मानव जीवन र यात्राको अन्योन्यास्रित सम्बन्ध छ । जहाँ मानव हुन्छ त्यहाँ यात्रा अवश्यम्भावी हुन्छ । यात्रा गर्ने यात्रुको लक्ष्य निर्दिष्ट समयमा गन्तव्यमा सुरक्षित पुग्ने हुन्छ । यात्रुका लागि यात्रा गर्ने साधन कति विश्वसनीय, भरपर्दो र सुरक्षित छन् यी विषय प्रथम प्राथमिकतामा पर्छन् । यात्रा समयमा सम्पन्न गर्न निःसन्देह सवारीसाधन र चालकको संयुक्त भूमिका हुन्छ । सवारीको निर्जीव इन्जिनलाई राम्रोसँग परिचालन गरेर यात्रुहरूलाई समयमा सुरक्षित गन्तव्यमा पुर्याउने विशेष जिम्मेवारी ड्राइभरको हुन्छ । ड्राइभर दक्ष र योग्य छैन भने सेवा गुणस्तरीय हुँदैन । तसर्थ चालकको दक्षता र योग्यताको भूमिका महत्वपूर्ण हुन्छ ।
यदि चालमसँग विशेष योग्यता र कला भयो भने गाडीमा उत्पन्न सानुतिनो गडबडीका बाबजुद यात्रुलाई समयमै गन्तव्यमा पुर्याउँछ । गाडी जतिसुकै बलियो र भरपर्दो भए पनि चालक दक्ष, योग्य र इमानदार भएन भने गन्तव्यमा किमार्थ पुगिँदैन । तसर्थ गाडी राम्रो छ म सजिलोसँग गन्तव्यमा पुग्छु भन्नेहरू भ्रममा छन् । त्यसको राम्रो उदाहरण हो २०४७ सालको नेपालको संविधान । २०४७ सालको संविधान निर्माण कार्यमा विज्ञ र विशेषज्ञहरूको योगदान छ । उक्त संविधानलाई व्यावहारिक र वैज्ञानिक भनेर सबैले प्रशंसा गर्छन् ।
भ्रष्टहरू फरक-फरक पार्टीका भए पनि उनीहरूबीचको एकता र सहकार्यले न्यायालय, अख्तियार, निर्वाचन आयोगजस्ता संस्था नेताहरूको प्रभावमा छन् । तिनीहरू स्वतन्त्र निर्णय गर्ने क्षमता राख्दैनन् । शक्ति पृथकीकरणको सिद्धान्तलाई पंगु बनाए ।
तर, त्यो संविधानरूपी गाडी देश हाक्ने ड्राइभरहरूको अयोग्यताले र अक्षमताले छोटो समयमै दुर्घटनाग्रस्त भयो । त्यो दुर्घटना संविधानरूपी गाडीका कारणले होइन तत्कालीन देश हाक्ने ड्राइभरहरूको निहित स्वार्थ, अयोग्यता, अदक्षता, अक्षमता र अकर्मण्यताले हो । उनीहरूको निजी स्वार्थले, भ्रष्टाचारले र नातावादले यदि प्राथमिकता नपाएको भए त्यो संविधान किमार्थ दुर्घटनाग्रस्त हुँदैनथ्यो । २०४७ मा चप्पल लगाएर सिंहदरबार छिरेका भोका र नांगाहरूले रातारात पेजेरो र आधुनिक बंगला जोडे । सिंहदरबारमा आलोपालो नाँची रहे । अहिले व्यवस्था बदलिए अझै सिंहदरबार, शीतलनिवासको नयाँ दरबारलगायत राज्य संरचना अक्षम, अपारदर्शी, भ्रष्ट र अयोग्यकै कब्जामा छ । २०६२/०६३ पछिका नयाँ जोगी नयाँ नेपाल भन्थे । तिनीहरू समयक्रममा दक्ष भ्रष्ट प्रमाणित भए । नयाँ नेपाल भन्ने जोगीहरूको नेतृत्वमा अर्थतन्त्र दुर्घटनाग्रस्त मात्रै भएन प्रजातान्त्रिक संस्कार, संस्कृतिलाई समेत