महालक्ष्मी नगरपालिकामा कस्ले मार्ला बाजी ? यस्तो छ दलहरूको अवस्था

Read Time = 3 mins

ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिकामा चुनावी सरगर्मी तीव्र बढेको छ । २०७४ को स्थानीय निर्वाचनमा एमालेका रामेश्वर श्रेष्ठले मेयरमा जित्नुभएको थियो । श्रेष्ठले सात हजार ६४ मत ल्याइ बिजयी हुँदा कांग्रेसका महेश खड्का ६ हजार पाँच सय मत ल्याइ पराजय भोग्नु भएको थियो ।

अहिले कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन भएको छ । मेयरमा माओवादी केन्द्रका शिवप्रसाद कट्टेल हुनुहुन्छ। उपमेयर कांग्रेसले पाएको छ ।

एमाले विभाजनको असर महालक्ष्मी नगरपालिकामा बढी पर्ने अनुमान गरिएको छ । तर पनि प्रतिस्पर्धा सत्तारुढ गठबन्धनका उम्मेदवार कट्टेल र एमालेका हरिगोविन्द श्रेष्ठबीच नै हुने देखिन्छ ।

नगरपालिकामा सबै पदमा गरेर दुई सय ३५ जनाको उम्मेदवारी परेको छ । जसमध्ये मेयरमा नौ र उपमेयरमा पाँचजना उम्मेदवार छन् । १० वटा वडाको नगरपालिकामा वडाध्यक्षमा ५६ जना, वडा सदस्यमा ८६ जना, महिला सदस्यमा ४५ जना र दलित महिला सदस्यमा ३२ जनाले उम्मेदवारी दिएका छन् । उपमेयरमा नेपाली कांग्रेसबाट लक्ष्मी महर्जन उठ्नु भएको छ। एमालेबाट उपमेयरमा विना सुवेदी केसी मैदानमा हुनु हुन्छ ।

बागमती प्रदेशअन्तर्गत उपत्यकाका तीन जिल्लामध्येको ललितपुरको उत्तरपूर्वमा महालक्ष्मी नगरपालिका पर्छ । साविकका पाँच गाविस इमाडोल, टीकाथली, सिद्धिपुर, लुभु र लामाटार समेटेर नगरपालिका घोषणा भएको हो ।

२०७८ को जनगणनाअनुसार महालक्ष्मी नगरपालिकामा ३६ हजारभन्दा बढी मतदाता छन् । २०६८ को जनगणनामा मतदाताको संख्या २५ हजार मात्र थियो । करिब २६ दशमलव ५ वर्ग किलोमिटरमा फैलिएको यो नगरपालिकाको पूर्वमा काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका, दक्षिण र पश्चिममा ललितपुर महानगरपालिका र गोदावरी नगरपालिकासँगको सिमाना कर्मनाशा खोलाले छुट्याएको छ । यस्तै उत्तरमा भक्तपुरको मध्यपुर थिमि नगरपालिका र सूर्यविनायक नगरपालिकासँग यो नगरपालिकाको सीमा जोडिएको छ ।

काठमाडौं उपत्यका प्रवेश गर्ने वैकल्पिक मार्गको रूपमा विकास हुँदै गरेको ग्वार्को लुभु लामाटार-मानेदोभान-पनौती हुँदै बिपी लोकमार्गको नेपालथोक जोड्ने सडक यस नगरपालिकाको मध्य भाग भएर गएका कारणले पनि नगरपालिकाको विकासको अधिक सम्भावना छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?