‘नागार्जुन नगरपालिकालाई प्राविधिक हब र अन्तर्राष्ट्रिय डम्फु पार्क बनाउँछु’

Read Time = 14 mins

मोहनबहादुर बस्नेत, प्रमुख उम्मेदवार, नागार्जुन नगरपालिका

काठमाडौं । नागार्जुन नगरपालिकाको मेयर भई पाँच वर्ष अनुभव बटुलिसक्नुभएका ६१ वर्षीय मोहनबहादुर बस्नेतले सो नगरपालिकाको प्रमुख पदमा पुनः उम्मेदवारी दिनुभएको छ । विगत पाँच वर्षको कार्यकालमा जनताको मन जित्ने गरी त्यहाँ विकास निर्माणका कार्य तथा कृषि, उद्योग, पर्यटन प्रवद्र्धनलगायत अनेकौं सामाजिक कार्यहरू गरेको सुनाउँदै उम्मेदवार बस्नेतले त्यसबखत गर्न बाँकी रहेका अधुरा कार्यहरू पूरा गर्न स्थानीय बासिन्दाहरूले नै पुनः मेयरको पदमा देख्न चाहेकाले उम्मेदवारी दिएको बताउनुभएको छ । रामकोट, सीतापाइला, स्युचाटार, भीमढुंगा, इचंगुनारायण आदि इलाकाहरू समेटिएको सुन्दर तथा रमणीय नागार्जुन नगरपालिकाको प्रमुखमा विजयी भएको खण्डमा आगामी दिनमा गर्ने योजना र गरिसकेका काम आदि विषयमा रहेर मेयर पदका उम्मेदवार बस्नेतसँग हिमालय टाइम्सका प्रतिनिधिले गरेको कुराकानी–

नागार्जुन नगरपालिकातिर चुनावको चहलपहल कस्तो भइराखेको छ, यसपटक जनतामा उत्साह कम देखिएको छ भनिन्छ नि ?
अहिले देशभरि आमजनसमुदाय, मतदाता, राजनीतिक दलहरू र अन्तर्राष्ट्रिय जगत् सबैले यो चुनावलाई चासोका साथ हेरिराखेका छन् । अन्य स्थानीय तहको त मलाई त्यति थाहा भएन, मेरो नागार्जुन नगरपालिकामा नेपाली कांग्रेस र अरू दलहरूको पनि असाध्यै सक्रिय सहभागिता छ । र, मतदाताहरूले आफ्नो प्रतिनिधि कस्तो चुन्ने भनेर चासो दिँदै उत्साहसाथ हेरिराख्नुभएको छ । गत पाँच वर्षमा बाटो, ढल, खानेपानी, फोहोरमैला व्यवस्थापन, शिक्षा, स्वास्थ्य, खेलकुद क्षेत्रमा विकास निर्माणका कामहरू धेरै भएका छन् ।

यसअघि मेयर हुँदा तपाईंले के-के गर्नु भयो र फेरि किन उम्मेदवारी दिनुभएको हो ?
पाँच वर्षअगाडिको चुनावपछि ऐन कानुन कार्यविधि बनाउनेदेखि लिएर कर्मचारी व्यवस्थापन, बाटोको मापदण्ड, घरको मापदण्ड र प्रशासनिक भवनहरू बनाउने कार्यहरू भए । यहाँ स्वास्थ्य चौकी, अस्पतालहरू, खेलकुदका पार्कहरू नभएको अवस्था थियो । १८ वर्ष स्थानीय निकाय जनप्रतिनिधिविहीन अवस्थामा हुँदाको विषम परिस्थितिमा मैले नयाँ नगरपालिकाको जिम्मा पाएँ । त्यसैबीचमा विश्वव्यापीरूपमा कोभिड महामारीले काम गर्ने वातावरण नै भएन । एक वर्ष त प्रदेश र संघीय चुनावमा नै समय खर्च भयो । बाँकी जम्मा दुई वर्षको समय अवधिमा विकास तथा निर्माणका पूर्वाधारका धेरै कामहरू अगाडि बढेका छन् । नगरपालिकामा मेलम्चीको खानेपानी ल्याउने काम करिब-करिब अन्तिम चरणमा पुगेको छ । वैकल्पिक राजमार्ग सीतापाइलादेखि ताकेश्वर (ठूलो खोला) सम्म जानका लागि ११ किलोमिटर बाटो पक्कीरूपमा तयार गरिसकिएको छ । सबै वडामा ढल, खानेपानी व्यवस्थापन गरिसकिएको छ । कतिपय सामुदायिक विद्यालयहरू प्राविधिक शिक्षालयमा परिणत भएर गइसकेको अवस्था छ । खेलकुदका मैदानहरूको विकास र विस्तार भएको छ । युवा र महिला लक्षित कार्यक्रममार्फत् आर्थिक समृद्धि ल्याउन विभिन्न विपन्न वर्गलाई लक्षित गरी सामग्रीहरू बाँड्यौं । कृषिक्षेत्रमा आधुनिक औजारहरू आइराखेको अवस्थामा उहाँहरूलाई मेसिनहरू वितरण गर्यौ । कोभिडको महामारीमा भ्याक्सिन सहजरूपमा सबै नागरिकलाई दियौं । यस नगरपालिकाका करिब ९५ प्रतिशतले कोभिडको भ्याक्सिन लगाउनुभयो । यसरी यो नगरपालिकामा धेरै कार्यहरू गरेको र अझै सम्पन्न गर्न बाँकी धेरै कार्यहरू अधुरा भएकाले ती अधुरा कार्यलाई पूर्णता दिनका लागि आमजनसमुदायले पुनः मेयर पदमा उठ्नुपर्छ भन्नुभएको हुनाले मैले उम्मेदवारी दिएको हो ।

