अपेक्षाकृत शान्तिपूर्ण हुन सकेन निर्वाचन, ठाउँ-ठाउँमा विवाद र झडप, दर्जनौँ ठाउँमा गोली र हवाई फायर

Read Time = 8 mins

डिबी शर्मा/हिटा
काठमाडौं । स्थानीय तहको निर्वाचन पूर्णतः शान्तिपूर्ण रूपमा सम्पन्न हुन सकेन । शुक्रबार देशका विभिन्न ठाउँमा विवाद र झडपका घटना भए । विवाद र झडपका कारण कतिपय ठाउँमा मतदान मतदान प्रभावित भयो । कतिपय ठाउँमा प्रहरीले गोली चलाउनुपर्ने सम्मको अवस्था आयो । कतै विवादका कारण मतदान नै स्थगित भयो । निर्वाचन आयोगका अनुसार केही स्थानको निर्वाचन स्थगित भएको छ । आयोगका अनुसार कम्तीमा पनि दुई दर्जन बढी मतदान केन्द्रमा मतदान स्थगित भएको छ । जुम्लाको गुठीचौर, काभ्रेको पाँचखाल, रामेछापको खाँडादेवी, रौतहटको फतुवा विजयपुर र सप्तरीको डाक्नेश्वरीलगायत केन्द्रमा निर्वाचन स्थगित गरिएको हो । स्थगित भएका स्थानमा छिट्टै निर्वाचन गर्ने आयोगको तयारी छ । मतपेटिका फुटाइएको र दिनभर झडपको अवस्था रहेका स्थानमा मतदान स्थगित भएको हो ।
त्यस्तै, चार दर्जन बढी मतदान केन्द्रमा मतदान प्रभावित भएको निर्वाचन आयोगले जनाएको छ । राजनीतिक दलका कार्यकर्ताहरूबीच झडप र विवाद भएपछि ती मतदान प्रक्रिया अवरुद्ध भएका हुन् । अवरुद्ध भएका स्थानमा अबेरसम्म मतदान भएको थियो । कतै सेनाको सुरक्षा निगरानीमा मतदान भएको छ ।

केही ठाउँमा झडप र विवाद भएका छन् भने केही ठाउँमा कुटपिटका घटनासमेत भएको प्रहरीले जनाएको छ । विभिन्न क्षेत्रमा भएका विवाद र झडपमा केही घाइतेसमेत भएका छन् । कतिपय ठाउँमा निर्वाचन स्थगित गरेर अर्को दिनका लागि मिति तय गरिएको छ । केही क्षेत्रमा केही बेर अवरुद्ध भएर पुनः मतदान सञ्चालन गरिएको थियो । केही जिल्लामा वर्षा समेतले मतदान प्रभावित बनाएको थियो ।

दर्जन बढी ठाउँमा गोली र हवाई फायर
निर्वाचनका क्रममा देशभर सय बढी घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ३० भन्दा बढी जिल्लामा ११० घटना भएका छन् । शुक्रबार अबेर प्राप्त विवरणअनुसार विवादका कारण अवरुद्ध भएका ४० वटा मतदानस्थलमा पुनः मतदान गरिएको थियो ।

केन्द्रीय प्रहरी प्रवक्ता विष्णुकुमार केसीका अनुसार विभिन्न ११ जिल्लाका केही मतदानस्थलमा स्थिति नियन्त्रणमा लिन हवाई फायर गर्नुपरेको थियो । हुम्लाको एक ठाउँमा भने अश्रुग्यास नै प्रहार भएको थियो । गोरखामा गोली लागेर एकजना घाइते भएका छन् । मतदानका क्रममा भएको विभिन्न विवाद र झडपका क्रममा देशका एक दर्जन बढी ठाउँमा गोली चलेको छ भने कतिपय ठाउँमा हवाई फायर गर्नुपरेको प्रहरीको भनाइ छ । नेपाल प्रहरीका प्रवक्ता केसीका अनुसार देशभरका विभिन्न मतदान केन्द्रमा मतपेटिका तोडफोड भएका छन् । रौतहटको एक मतदान केन्द्रमा स्थानीयले मतपेटिका नै लिएर भागेका छन् ।

