स्थानीय तह निर्वाचनको प्रभाव : काठमाडौं उपत्यकाका सडक सुनसान, एक हप्तामै पाँच लाख ५० हजार बढीले छाडे उपत्यका

Read Time = 7 mins

अनिल क्षेत्री/हिटा
काठमाडौं । स्थानीय तह निर्वाचनको लागि मताधिकार प्रयोग गर्न मतदाता गाउँ गएपछि काठमाडौं उपत्यकाका सडकहरू चकमन्न भएका छन् । पछिल्ला पाँच दिनमा मात्रै करिब तीन लाखभन्दा बढी व्यक्तिले सडकमार्ग हुँदै उपत्यका छाडेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । मतदाताहरू काठमाडौंको कलंकी, बालाजु, कोटेश्वर, बल्खु, गौशालालगायत विभिन्न नाकाबाट गाउँ फर्किएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार बुधबार चुनावका लागि भोट खसाल्न जाने यात्रुको चाप सबैभन्दा उच्च थियो ।

बुधबार मात्रै ८३ हजार ६६० जनाले काठमाडौं उपत्यका छाडेका प्रहरीले जनाएको छ । बुधबार ११ हजार २३३ सवारीले काठमाडौं विभिन्न नाका हुँदै काठमाडौं छाडेका थिए । चुनाव नजिकिएसँगै उपत्यका भित्रिनेको संख्या घट्दै गर्दा बाहिरिने यात्रुको संख्या ह्वात्तै बढेको थियो ।

वैशाख २७ गते मात्रै करिब ५९ हजार ८१ जनाले काठमाडौं छाडेका थिए । २६ वैशाखमा यो संख्या ५० हजार ९३० थियो भने २५ गते ५५ हजार ७४६ जनाले काठमाडौं छाडेका थिए । २४ गते ५३ हजार व्यक्तिले उपत्यका छाडेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ । उपत्यका भित्रिने यात्रुको संख्या भने केही दिनयता सामान्य अवस्थाको भन्दा कम रहेको ट्राफिक महाशाखाले जानकारी दिएको छ । बुधबार नौ हजार २२१ वटा सवारीबाट ३५ हजार ६५७ यात्रु काठमाडौं भित्रिएका थिए ।

बिहीबार पनि नाकाहरूमा बाहिरिने यात्रुको निकै चाप रहेको प्रहरीले जनाएको छ । उपत्यकाबाट बाहिरिने नाकाहरूमा उपत्यका छाड्ने बसहरूमा पनि कोचाकोच गरेर यात्रुहरू घर फर्किएका छन् । बिहीबार नौ हजार ९५६ सवारी साधनमार्फत ५९ हजार ८१ यात्रु उपत्यका छाडेर गएका छन् । तर, बिहीबार राति १२ बजदेखि सवारीसाधन सञ्चालन गर्न नपाउने भएकाले पनि यसअघि जान नपाएका मतदाता बिहीबार अबेरसम्म उपत्यका छोड्ने भएकाले बिहीबार बाहिरिने यात्रुको अन्तिम तथ्यांक भने यकिन छैन । बिहीबारको तथ्यांक आउन बाँकी भए पनि यही २१ देखि २८ गतेसम्म पाँच लाख ५० हजार बढी यात्रुले उपत्यका छाडेका काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक बालनरसिंह रानाले जानकारी दिनुभयो ।

पछिल्लो समयमा अधिकांश मतदाता राजनीतिक दलले व्यवस्था गरेको यातायातका साधनबाट गाउँ फर्किएका छन् भने कतिपय भाडाका सवारीसाधन र निजी गाडीमा समेत गएका छन् । मत हाल्ने दिन सरकारले सार्वजनिक बिदा दिएको, अर्को दिन शनिबार परेको र जेठदेखि हप्ताको दुई दिन सार्वजनिक बिदा दिने सरकारी निर्णयअनुसार आइतबार र सोमबारसमेत बिदा परेकाले पनि नागरिकहरू केही दिनको छुट्टी लिएरै गाउँ फर्किएका कारण उपत्यकाबाट बाहिरिनेको संख्या बढी देखिएको हो ।

स्थानीय तह निर्वाचनमा मतदान गर्न काठमाडौं उपत्यकाबाट मतदाताहरू आ-आफ्नो घर गएपछि काठमाडौं उपत्यकाका सडकहरू सुनसान भएका छन् । उपत्यकाभित्र पनि न्यून मात्रामा सवारीसाधन सञ्चालन छन् । अघिपछि जाम हुने थापाथली, सिंहदरबार, त्रिपुरेश्वर, माइतीघर, कोटेश्वर, गौशाला, कलंकी लगायतका चोक प्रायः खुला जस्तै रहेको ट्राफिक प्रहरीले जनाएको छ । यातायातका साधन कुनै पनि चोकको जाममा पर्नुपर्ने अवस्था नरहेको सवारी चालकहरूले बताएका छन् । सडकमा ट्राफिक प्रहरी न्यून मात्रामा परिचालन भएका छन् । विभिन्न क्षेत्रमा खटिएका सुरक्षाकर्मीलाई समेत निर्वाचनमा परिचालन गरिएकाले सडकमा सुरक्षाकर्मीको उपस्थिति कम भएको हो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशी बिहीबार बिहान नाकाबाट बाहिर जाने यात्रुको संख्या बढी देखिए पनि क्रमशः न्यूनीकरण हुँदै गएका र घर फर्किने क्रम भने रातिसम्मै चल्ने देखिएको बताउनुभयो । बिहीबार पनि भित्रिनेको तुलनामा बाहिरिनेको संख्या झन् धेरै रहेको र यो क्रम नेपालका धेरैजसो ठूला सहरमा देखिएको प्रहरी वरिष्ठ उपरीक्षक जोशीले जानकारी दिनुभयो ।

स्थानीय तह निर्वाचनमा मतदान गर्नका लागि काठमाडौं उपत्यकाबाट मौन अवधिको समयमा मात्र एक लाख ४२ हजार ७४१ जना यात्रुले काठमाडौं उपत्यका छोडिसकेका छन् । मौन अवधि सुरुदेखि बिहीबार बिहानसम्मको अवधिमा काठमाडौं उपत्यकाबाट १८ हजार सवारी साधनमा उक्त संख्यामा मतदाताहरू बाहिरिएको ट्राफिक प्रहरीले जनाएको छ । आज मतदानको दिन पास बाहेकका सवारीसाधन सञ्चालनमा रोक लगाइएको कारण बिहीबार रातिसम्म पनि यात्रुहरू काठमाडौंबाट बाहिरिएका प्रहरीले जनाएको छ । तस्बिरः रासस ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?