पुनः मेयर निर्वाचित हुनुभयो भने तपाईंले गर्ने प्राथमिकताका कामहरू के-के छन् ?
यहाँका युवावर्गलाई औद्योगिक क्षेत्रमा व्यवस्थापन गर्दै स्वरोजगारका लागि विदेश जाने युवाहरूलाई कृषि, पर्यटन, उद्योगहरूमा काम दिएर स्थापित गर्नेछु । सबै सामुदायिक विद्यालयलाई प्राविधिक शिक्षालय बनाउनेछु र सँगसँगै संस्थागत विद्यालयलाई पनि लानेछु । र, नागार्जुन नगरपालिकालाई प्राविधिक हब बनाउनेछु । मानवसेवा आश्रम स्थापना गरी खाना, नाना, छाना नभएका असहाय, दीर्घरोगी र विपन्न अर्थात् सडकमा बसेर गुजारा गर्नुहुनेहरूका लागि मैले काठमाडौं महानगरसँग १८ करोड रुपैयाँ निकासा गराएर १४ रोपनी जग्गामा भवन बनाई व्यवस्थापन गरेको छु । वडा नं. १ मा रहेको सो आश्रममा अहिले साढे तीन सयजना असहाय व्यक्तिहरू हुनुहुन्छ । उहाँहरूलाई दैनिक चारपटक खाने, पिउने व्यवस्थापन गरेको छु । उहाँहरूलाई खानका लागि वार्षिक साढे ३५ लाख रुपैयाँ र निःशुल्क स्वास्थ्य उपचार नगरपालिकाले गरिराखेको छ, जसलाई आगामी दिनमा पनि निरन्तरता दिनेछु । बालबच्चाहरूका लागि चिल्ड्रेन्स पार्कहरू, युवाहरूका लागि खेलकुद इनडोर हल र फुटबलका लागि फुटबल एकेडेमी बनाउनका लागि जग्गादेखि लिएर त्यसको भौतिक पूर्वाधार संरचनाका कार्यहरू अगाडि बढिराखेको छ, त्यसलाई पूर्णता दिनेछु । धार्मिक र पर्यटन क्षेत्रका स्थापित नगरपालिकाको स्विट्जरल्यान्ड पार्क, सेतो गुम्बा आदि क्षेत्रमा पाँचतारे तथा अन्य पर्यटकीय होटल र रिसोर्टहरू बनाउन यहीँका जनसमुदायहरूसँग समन्वय गरेर पिपिपी मोडेल (सरकार र जनताबीच सहकारी गरी) मा कार्यक्रम सञ्चालन गर्ने मेरो योजना छ । विशेष गरेर नागार्जुन नगरपालिका रेसिडेन्सियल एरिया भएको हुनाले यहाँको बस्तीलाई शान्ति, सुरक्षा, खानेपानीको व्यवस्थापन, राम्रो शैक्षिक विद्यालय, अस्पतालदेखि लिएर वातावरण प्रदूषण र फोहोरमैलाको उचित व्यवस्थापन गरेर सफा, स्वच्छ र सुन्दर बनाउने योजना छ ।

नागार्जुन नगरपालिकामा पर्यटनका आकर्षक क्षेत्रहरू के-के पर्छन् ?
हृवाइट गुम्बा, स्विट्जरल्यान्ड पार्क, ऐतिहासिक इचंगुनारायण मन्दिर, हलचोक, आकाश भैरव, गणेशमान स्मृति पार्क, शहीद पार्क, भीमसेनस्थान (भीमढुंगा), हसन्टार गुम्बा, भुवनेश्वर/पञ्चकन्या/तारकेश्वर मन्दिरहरू आदि यहाँका प्रमुख आकर्षण हुन् । यसलाई व्यवस्थापन गरेर यहाँको संस्कृति, कला, परम्परा, भाषा आदि सबैलाई समेट्ने गरी अन्तर्राष्ट्रिय डम्फु (तामाङ समुदायको बाजा) पार्क बनाउने योजना छ । र, अर्को पञ्चेबाजासहितको राष्ट्रिय संग्रहालय बनाउनलाई जमिन छुट्याइसकेको छु । रामकोटमा गणेशमान पार्क पनि करिब–करिब तयार भइसकेको छ । २७ करोड रुपैयाँको टेन्डर प्रक्रियाबाट बन्दै गरेको १५ बेडको सुविधासम्पन्न अस्पतालको निर्माण कार्य अहिले अन्तिम चरणमा पुगेको छ ।

तपाईंले चुनाव जित्छु भन्ने आधारहरू के-के छन् ?
म राजनीतिक, सामाजिक व्यक्ति भएकाले यहाँका राजनीतिक दलहरू र आमजनसमुदायलाई कुनै पनि विभेद नगरीकन विकास निर्माणका कार्य गरेको छु । मैले दलगत स्वार्थभन्दा माथि उठेर सबैप्रति समानरूपले कार्य गरेको हुनाले अहिले फेरि मलाई सम्पूर्ण राजनीतिक दलका मतदाताहरूले भोट दिएर विजय गराउँछाँै भनी उम्मेदवारी दिन आग्रह गर्नुभयो, जसबाट मैले सबभन्दा सकारात्मक अनुभूति पाएको छु । उहाँहरू सबैले मलाई जिताउन प्रयत्न गरिराख्नुभएको छ र म पनि जित्नेमा विश्वस्त छु । र, मेरो खासै भन्ने हो भने प्रतिद्वन्द्वी नै छैनन् यहाँ ।

यस नगरपालिकामा तपाईंले के–कस्ता समस्यासँग जुध्नुपरेको छ र केन्द्र सरकारबाट के-कस्तो अपेक्षा राख्नुहुन्छ ?
म मेयर भइरहँदा प्रदेशको ऐन कानुन नबनेको, अहिलेसम्म संघीय सरकारको शिक्षामा कानुनहरू नभइराखेको अवस्था थियो । विभिन्न राजनीतिक दलबाट निर्वाचित जनप्रतिनिधिहरूको अनुभवको कमीले गर्दा मलाई कार्य गर्न अप्ठ्यारो भएको थियो । तर, उहाँहरूसँग सहकार्य गरेर गत पाँच वर्षको कार्यकालमा मैले सहजरूपमा निकासा पाएँ । मेरो राजनीति प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रका लागि हो । त्यसैअनुरूप लडेको व्यक्ति र कांग्रेस पार्टीको सदस्य भएको हुनाले मैले सबैलाई समानरूपमा सीमित स्रोत साधनका बाबजुद पनि यहाँको जनसमुदायलाई मेरो कार्यको विश्वास दिलाउन सफल भएँ, त्यो नै मेरो फरक पहिचान पनि हो ।

अन्त्यमा मतदाताहरूलाई केही भन्न चाहनुहुन्छ कि ?
सबभन्दा ठूलो कुरा हामी लोकतन्त्रवादी, प्रजातन्त्रवादी र कानुनी राज्य मान्ने व्यक्ति हौं । मैले राजनीति गरेको नगरपालिकामा आर्थिक पारदर्शिता कायम गराउन र जनताले सरल तरिकाले आवश्यक सेवा र सुशासनको अनुभूति गर्न पाऊन् भन्नका लागि हो । सामाजिक क्षेत्रमा मैले सम्पूर्ण जीवन समर्पण गरेको आमजनसमुदायहरूलाई थाहा छ । त्यसकारणले उहाँहरूले मलाई यो निर्वाचनमा मेरो इच्छा नहुँदा नहुँदै पनि तपाईं राजनीतिक, सामाजिक मान्छे अन्त गएर मन्त्री वा माननीय बन्नुहुँदैन भन्नुभयो । हामी तपाइँले गरेको विकास निर्माणका कार्यप्रति सन्तुष्ट छौं र यो अधुरो कार्यलाई अरूले गर्न नसक्ने भएको हुनाले तपाईंको आवश्यकता छ, भन्नुभयो । अर्को कुरा, यो स्थानीय चुनाव भएको हुनाले दलगत सिद्धान्तका आधारमा मात्र जनताले मतदान गर्दैैनन् । त्यसकारणले आमजनसमुदायले नै मलाई आग्रह गरेर भनिसक्नुभएपछि मेरा मतदाताहरू नै मेरो भविष्य र मलाई मत दिएर राजनीतिमा सहयोग गरेर माया गर्नुहुने नगरवासीहरू हुनुहुन्छ । म उहाँहरूको सम्मान, भावना र आग्रहभन्दा बाहिर जान सकिनँ । त्यसकारणले उहाँको सम्मान र चाहनाका लागि पनि मैले पुनः उम्मेदवारी दिएको हुँ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?