जी-सेभेन द्वारा रूसी तेलको आयातमा प्रतिबन्ध

Read Time = 3 mins

पेरिस । विश्वका सात प्रमुख अर्थतन्त्रहरूको समूह जी-सेभेन राष्ट्रहरूले रूसी तेलको आयातमाथि प्रतिबन्ध लगाउने निर्णय गरेका छन् । जी-सेभेन बैठकमा सहभागी नेताहरूले प्रतिबन्ध लगाउने वा चरणबद्ध रूपमा आयात बन्द गर्ने निर्णय गरेका हुन् । बैठकपछि साझा वक्तव्य जारी गर्दै जी-सेभेनका नेताहरूले आफूहरू रूसी ऊर्जामाथिको निर्भरता पूर्ण रूपमा बन्द गर्न प्रतिबद्ध रहेको बताएका छन् ।

समाचार एजेन्सी रोयटर्सका अनुसार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई थप दबाबमा राख्न पश्चिमा देशले यस्तो निर्णय गरेका हुन् । अमेरिकी राष्ट्रपति जो बाइडेन र अन्य जी सेभेनका नेताहरू तथा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच भिडियो कन्फ्रेन्समा छलफल भएको थियो ।

यता रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्धका लागि पश्चिमा देशहरूलाई दोषारोपण गर्नुभएको छ । मस्कोको रेडस्क्वायरमा सोमबार विजय दिवस परेडलाई सम्बोधन गर्दै पुटिनले पश्चिमा देशहरूले युक्रेनलाई उचालेका कारण रूसले त्यहाँ आक्रमण गर्नुपर्ने अवस्था आएको तर्क गर्नुभएको हो ।

आक्रमण वा युद्ध भन्ने शब्दसमेत प्रयोग नगर्नुभएका पुटिनले रूस युक्रेनमा विशेष सैन्य कारबाही गरेको बताउनुभयो । विशाल सैन्य परेडको उपस्थितिमा उहाँले पूर्वी युक्रेनमा रूसी सेनाले मातृभूमिको रक्षा गरिरहेको तर्क गर्नुभयो । दोस्रो विश्वयुद्धका क्रममा सन् १९४५ को मे ९ मा जर्मनीको नाजी सेनालाई तत्कालीन सोभियत युनियनको सेनाले पराजित गरेको दिनलाई रूसले हरेक वर्ष विजय दिवसको रूपमा मनाउने गर्दछ ।

गत फेब्रुवरी २४ देखि रूसले युक्रेनमा सैन्य हमला गरेपछि करिब ५० लाख युक्रेनी नागरिक शरणार्थी जीवन बाँचिरहेका छन् । करिब ७१ लाख नागरिक आन्तरिक रूपमा बसाइँसराइ गर्न बाध्य भएका संयुक्त राष्ट्रसंघले जनाएको छ । यस युद्धले करिब एक करोड ३० लाख नागरिकलाई प्रत्यक्ष प्रभावित पारेको छ । युक्रेनको जनजीवन अस्त व्यस्त भएको छ भने शहरहरू खण्डहरमा परिणत भएका छन् । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?