टाटाको नयाँ विद्युतीय गाडी

Read Time = 3 mins

काठमाडौं । टाटा मोटर्सले भारतमा नयाँ विद्युतीय एसयुभी सार्वजनिक गरेको छ । कम्पनीले भारु १७ लाख ७४ हजार अर्थात् २८ लाख ३५ हजार रुपैयाँमा नयाँ ‘नेक्सन इभी म्याक्स’ सार्वजनिक गरेको हो । नेक्सन इभी म्याक्सले एकपटकको चार्जमा चार सय ३७ किलोमिटर माइलेज दिने कम्पनीको दाबी छ । कम्पनीका अनुसार यति धेरै माइलेज दिने भारतमा उत्पादित नेक्सन इभी पहिलो विद्युतीय गाडी हो ।

कम्पनीले नयाँ उत्पादनको आन्तरिक विशेषताहरू परिवर्तन गरे पनि बाहिरी डिजाइन भने हाल बजारमा उपलब्ध विद्युतीय नेक्सनको जस्तै रहेको छ । हाल बजारमा उपलब्ध नेक्सनमा भएको ब्याट्री प्याक ३०.२ किलोवाटको रहेको छ तर नेक्सन म्याक्समा भने ३३ प्रतिशतले ठूलो ब्याट्री प्याक रहेको छ । जसले अधिकतम १४३ पिएस पावर र २५० एनएम टर्क जेनेरेट गर्छ ।

गाडी जम्मा ९ सेकेन्डमा शून्यदेखि सय किलोमिटर प्रतिघण्टाको गतिमा गुड्ने बताइएको छ । त्यस्तै टाटा नेक्सन इभी म्याक्स ३.३ किलोवाट र ७.२ किलोवाट एसी फास्ट चार्जर विकल्पमा उपलब्ध रहेको छ । ७.२ फास्ट चार्जरले चालक अथवा गाडीधनीको घर वा कार्यालयमै गाडी चार्ज गर्न सक्छन् । गाडीलाई ५० किलोवाटको डिसी फास्ट चार्जरले पनि चार्ज गर्न सकिन्छ ।

उक्त चार्जरले गाडी शून्यदेखि ८० प्रतिशत चार्ज हुन जम्मा ५६ मिनेट लाग्ने कम्पनीले जनाएको छ । नेक्सन इभी म्याक्स जिपट्रोन प्रविधिबाट सञ्चालित छ । नेक्सन इभी म्याक्स इको, सिटी र स्पोर्ट गरी तीन ड्राइभिङ मोडमा चलाउन सकिन्छ भने गाडीमा जेड कनेक्ट एपसँगै ४८ अन्य कार कनेक्ट फिचर रहेका छन् ।

पाँच सिटरको एसयुभीमा तीन सय ५० लिटरको डिकी क्षमता रहेको छ । सुरक्षाका लागि गाडीमा हिल एसेन्ट र हिल डिसेन्ट कन्ट्रोल, इबिडीसहितको एबिएस प्रविधि, कर्नरिङ स्टेबिलिटी कन्ट्रोल, डुअल एयरब्यागलगायत विशेषता रहेका छन् । टाटाले छिट्टै विद्युतीय टिगोर पनि सार्वजनिक गर्ने जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?