टानमा सुवेदीका दुई वर्ष : कोरोनाबीच पनि उपलब्धि

Read Time = 7 mins

गोविन्द मरासिनी/हिटा
काठमाडौं । पर्यटन प्रवद्र्र्धनका लागि नेपालमा रहेका पर्यटकीय गन्तव्यबारेमा अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गर्नु, नेपालमा धेरै पर्यटक भित्र्याउनुका साथै नेपालको आर्थिक पक्ष बलियो बनाउनु ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) को प्रमुख उद्देश्य हो । यसबाहेक अधिकार संरक्षण र सदस्य पदयात्रा एजेन्सीलाई बढावा दिने र पर्यटकीय गन्तव्यबारे सरकार र सम्बन्धित निकायसँग सहकार्य र समन्वय पनि टानले गर्दै आएको छ । यतिबेला टान साधारणसभा र नयाँ नेतृत्वको चयनको तयारीमा छ । यही साउन ३० गते नयाँ नेतृत्व चयन गर्दैछ । प्रत्येक दुई वर्षमा हुने नेतृत्व चयन कोरोनाका कारण केही ढिला हुन गएको हो ।

विश्वभर महामारीको रूप लिएको कोरोनाले पर्यटन क्षेत्र तहसनहस बनायो । जसका कारण आजभन्दा करिब तीन वर्षअघि खुमबहादुर सुवेदीको नेतृत्वमा चयन भएको टान नेतृत्वले पर्यटकीय क्षेत्रमा थोरैमात्र काम गर्न सफल भयो । कोरोनाका कारण टानले सोचेअनुरूप काम गर्न नसके पनि केही महत्वपूर्ण र उल्लेखनीय कार्य भने गरेको छ । कोरोनाकालमा अन्तर्राष्ट्रियस्तरमा नेपाली पर्यटकीय गन्तव्यको प्रचारप्रसार गर्न नसके पनि विभिन्न संघसंस्थासँगको सहकार्यमा राष्ट्रियस्तरमा पर्यटन प्रवद्र्वनका लागि निरन्तरता दियो । सरकारलाई आगामी दिनमा पर्यटन प्रवद्र्धन कसरी गर्नुपर्छ भन्ने विषयको तथ्यांक र २०३५ देखि पर्यटन ऐन नबनेको अवस्थामा अब पर्यटन ऐन पर्यटन र व्यवसायीमैत्री बनाउनुपर्छ भन्ने विषयमा पनि टानले महत्वपूर्ण भूमिका खेलेको अध्यक्ष सुवेदीको भनाइ छ । टे«ेकिङ सूचना व्यवस्थापन प्रणाली (टिम्स) सुरु भएपछि असारसम्मको आन्तरिक हिसाबकिताबबारे नेपाल पर्यटन बोर्ड र टानबीच विवाद रहेको थियो, सुवेदी त्यसको समाधानतर्फ अघि बढ्नुलाई आफ्नो कार्यकालको महत्वपूर्ण उपलब्धि मान्नुहुन्छ ।

त्यस्तै साहसिक खेलमार्फत् नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल भ्रमण वर्ष २०२० को प्रचारप्रचारलाई समेत व्यापकता दिन नेपाल भ्रमण वर्षको सचिवालयले स्केट नेपाल, फिगर स्केटिङ र आइस हक्की २०१९ फेब्रुअरी १४ का दिन सगरमाथा क्षेत्रको गोक्यो ताल तेस्रोमा यो कार्यक्रम आयोजनाको घोषणा ग¥यो । नेपाल भ्रमण वर्ष २०२० अभियानका लागि नयाँ डिजाइन गरिएको साहसिक र खेल पर्यटन उत्पादनले नेपाललाई शीतकालीन खेलकुदको गन्तव्यका रूपमा प्रवद्र्धन गर्न र सबै सिजनका लागि नेपाललाई प्रवद्र्धन गर्न अन्तर्राष्ट्रिय फिगर स्केटिङ कार्यक्रम र ४७९० मिटरको उचाइमा मैत्री आइस हक्की खेल प्रदर्शनले नयाँ खेलप्रेमी पर्यटक उत्पादन हुने र २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यमा समेत सहयोग पुग्ने अपेक्षाअनुरूप कार्यक्रममा संघको पनि सहयोग रहृयोे ।

२० लाख पर्यटक भित्र्याउने लक्ष्यसाथ सरकारले सन् २०२० लाई नेपाल पर्यटन वर्ष घोषणा गरेपछि पर्यटन व्यवसायीमा उत्साह थपिएको थियो । सोहीअनुसार पर्यटनसम्बद्ध विभिन्न संघसंस्थाले पनि नयाँ कार्यक्रम घोषणा गरे । पर्यटन वर्ष सफल बनाउन टानले नेपाल पर्यटन वर्ष २०२० को सचिवालयसँग २०१९ डिसेम्बर ११ मा विभिन्न कार्यक्रम आयोजना गर्ने ११ बुँदे सम्झौतामा हस्ताक्षर गरेको थियो तर कोरोनाका कारण कार्यक्रम रद्द गर्नुपर्‍यो ।

सरकारद्वारा लकडाउन घोषणासँगै देशका विभिन्न भागमा पदयात्रामा निस्केका पर्यटक गन्तव्यमै अलपत्र परे । पर्यटन बोर्डको समन्वयमा टानले उनीहरूको उद्धार कार्यमा महत्वपूर्ण भूमिका खेल्नुका साथै पर्यटन श्रमिकलाई राहत प्रदान गर्ने हेतुले टान फुड बैंक स्थापना गरी श्रमिकका लागि राहत वितरणका साथै क्रेडिट कार्डसमेत व्यवस्था गरेको थियो ।

आफ्नो कार्यकालमा पर्यटन व्यवसायी, श्रमिक र टानबीच सौहाद्र्रपूर्णरूपले गतिविधि बढेको अध्यक्ष सुवेदीको दाबी छ । व्यवसायीलाई परेका विभिन्न समस्याबारेमा पर्यटन मन्त्रालय र सरकारलाई झकझक्याउने काम, पर्यटनमा विभिन्न सानाठूला व्यवसायीलाई राहत प्याकेज मागलगायतका विषयमा पनि आफ्नो सक्रियता रहेको उहाँको भनाइ छ । कोरोनाका बाबजुद पनि गत वसन्त ऋतुमा झण्डै दुई लाख पर्यटक आउनुलाई टानले उपलब्धि ठानेको छ । तथापि अपेक्षाअनुरूप काम गर्न नसकेकोमा सुवेदी चिन्तित पनि हुनुहुन्छ ।

कोरोनाकालमा नाफा कमाउनेभन्दा पनि कसरी पर्यटन बजारलाई टिकाउने भन्नेमा टानको नेतृत्व केन्द्रित रहृयो । आफू टानको १९औँ अध्यक्ष बनेर आउँदा राखेका एजेन्डा करिब ६० प्रतिशत पूरा भएको र व्यावसायिक हितका लागि एजेन्डा बोकेर आफूले पूरा गर्न नसकेका ४० प्रतिशत कार्य पूरा गर्न नयाँ नेतृत्वलाई आवश्यक सल्लाह र सुझाव दिने योजना रहेको उहाँले बताउनुभयो । सोहीअनुरूप आगामी नेतृत्वले पनि व्यवसायीका विषय, श्रमिकका एजेन्डा, हकहितकै लागि कार्य गर्नुपर्ने र सरकारलाई अझ बढी पर्यटन उद्योग र व्यवसाय बुझ्ने बनाउनुपर्नेमा सुवेदीको जोड रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?