प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीबीच लुम्बिनीमै द्विपक्षीय वार्ता हुने

Read Time = 2 mins

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जेठ २ गते लुम्बिनी आउने हुनु भएको छ। बुद्ध जयन्तीको दिनमा त्यहाँ आयोजना गरिने विशेष समारोहमा सहभागी हुन मोदी लुम्बिनी आउन लाग्नुभएको हो ।
मोदीको भारतीय प्रधानमन्त्रीको रुपमा गर्न लागेको यो पाँचौं नेपाल भ्रमण हो ।

परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै मोदीको लुम्बिनी भ्रमणको औपचारिक घोषणा गरेको हो । मोदी प्रधानमन्त्री शेरबहादुर देउवाको औपचारिक निमन्त्रणमा लुम्बिनी भ्रमणमा आउन लाग्नुभएको हो ।

लुम्बिनी भ्रमणको बेला दुई देशका प्रधामन्त्रीले संयुक्त रुपमा सेन्टर फर बुद्धिष्ट कल्चर एण्ड हेरिटेजको शिलान्यास गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

दुवै देशका प्रधानमन्त्रीले लुम्बिनीमा रहेको मायादेवीको मन्दिरमा प्रार्थना गर्ने कार्यक्रम पनि रहेको परराष्ट्रद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

परराष्ट्रमन्त्री डा नारायण खड्काले भारतीय प्रधानमन्त्री मोदीलाई लुम्बिनीमा नै शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

लुम्बिनीमा नै दुई देशका प्रधानमन्त्रीबीच उच्चस्तरीय द्विपक्षीय वार्ता हुनेछ । वार्तामा नेपाल–भारत सम्बन्धका सबै आयामहरुमा छलफल हुने परराष्ट्रले जनाएको छ ।

भारतीय प्रधानमन्त्रीको लुम्बिनी भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने परराष्ट्रले जनाएको छ । भारतीय प्रधामन्त्री मोदी लुम्बिनीबाट सोही दिन स्वदेश फर्कने कार्यक्रम छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?