सेयर बजारमा दोहोरो अंकको वृद्धि

Read Time = 3 mins

काठमाडौं । गत साता निरन्तररूपमा घटेको सेयर बजारमा यस साताको पहिलो दिन आइतबार भने दोहोरो अंकले बढेको छ । यस दिन नेप्से १८ अंकले बढेर २२५६.५७ अंकमा पुगेको छ भने एक अर्ब ३२ करोड ६४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार भएका एक सय ३६ कम्पनीको सेयरमूल्य बढेको छ भने ५२ कम्पनीकोे घटेको छ । तीन कम्पनीको सेयरमूल्यमा उच्च वृद्धि भएको छ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था, घलेम्दी हाइड्रो नेपाल र माउन्टेन इनर्जी नेपालको सेयरमूल्यमा उच्च वृद्धि भएको हो ।

जाल्पा सामुदायिक लघुवित्तको सेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १६७२.६० रुपैयाँ पुगेको छ भने घलेम्दी हाइड्रोको ८.८२ प्रतिशतले बढेर प्रतिकित्ता दुई सय ३२ रुपैयाँ र माउन्टेन इनर्जीको ८.६६ प्रतिशतले बढेर प्रतिकित्ता नौ सय ७९ रुपैयाँ पुगेको छ । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था र एनआइसी एसिया सेलेक्ट फन्डको सेयर मूल्य भने झण्डै चार प्रतिशतले घटेको छ । सबैभन्दा बढी सिटिजन्स इन्भेस्टमेन्ट ट्रस्ट कम्पनीको सात करोड ५३ लाखभन्दा बढीको कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।

यसैबीच नेप्सेले जेठ १ गतेदेखि लागू हुने गरी सोमबारदेखि शुक्रबारसम्म सेयर कारोबार खुला गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले जेठ १ गतेदेखि शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेपछि सेयर बजार पनि सोमबारदेखि शुक्रबारसम्म खुला गर्ने निर्णय भएको नेप्सेका वरिष्ठ अधिकृत मिलन मगरले जानकारी दिनुभएको हो । हाल आइतबारदेखि बिहीबारसम्म सेयर कारोबार सञ्चालन हुँदै आएको छ ।

गत बुधबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय आज सार्वजनिक गरिएको हो । जेठ १ गतेदेखि कार्यालय समय बिहान ९ः३० देखि साँझ ५ः३० सम्म कायम गर्ने निर्णयसमेत भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?