हिमालयद्वारा प्रयास नेपाललाई सहयोग

Read Time = 2 mins

काठमाडौं । हिमालय एयरलाइन्सले लगातार छैटौँ वर्ष प्रयास नेपालका बालबालिकालाई वर्षभरिका लागि शैक्षिक सामग्रीसहित सहयोग प्रदान गरेको छ । सन् २०१७ देखि हिमालय एयरलाइन्सको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गतको प्रयास नेपाल एक गैरसरकारी, गैरनाफामूलक सामाजिक संस्था हो ।

विगतका वर्षमा आवश्यक शैक्षिक सामग्री, खाजा/नास्ता, खाद्यान्नका साथै कोरोनाविरुद्धका सामग्री आपूर्तिमार्फत् हिमालय एयरलाइन्सले निरन्तर सहयोग गर्दै आएको छ । सन् २०२२ को मे १ मा स्थापनाको १९औँ वर्षमा प्रवेश गरेको प्रयासले विभिन्न सशक्तीकरण कार्यक्रममार्फत् धेरैको जीवनमा सकारात्मक प्रभाव छोडेको छ ।

हाल प्रयासले २६ जना बालबालिकाको रेखदेख गर्दै आएको छ । बालबालिकामा उड्डयन उद्योग, पेशा र व्यावसायिक पाठ्यक्रमबारे चेतना जगाउने उद्देश्यका साथ यस वर्ष हिमालयले बालबालिकाका लागि अनुभव आदान-प्रदान गर्न एक विशेष शैक्षिक सत्रको आयोजना गरेको थियो ।

सोहीक्रममा हिमालय एयरलाइन्सका जहाजका अनुभवी चालक दलले बालबालिकासँग अन्तरक्रिया गरेका थिए । अन्तरक्रियाको उद्देश्य बालबालिकामा उड्डयन उद्योगबारे ज्ञानको दायरा बढाउनुका साथै नेपालको उड्डयन क्षेत्रमा रहेका विभिन्न पाठ्यक्रम र पेशाका अवसरबारे जानकारी गराउने थियो ।

शैक्षिक सामग्रीमा विभिन्न कक्षाका पाठ्यपुस्तक, नोटबुक, रजिस्टर र क्यालकुलेटर, ज्यामिति बक्स, कलमलगायत स्टेसनरी सामग्री एयरलाइन्सकी ब्रान्ड विभाग प्रमुख उज्ज्वला दलीले प्रयास नेपालका अध्यक्ष मणि जोशीलाई हस्तान्तरण गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?