झन् भत्काए । हामीलाई लोकतन्त्र भने तर हाम्रो दुर्भाग्य परिवारतन्त्र, पार्टीतन्त्र र भ्रष्टाचारलाई संस्थागत गरे । पद्धति फेरिए, नयाँ र पुराना दुवैको आचरण व्यवहार, कार्यशैली, चिन्तनशैली भ्रष्ट हँुदा उनीहरूबीचको तालमेल र गठबन्धनले सत्ता सधैं अयोग्य, अक्षम र भ्रष्ट चालकहरूकै कब्जामा छ । सत्तसीनको अकर्मण्यताले देश र जनता निस्सासिएका छन् ।
संविधान भने प्रजातान्त्रिक तर शासकीय शैली हैकमवादी र तानाशाही भएकाले यहाँ निर्वाचित भ्रष्ट तानाशाहले आलोपालो शासन गरेका छन् । जनअसन्तुष्टि र जनआक्रोशको नेतृत्व गर्ने इमानदार नयाँ नेतृत्वको अभाव नेपालीको दुर्भाग्य बन्यो । यहाँ एउटा निर्वाचित तानाशाह असफल हुन्छ पालैपालो अर्को भूतपूर्व असफल, भ्रष्ट नेता फेरि सत्तारुढ हुन्छ । राज्यसत्ता दशकौंदेखि असफल र अक्षम प्रमाणित भएकाको चक्रव्यूहमा छ । पार्टी व्यवस्थामा नैतिकता, इमानदारी नभएको नेतृत्वले अख्तियार, निर्वाचन आयोग जस्ता संवैधानिक अंगहरूमा न्यायालयमा साथै राजदूत र विश्वविद्यालयका पदाधिकारी जस्तो उच्चपदस्थको नियुक्तिमा आर्थिक चलखेलका लागि बिचौलिया क्रियाशील बनाए । पदहरू खुलम्खुला बिक्रीवितरण हुँदा अयोग्य व्यक्ति नियुक्त भए ।
प्रतिस्पर्धात्मक लोकतान्त्रिक संस्कार, संस्कृति र चरित्रमाथि निरन्तर आक्रमण भयो । परिणामस्वरूप अझै नेपाली लोकतन्त्र प्रसवपीडामा छ । निर्वाचित पदाधिकारी छन्, न्यायालय छ, अख्तियार जस्ता सबै निकाय छन् तर तिनीहरू सबैलाई नेताहरूले कुशासनको हतियार बनाए । राजनीतिक परिवर्तन र आवधिक निर्वाचनले यदाकदा नेतृत्वको चित्र फेरिन्छ तर चरित्र फेरिँदैन । पुराना भ्रष्टभन्दा नयाँ असल आउँछन् कि भन्ने आशा गर्यो समयक्रममा नयाँ झन् भ्रष्ट हुने क्रमले निरन्तरता पायो । परिणामस्वरूप नेपालीहरूको भाग्य र भविष्य लुटिने क्रम जारी छ । भ्रष्टहरू फरक-फरक पार्टीका भए पनि उनीहरूबीचको एकता र सहकार्यले न्यायालय, अख्तियार, निर्वाचन आयोग जस्ता संस्था नेताहरूको प्रभावमा छन् । तिनीहरू स्वतन्त्र निर्णय गर्ने क्षमता राख्दैनन् । शक्ति पृथकीकरणको सिद्धान्तलाई पंगु बनाए ।
नेताहरूको चाहनानुसार संवैधानिक अंगहरू परिचालित हुँदा ती स्वतन्त्र निकाय नै अहिले कुशासनका कारण बनेका छन् । निष्पक्ष निर्णय गर्ने अधिकारी दण्डित हुन्छन् । महाभियोगको प्रयोग कुशासन लक्षित छ । दण्डित गर्नुपर्ने पुरस्कृत र पुरस्कृत गर्नुपर्ने दण्डित हुने अवस्थामा सुशासनको कस्तो खडेरी होला ? खबरदारी गर्ने र दण्डित गर्नेले नै भ्रष्टहरूलाई संरक्षण गर्छन् । लोकतन्त्र र सुशासन शब्दको