनि लालपुर्जा पाएकोमा स्थानीय ९२ वर्षीय दलवीर बुढाले खुसी व्यक्त गर्नुभयो । मालपोत कार्यालय हुम्लाले भने मोठमा दर्ता भएको लालपुर्जा लिन जग्गाधनी नै नआएको बताएको छ ।

२०५० फागुन १९ गते जिल्ला मालपोत कार्यालयमा दर्ता भएको मालपोत कार्यालय हुम्लाले जनाएको छ । अनुगमनका क्रममा ताजाँकोट गाउँपालिका जाँदा स्थानीयले लालपुर्जा नपाएको थाहा भएको थियो । तर, गाउँपालिकाबाट सिफारिस लिएर आएपछि प्रतिलिपि दिने भनिए पनि स्थानीय नआएको मालपोत कार्यालयले जनाएको छ ।

१२ घरधुरीलाई गत वर्ष चैतमै लालपुर्जा दिइएको मालपोत कार्यालय हुम्लाले जनाएको छ । गाउँपालिका अध्यक्ष बाग्दल मल्लको रोहवरमा मासपुरवासीलाई लालपुर्जा वितरण गरिएको कार्यालयले जनाएको छ । दुई घरधुरीले सुरुमै लालपुर्जा लिइसकेका भए पनि अन्यले हालसम्म लालपुर्जा पाएका थिएनन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?