४५ करोडले घट्यो टेलिकमको नाफा

Read Time = 3 mins

काठमाडौं । नेपाल टेलिकमले चालु आर्थिक वर्ष २०७८/०७९ को तृतीय त्रैमासिकको वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीको मुनाफा घटेको देखिएको छ । गत आवको तृतीय त्रैमासिक अवधि अर्थात् २०७७ चैतसम्मको खुद मुनाफा पाँच अर्ब ८८ करोड ४४ लाख ७२ हजार रहेकोमा चालु आवको सोही अवधिमा ४४ करोड ९१ लाख २५ हजारले कमी भई पाँच अर्ब ४३ करोड ५३ लाख ४७ हजारमा झरेको छ । गत आवको तृतीय त्रैमासिक अवधि अर्थात् २०७७ चैतसम्ममा कम्पनीको कुल सञ्चालन आय २७ अर्ब ४५ करोड १३ लाख ५३ हजार रहेकोमा चालु आवको सोही अवधि अर्थात् २०७८ चैतसम्ममा ७६ करोड ८२ लाख ५९ हजार अर्थात् २.८ प्रतिशतले वृद्धि भई २८ अर्ब २१ करोड ९६ लाख १२ हजार कायम भएको छ ।

गत आवको तृतीय त्रैमासिक अवधि अर्थात् २०७७ चैतसम्मको कुल आय ३१ अर्ब ६७ करोड ३७ लाख ७४ हजार रहेकोमा चालु आवको सोही अवधि अर्थात् २०७८ चैतसम्ममा कुल आय ८६ करोड २९ लाख ५६ हजार अर्थात् २.७२ प्रतिशतले वृद्धि भई ३२ अर्ब ५३ करोड ६७ लाख २९ हजार कायम भएको छ ।

गत आवको तृतीय त्रैमासिक अवधिसम्मको तुलनामा चालु आवको सोही अवधिसम्मको खुद मुनाफा घट्नुमा कोरोना तथा ओटिटीको बढ्दो प्रयोगले अन्तर्राष्ट्रिय रोमिङलगायत अन्तरआबद्धता सेवाको प्रयोगमा कमी भएको कम्पनीले जनाएको छ । २०७८ माघमा कोरोनाको तेस्रो लहरका कारण कम्पनीको सेवा उपभोगमा कमी आई कार्य सञ्चालन आयमा कमी आएको, अन्तरआबद्धता शुल्कसम्बन्धी निर्देशिकाअनुसार डोमेस्टिक अन्तरआबद्धता शुल्कमा कमी भएकाले कार्य सञ्चालन आयमा कमी आएको, सेवा व्यापकरूपमा विस्तार गरिएकाले मर्मतसम्भार खर्चमा वृद्धि, स्थिर सम्पत्तिको ह्रासकट्टी रकम वृद्धिलगायतका कारण व्ययभार बढेको, कोरोना लक्षित गरी कम्पनीबाट धेरै कम दरका डाटा प्याकेज सुरु गरिएकोमा जिएसएम सेवातर्फ डाटाको खपत बढे पनि राजस्वमा सोही अनुपातमा वृद्धि हुन नसकेको, कोरोनापछि चिपसेटको अभाव तथा अन्तर्राष्ट्रिय ढुवानीमा कठिनाई र बढ्दो शुल्कका कारण उपकरण तथा सामान आयातमा ढिलाई भई अपेक्षित समयमा सेवा विस्तार गर्न नसकिएको कम्पनीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?