चीरहरण यसभन्दा अर्को के हुन्छ ? सरकारको नेतृत्व भनेको लाग्छ देश लुट्ने प्रमाणपत्र हो । यस्तो भ्रष्ट, निकृष्ट र अनैतिक नेतृत्व संविधानसम्मत सत्तारुढ हुने परिपाटीले लोकतन्त्रलाई लुटतन्त्रमा परिणत गरे । देश बर्बाद गर्नेहरू नेता नामका राष्ट्रका शत्रु हुन् । ‘केही पढे लेखेका मानिसहरूले गरिबलाई लुट्न एक संस्था बनाएका छन् जसलाई सरकार भनिन्छ’ भन्ने उपन्यासकार प्रेमचन्दको भनाइ नेपालमा चरितार्थ भएको छ ।
ढुकुटीलाई दुरुपयोग गर्ने, भ्रष्टाचार गर्ने, विलासी जीवनका लागि ढुकुटी रित्याउने यिनीहरूको स्थायी चरित्रको घेरामा देशको राजनीति रुमलिएको छ । एकातिर आर्थिक अभावका कारण प्राकृतिक प्रकोप पीडित चिसोका कारण मृत्युुवरण गर्न बाध्य छन् भने सरकारी अधिकारीका लागि वातानुकूलित विलासी महँगा कार किन्न बजेट फालाफाल छ । जनता चिसोले र भोकले मर्दैछन् भने नेताहरू कोही विदेश सयर गर्दैछन् । कोही विवाहको भोजभतेरमा, कोही संकल्प यात्राको नाममा नाँचगानमा व्यस्त छन् । नेपालीको भाग्य र भविष्य अन्धकार बनाउने कसरी सुशासन शब्द उच्चारण गर्छन् ? अझ उल्टै आफू सत्तामा हुँदा देशले प्रगति गरेको थियोे र छ भन्न कत्ति लज्जाबोध गर्दैनन् । हो प्रगति भयो, उनका परिवारको भयो । नातेदार र आसेपासेको भयो । देश र जनताका लागि सबै पूर्णतः असफल प्रमाणित भए तर एउटालाई असफल भन्ने फेरि अर्को भूतपूर्व असफल र भ्रष्ट फेरि सत्तारुढ हुने शैली परिवर्तन बन्यो ।
देश गठबन्धन र आलोपालो शासनले भ्रष्टाचार, बेरोजगारी, अभाव, गरिबी, विपन्नता र वैदेशिक ऋणमा थिल्थिलिएको छ । परिवर्तनको नाममा एकपछि अर्को असफल र भ्रष्टहरूको शासन भोग्न नेपाली बाध्य छन् । जनताको गिर्दो आर्थिक अवस्थाको चरम बेवास्ता नै उनीहरूको प्रजातान्त्रिक समाजवाद, जनवाद र माओवाद बन्यो । निमुखालाई न्याय र गरिबलाई आय भनेर कुर्लने र आफूलाई बीपी कोइरालाका, माओका, लेलिनका र कार्ल माक्र्सका उत्तराधिकारीको दाबा गर्नेहरूले हिजो जनतालाई धनी बनाउँछौं भने । तर, अहिले उनीहरूबीच धनी बन्ने तीव्र प्रतिस्पर्धा छ । कुशासनको नमुना र भ्रष्टाचारका नयाँ विधि, प्रविधिहरूको आविष्कारले आफू र आफ्नाको उत्थानलाई आ-आफ्ना वादका नाममा भ्रष्टाचारका माध्यमले ढुकुटी दोहनका कारण हिजो अत्यन्तै सम्मानित नेताहरू आज चरम घृणाका पात्र बने । हिजो यिनीहरूसँग धन र पद थिएन । इज्जत फालाफाल थियो ।
