अवैध सामान रोक्दै बर्दघाट नगरपालिका

Read Time = 7 mins

नवलपरासी । बर्दघाट नगरपालिकाले बजार अनुगमनलाई तीव्रता दिएको छ । आर्थिक मन्दीले व्यापार छोड्नुपर्ने अवस्था र अर्कोतर्फ खुला सिमानाबाट भन्सार छली गरी सामान ल्याएर बेच्दै हिँड्ने पोके व्यापारीको दबदबाले बर्दघाटका व्यापारी मर्कामा छन् । विधिवत्रूपमा दर्ता भई सरकारलाई कर बुझाउँदै आएका व्यापारी व्यापार नभएर निराश छन् तर भन्सार छलीका सामान घर-घरमै पुर्‍याउने पोके व्यापारीलाई भने भ्याइनभ्याई छ ।

खुला सिमाना र सीमावर्ती क्षेत्र भएका कारण यहाँको नेपाली बजार प्रभावित हुँदै आएको छ । बर्दघाट नगरपालिकामा पोके व्यापारीको नियन्त्रण गरिदिन व्यापारीले पटक-पटक आग्रह गर्दै आएका थिए । बर्दघाट नगरपालिकाले बर्दघाट उद्योग वाणिज्य संघसँग सहकार्य गर्दै पोके व्यापारीलाई नियन्त्रण गर्न र बजारमा भन्सार छलीका सामान बिक्री रोक्न अनुगमन सुरु गरेपछि निराश बनेका व्यापारीले राहत महसुुस गर्न थालेका छन् ।

शुक्रबार बर्दघाट नगरपालिकाका नगर उपप्रमुख रुद्रप्रकाश उपाध्याय, उद्योग वाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपाने र महासचिव दिनेश न्यौपाने, नगर प्रहरी, सञ्चारकर्मीसहितको टोली अनुगमनमा निस्कियो । नगरपालिकाबाट केही अगाडि दक्षिणतर्फबाट मोटरसाइकलमा पोकाका पोका सामान लिएर आउनेहरू भेटिन थाले । टोलीले मोटरसाइकल रोकेर सोधपुछ गर्न थालेपछि उनीहरू केही हडबडाउन थाले । शुक्रबार हाटबजार सञ्चालन हुने दिन भएकाले पनि होला बढीमात्रामा तरकारी बोकेर आउने मोटरसाइकल भेटिन्थे ।

सोधपुछका क्रममा कतिपय किसान आफैंले उत्पादन गरेका तरकारी ल्याएको बताएका थिए भने अधिकांश भारतीय नाकाबाट अवैधरूपमा नेपाल भिœयाएर ल्याएका थिए । पहिलो दिनको अनुगमन सन्देशमूलक बनाउन र सचेत बनाउन नगरपालिकाले कडाइ भने गरेको थिएन ।
अनुगमनका क्रममा जिमिरेभार बजार मुख्य चोकमा पुग्दा दक्षिणतर्फबाट मोटरसाइकलमा सामान ल्याउनेसँग जम्काभेट भयो भने अनुगमन टोलीले उनीहरूलाई रोकेर सोधपुछ गर्न थाल्यो । न त उनीहरूसँग बिल, न त फर्म दर्ता प्रमाणपत्र । उपप्रमुख उपाध्याय, वाणिज्य संघका अध्यक्ष न्यौपानेलगायतले उनीहरूसँग सोधपुछ गर्दा कतिपयले भारतबाटै ल्याएको र आफूले क्यारिङको काम गर्ने भएकाले बिल भर्पाई नभएको बताए । उनीहरूलाई अब आइन्दा त्यसरी सामान ल्याएको पाइए कारबाही गर्ने चेतावनी दिँदै फर्काइदिएको थियो ।

नगरपालिकाले अनुगमन सुरु गरी अवैध सामानको ओसारपसारमा रोक लगाउन प्रयास गरेको देखेर सबैभन्दा बढी खुसी भएका किसान पनि भेटिए । गोपीगञ्जमा झण्डै चार बिगाहा जग्गामा तरकारी खेती गरेका उनी आफैंले उत्पादन गरेको तरकारी मोटरसाइकलमा राखेर बेच्न बर्दघाट हाटबजारतर्फ आउँदै रहेछन् । त्यसमध्ये एकजनाले सीमापारबाट अवैधरूपमा भित्रिने तरकारीका कारण आफूजस्ता थुप्रै किसान मर्कामा परेको दुखेसो पोखे । उनले नगरपालिकालाई यस्तो प्रकारको अनुगमनलाई निरन्तरता दिन आग्रह गर्दै आफू साथ दिन तयार रहेको बताए । जब अनुगमन टोली नारायणचोकनजिकै पुग्यो, त्यहाँ भने अचम्मको दृश्य देखियो । गोपीगञ्जतर्फबाट बर्दघाटतर्फ आउँदै गरेको मोटरसाइकल अनुगमन टोलीको सुइँको पाएर चालकले आफ्नो दिशा परिवर्तन गरे । उनी एकाएक मोटरसाइकल हुइँक्याउँदै भित्री सडकमा प्रवेश गरे । अनुगमन टोली उनको नजिक पुग्ने प्रयासमा थियो तर उनी भित्री गाउँको एक घरमा सामान फालेर मोटरसाइकलमै भाग्न सफल भए । टोलीले घरमा छोडेको सामान बरामद गरी नगरपालिकामा ल्याएको छ ।

अनुगमनको नेतृत्व गर्नुभएका उपप्रमुख उपाध्यायले अब भने अनुगमनलाई अभियानकै रूपमा निरन्तरता दिइने बताउनुभयो । उद्योग वाणिज्य संघको साथले नगरपालिकाको अनुगमन थप प्रभावकारी हुने उहाँले आशासमेत लिनुभएको छ । कर छलीका सामान बोक्ने मोटरसाइकलमात्र नभई अवैध सामान खरिद गरी बिक्री गर्ने व्यापारीको पनि अनुगमन गरिने उहाँले बताउनुभयो । बिलबिजक नभएका सामान बिक्री नगर्न पनि व्यापारीलाई आग्रह गर्नुभयो । उपभोक्ताले पनि पोके-झोलेसँग नभई आधिकारिक दर्ता भएर सञ्चालन भएका पसलबाट सामान खरिद गरेर सहयोग गरिदिए नगरपालिकाले चालेको कदमले सार्थकता पाउनेमा आशावादी रहेको उपाध्याय बताउनुहुन्छ ।
उद्योग वाणिज्य संघका अध्यक्ष न्यौपानेले खुला सिमाना र अवैध सामान बिक्री गर्ने पोके व्यापारीका कारण करोडौं रुपैयाँ खर्चेर व्यापार व्यवसाय गर्ने व्यापारीहरू घर न घाटको अवस्थामा पुग्ने अवस्था आएको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?