व्यास नगरपालिकाका मेयर उम्मेदवार जोशीमाथि कुटपिट
व्यास नगरपालिकामा मेयरका उम्मेदवार दीपकराज जोशीमाथि नेपाली कांग्रेस कार्यकर्ताले आक्रमण गरेका छन् । व्यास-८ स्थित साबिक रिस्ती गाविस भवनको मतदानस्थल पुगेका बेला जोशीमाथि आक्रमण भएको हो । आक्रमणबाट जोशीको देब्रे आँखामाथि र टाउकोमा चोट लागेको छ । साथै जोशी चढेको गाडीसमेत युवाले पल्टाइदिएका छन् । जोशी कांग्रेस नेता गोविन्दराज जोशीका छोरा हुनुहुन्छ । उहाँले एमालेसँग गठबन्धन गरी मेयरमा उम्मेदवारी दिनुभएको छ ।

उम्मेदवारको घरमा विस्फोट, श्रीमती घाइते
रुपन्देहीको मर्चवारी-५ बनियाडिह उम्मेदवारको घरमा विस्फोट हुँदा श्रीमती घाइते हुनुभएको छ । नेकपा एमालेबाट वडाध्यक्ष पदका उम्मेदवार रहनुभएका सोमनाथ पाण्डेको घरमा विस्फोट भएको हो । मतदान भइरहेको समयमा करिब साढे ४ बजेको समयमा घरभित्र विस्फोट भएको हो । विस्फोटमा परी उहाँकी श्रीमती ४५ वर्षीया जयमाला पाण्डे घाइते हुनुभएको छ । उहाँको हात, पाखुरालगायत भागमा चोट लागेको छ । विस्फोटले घरमा समेत क्षति पुगेको छ । भान्छा घरमा विस्फोट भएको र यसको असर अन्य कोठामासमेत परेको छ ।

रौतहटको यमुनामाईमा मतपेटिका लुटियो, मतदान रद्द
रौतहटको यमुनामाई गाउँपालिकामा मतपेटिका लुटपाट भएको छ । यमुनामाई गाउँपालिकाको वडा नम्बर १ को चिकना जेठरहिया ‘क’ मतदानस्थल र वडा नम्बर २ को एक मतदान स्थलबाट मतपेटिका लुटिएको हो । यमुनामाईमा जनता समाजवादी पार्टी, नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच पटक-पटक झडप भएको थियो । तर, मतदानस्थलमा हुलदंगा भएको र आक्रोशित भिडले मतदान केन्द्र कब्जामा लिएर मतदान भएको र बाँकी रहेको मतपत्र च्यात्नुका साथै मतपेटिका तोडफोड गरेका हुन् । दुवै स्थानमा मतदान रद्द गरिएको छ । त्यस्तै, रौतहटको बौधीमाईमा मतपेटिकामा आगजनी भएको छ । बौधीमाई नगरपालिका-२ को इनरवा टोलमा जनता समाजवादी पार्टी र एमालेबीच झडप हुँदा तीन वटा मतपेटिका आगजनी भएको हो ।

गोरखाको ताराखसेमा प्रहरीको गोली लागि स्वयंसेवक घाइते
गोरखाको भीमसेन थापा गाउँपालिका-२ ताराखसे मतदान केन्द्रमा प्रहरीले भिडलाई नियन्त्रणमा लिन गोली चलाएको छ । प्रहरीको गोली लागेर मतदान केन्द्रमा खटिएका स्वयंसेवक घाइते हुनुभएको छ । मतदानको विषयलाई लिएर कांग्रेस र माओवादीबीच विवाद बढेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो । मतदानस्थलभित्रै पसेर कांग्रेस माओवादीबीच भिडन्त भएपछि बुथ संरक्षण गर्न र स्थिति नियन्त्रणमा लिन गोली चलाउनु परेको प्रहरीले जनाएको छ । स्वयंसेवक मनिषा थापा घाइते भएको प्रहरीको भनाइ छ । उहाँको तिघ्रामा गोली लागेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?