अहिले पद र धन फालाफाल छ तर इज्जत फुट्टी छैन । नेतृत्वको इज्जत भनेको जनताले दिने स्नेह, सम्मान, आस्था र विश्वास हो । त्यो अहिले कुनै पनि पार्टीको कुनै नेतासँग छैन । यिनीहरूले इज्जत र प्रतिष्ठालाई पदसँग र धनसँग विनिमय गर्ने अपराध गरे । हिजो यिनीहरूसँग धन थिएन प्रतिष्ठा थियो, आज पद र धन छ दुर्भाग्य प्रतिष्ठा छैन । हिजो देवता ठानिएकाहरू आज राक्षस ठहरिए । यिनीहरू हिजो गरिब थिए । संवेदना र आत्मीयता थियो । सत्तामा पुगेपछि आफूसँग हिजो अप्ठ्यारो अवस्थामा शरण दिने र यथासक्य दुःख टार्ने साथीहरू चटक्कै बिर्सिए । सत्ताका सहयात्रीहरू एकलाई अर्कोले शत्रु ठान्ने अनौठो संस्कृति विकास गरे ।
नयाँ संविधान हाँक्न पनि हामीले धेरै चालक फेर्यौं । कुनै चालकले गन्तव्यमा पुर्याएनन् । हाम्रो दुर्भाग्य के छ भने एउटा ड्राइभर असफल भयो भने फेरि विगतको असफल ड्राइभरलाई जिम्मा दिन्छौं । यो क्रम दशकौंसम्म निरन्तर चलेको छ ।
कारण जनताका समस्या र विकासको मोडलबारे मतभिन्नता होइन, फगत व्यक्तिगत स्वार्थ पूर्तिको प्रतियोगिताको मतभिन्नता हो । नेताहरूका अतृप्त व्यक्तिगत चाहनालाई पूरा गर्ने योजना र कार्यक्रम विशेष प्राथमिकतामा परे । नतासँग गरेका देश विकासका बाचालाई चरम बेवास्ता गरे । नेताहरू आफैंमात्र अघाए । केही नेताहरू अघाएको देखेर अर्को थरि तिनीहरूलाई विस्थापित गर्न हिंसात्मक बाटो लाग्यो । अन्ततः दुवै पक्षले आफ्नो भूमिका सुनिस्चित गर्न भोका र अघाएकाहरू मिलेर विदेशीको डिजाइन अन्तर्गत बाह्रबुँदे सम्झौता गरे ।
सिद्धान्त, दृष्टिकोण, जीवनशैली, कार्यशैली र चिन्तनशैलीमा नितान्त भिन्न सत्तास्वार्थका कारण एकै ठाउँमा आए । निर्धक्क ढुकुटीलाई धावा बोल्न सजिलो हुन्छ भनेर खबरदारी गर्ने र देशलाई सधैं माया गर्ने राजसंस्थालाई विधिविपरीत जनताको स्वीकृतिविना पदच्यूत गरे । परिणामस्वरूप आर्थिक अराजकता झन् बढ्यो । संविधान बनाउन संविधानसभाको निर्वाचन दुई-दुई पटक गर्दा ढुकुटीको सत्यानाश गरे । संविधान जारी गर्न दशक लाग्यो । विवादहरूको घेरामा बनेको संविधान आफैं विवादित बन्यो । यो संविधान पनि दुर्घटनाग्रस्त भएको कुरा संविधान विज्ञहरू स्वीकार्छन् ।
२०७२ मा संविधान बन्यो । सबैले त्यसलाई विश्वकै उत्कृष्ट संविधान भन्न भ्याए । ढुकुटी र पदलाई एकलौटी गर्न पाउनेका लागि त वर्तमान संविधान अझै उत्कृष्ट होला । परिवारतन्त्रका लागि यो संविधान उत्कृष्ट नै छ तर लोकतन्त्रका लागि अफापसिद्ध देखियो । धर्म संस्कृतिलाई मास्ने योजनाका साथ आएको देशको अवस्था प्रतिकूल संघीय व्यवस्था र समानुपातिक व्यवस्था जस्ता भ्रष्टाचार अनियमितता साथै वैदेशिक ऋणको मात्रा थपेर देशलाई कंगाल बनाउने योजनाका साथ घोषित संविधानद्वारा सत्तामा सबै चालक फेरि उनै पुराना आए । फेरि पनि सत्तामा अयोग्य, अकुशल, अनैतिक, अनुशासनहीन र भ्रष्ट चालक हुँदा यो संविधानरूपी गाडी पनि ड्राइभरहरूको अदक्षताकै कारण प्रायः दुर्घटनाग्रस्त छ । गाडी खाडलमा जाक्किदासमेत चालक गाडी बाटोमा गुड्दै छ भन्ने भ्रम छरेका छन् । तिनै अकुशल र अयोग्य चालकहरूलाई ईश्वर मान्ने लम्पट कार्यकर्ता र भ्रष्ट चालकहरूले दुर्घटनाग्रस्त गाडी सहिसलामत छ भनेर यसलाई अझै बरबादीको बाटोमा हिँडाउँदा उपलब्धि भएको भन्दैछन् । गाडी अर्थात् संविधान जतिसुकै राम्रो बने पनि त्यसलाई कार्यान्वयन गर्ने चालकमा नैतिकता, इमानदारी र इन्टिग्रिटी नहुँदा गाडी दुर्घटनाग्रस्त हुने निश्चित छ ।
नयाँ संविधान हाँक्न पनि हामीले धेरै चालक फेर्यौं । कुनै चालकले गन्तव्यमा पुर्याएनन् । हाम्रो दुर्भाग्य के छ भने एउटा ड्राइभर असफल भयो भने फेरि विगतको असफल ड्राइभरलाई जिम्मा दिन्छौं । यो क्रम दशकौंसम्म निरन्तर चलेको छ । यसैलाई परिवर्तन भन्यौं । देश भने ठप्प प्रायः भएको छ । अब पुराना ड्राइभरमात्रै होइन पुराना स्वाभिमान र इमानदारीलाई नेताहरूको जिम्मा लगाएका दोस्रो दर्जाका कार्यकर्ता नामका सहचालकसमेत फेर्ने जबर्जस्त आन्दोलन देशले खोजेको छ । तर योग्य ड्राइभर उत्पादन गर्ने प्रशिक्षण केन्द्रको अभावमा गन्तव्यमा पु¥याउने नेतृत्वको प्राप्ति हाम्रो वर्तमान राजनीतिको मुख्य समस्या हो । समस्या चालकमा भएको जनचेतना र जनविद्रोह नै आजको आवश्यकता हो । जनतालाई पार्टीका नाममा विभाजित गरेर आफ्नोमात्रै स्वार्थसिद्ध गर्नेहरूको रणनीतिक अभियानलाई चिर्ने नेतृत्वको आवश्यकता छ । नयाँ शैलीमा विकास र समृद्धिको खाका कोर्नेहरूलाई नेतृत्व हस्तान्तरण नहुँदासम्म देश सुशासनको दिशामा अग्रसर हुँदैन ।
सुशासन नै न्याय, समानता, विकास, समृद्धि, मानवाधिकार साथै समुन्नत समाजको पूर्वसर्त हो । योग्य, दक्ष र सदाचारी नेतृत्व फेरि सुशासनको अर्को पूर्वसर्त हो । सदाचार, इमानदार, नैतिक, योग्य र दक्ष नेतृत्वविना संविधानका अक्षरहरू जतिसुकै प्रजातान्त्रिक भए पनि सुशासन, समृद्धि र विकास व्यवहारमा अनुवाद किमार्थ हुँदैन । तसर्थ खोट संविधानमा अलिकति होला तर सम्पूर्ण विकास र समृद्धिलाई अवरोध गर्ने जिम्मेवार भनेको सबै पार्टीहरूका भ्रष्टाचारमा चुर्लुम्म डुबेका वर्तमान राजनीतिक नेतृत्व पंक्ति नै हुन् । यिनै भ्रष्टहरूका कारण नेपालीहरूको विकास, समृद्धि र सुशासनको चाहना सधैं तुहिएको छ । नेपालीको चाहाना तुहाउने अरू कोही होइनन् आलोपालो सत्ताको रस चुस्नेहरू नै हुन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच