अर्भिङमा पशुपतिनाथ मन्दिर र बौद्ध बिहार

Read Time = 4 mins

टेक्सास । अमेरिकाको टेक्सस राज्यको अर्भिङमा पशुपतिनाथ मन्दिर र बौद्ध बिहार यहाँ रहेका नेपाली तथा अन्य हिन्दूहरूका लागि आस्थाका धरोहर रहेका छन् । यी मन्दिर र बिहार सन् २०१३ देखि पूर्णरूपमा सञ्चालनमा आएका हुन् । हिन्दू र बौद्ध धर्मावलम्बीका लागि यी आस्थाको केन्द्र रहेका छन् ।

टेक्ससको डिएफ डब्लु एयरपोर्टबाट करिब १२ माइल दक्षिण पश्चिममा यो मन्दिर र बिहार छन् । यस मन्दिरको संरक्षण समितिमा करिब एक सय सदस्य रहेका छन् । मुख्य संरक्षकमा १० जना छन् भने यस मन्दिर तथा बिहारमा ५१ हजार डलरदेखि माथि चन्दा दिनेलाई मूल संरक्षक राखिने व्यवस्था रहेको बोर्ड अफ ट्रष्टीका अध्यक्षमा विनय अर्यालले जानकारी गराउनुभयो । उहाँका अनुसार ११ हजार डलरभन्दा माथि चन्दा दिनेको संख्या चारसय जति रहेको छ । यस्तै, दुई हजार पाँच सय डलरदेखि माथि चन्दा दिनेको संख्या दुई हजार पाँच सय छ ।

यसको कार्यकारिणी समितिको अध्यक्षमा सुरेशचन्द्र पोख्रेल हुनुहुन्छ । मन्दिरमा एकजना पूर्णकालीन पूजारी मेघनाथ निरौला हुनुहुन्छ भने मन्दिर समितिले अन्य पार्ट टाइम पूजारीको पनि व्यवस्था गरेको छ । यस मन्दिर र बिहारमा आइतबार बढी श्रदालु भक्तजनको भिड लाग्ने गर्दछ । आइतबार १५० देखि ३०० जनासम्म भक्तालु आउने गरको पूजारी निरौला बताउनुहुन्छ ।

आइतबारका दिन विशेष पूजा हुने र त्यो दिन आउने भक्तालुहरूलाई प्रसादको रूपमा खाजा चियाको व्यवस्थासमेत हुने गरेको छ । यसको हेरविचार र अवश्यक सहयोग टेक्सस नेपाली समाजले गर्दै आएको छ ।

यहाँ दशैँको घटस्थापनमा जमरा राख्ने, सरस्वती पूजामा विशेष पूजा गर्ने यस्तै शिवरात्रिमा नेपालको पशुपतिमा जस्तै आराधना गर्दै आएको टेक्सस नेपाली समाजका अध्यक्ष राजेन्द्र वाग्लेले जानकारी गराउनुभयो ।

यसलाई अझ व्यवस्थित गर्ने उद्देश्यले मन्दिरबाट करिब सात माइल पर आठ एकड जमिन किनेर पशुपतिनाथकै डिजाइनमा करिब ६० लाख डलरमा सम्पन्न गर्ने ध्येयले एकवर्ष अघिबाट मन्दिर बनाउन सुरु गरिएको छ । यो मन्दिर युलेस सहरमा पर्दछ । विशाल छेत्रफलमा बन्न लागेको पशुपतिनाथ मन्दिरमा छुट्टै बौद्ध बिहार पनि निर्माण हुने समाजका अध्यक्ष वाग्लेले जानकारी गराउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?