‘अघिल्ला पटकका अधुरा योजना पूरा गर्न मेरो उम्मेदवारी’

Read Time = 5 mins

गोपाल कार्की, भोजपुरको नगरपालिका-८, वडाध्यक्षका उम्मेदवार

भोजपुर । वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि अहिले दलहरू चुनावी प्रचारप्रसारको अन्तिम चरणमा छन् । भोजपुरको नगरपालिका-८ मा पनि अहिले नेपाली कांग्रेस, र नेकपा (एमाले) का उम्मेदवारका बीचमा प्रतिस्पर्धा छ । कांग्रेसका तर्फबाट वडाध्यक्षका उम्मेदवार गोपाल कार्की २०७४ को स्थानीय तहको निर्वाचनमा निर्वाचित वडाध्यक्ष हुनुहुन्थ्यो । उहाँसँग चुनावका विषयमा केन्द्रित रहेर भोजपुर संवाददाता निरोज कोइरालाले गर्नुभएकोे कुराकानीको संक्षिप्त अंश-

तपाईं वडाध्यक्षको उम्मेदवार हुनुहुन्छ, तपाईंलाई मतदाताले किन मतदान गर्ने ?
सर्वप्रथम त प्रश्नका लागि धन्यवाद । म नेपाली कांग्रेसका तर्फबाट अघिल्लो निर्वाचनमा पनि निर्वाचित भएको जनप्रतिनिधि हुँ । मैले मेरो अघिल्लो कार्यकालमा यस क्षेत्रमा गरेका कार्यहरू र चुनावको समयमा मात्र नभई अन्य हरेक समयमा पनि वडावासी जनताको घरदैलोमा पुगेर समस्या बुझ्दै त्यसको सुनुवाइसमेत गर्ने पहल गरेका कारण पनि मलाई फेरि पनि वडावासीले आफ्नो अमूल्य मत दिएर निर्वाचित गराउनुहुनेछ भन्नेमा म विश्वस्त छु ।

तपाईंका चुनावी एजेन्डाहरू के-के हुन् ?
स्थानीय निर्वाचनमा स्थानीय जनप्रतिनिधिका नाताले यस क्षेत्रको समग्र विकासमा जनमुखी ढंगले अगाडि बढ्नेछु । मैले वडाको विकासका लागि सरकारी ढुकुटीबाट आएको बजेटको सही सदुपयोग गर्दै जनताका माग र आवश्यकताबमोजिमका योजनाहरू पारदर्शी ढंगले गर्नेछु । शिक्षा, स्वास्थ्य, धार्मिक सम्पदाहरू संरक्षणसहित पूर्वाधारका कार्यक्रम, विद्युत् विस्तारलगायतका वडासँग प्रत्यक्ष जोडिएका कार्यक्रमहरू मेरा एजेन्डा हुन् ।

तपाईंले चुनाव जित्ने आधारहरू के-के हुन् ?
मैले अघिल्लो निर्वाचनमा प्राप्त गरेको मत नै यसको मुख्य आधार हो । भोजपुर नगरपालिका-८ को चौतर्फी विकासमा मैले निर्वाह गरेको भूमिका अन्य उम्मेदवारसँग तुलनीय नै हुन सक्दैन । चुनावका बेला मात्र खोक्रा प्रतिबद्धता व्यक्त गर्न आउने उम्मेदवारभन्दा म निश्चय नै शक्तिशाली छु जस्तो लाग्छ ।

चुनावका बेला जनतासँग गरिएका वाचाहरू चुनावपछि त जनप्रतिनिधिले बिर्सने गरेका छन् नि ?
यो कुरा सत्य हो । तर, सबै जनप्रतिनिधि त्यस्ता छैनन् । मैले अघिल्लो कार्यकालमा जे-जस्ता प्रतिबद्धताहरू गरेको थिएँ, यथासम्भव पूरा गर्ने प्रयास गरेको छु । कतिपय प्राविधिक कठिनाइहरूले गर्दा सबै प्रतिबद्धता पूरा हुन नसक्नु स्वाभाविक हो । तर, तुलनात्मकरूपमा हेर्ने हो भने यो वडामा अन्य वडाको तुलनामा विकास निर्माणका कार्यहरू उल्लेखनीय ढंगले भएका छन् । यसपटक विजय भएमा अघिल्ला अधुरा योजनाहरू पूरा गर्ने मेरो लक्ष्य हो ।

अन्त्यमा तपाईंलाई मतदाताले कसरी विश्वास गर्ने त ?
सम्पूर्ण वडावासी मतदाताहरूमा मलाई पुनः एक पटकका लागि विश्वास गर्न आग्रह गर्दछु । अझै पनि म यस क्षेत्रको विकासका लागि आफ्नो क्षमताले भ्याएसम्म हरक्षण लागिरहने प्रतिबद्धता व्यक्त गर्दै स्थानीय निर्वाचनमा पार्टी हैन आफ्नो टोलको विकासका लागि व्यक्ति हेर्न अनुरोध पनि गर्दछु ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?