बर्डफ्लुले पोल्ट्री व्यवसायीदेखि उपभोक्तासम्म मर्कामा

Read Time = 7 mins

काठमाडौं । लामो समयदेखि बर्डफ्लु नियन्त्रणमा आउन नसक्दा पोल्ट्री व्यवसायी चिन्तित बनेका छन् । बर्डफ्लुका कारण पोल्ट्री व्यवसायी तथा कुखुरापालक किसानमात्र नभई कुखुराको मासु तथा अण्डाको मूल्य बढ्दा उपभोक्तासमेत मर्कामा परेका छन् ।

पछिल्लो समय सर्लाहीमा पनि बर्डफ्लु संक्रमण फैलिएको छ । सर्लाहीको गोडैता नगरपालिकामा रहेको एक हाँस फार्ममा बर्डफ्लु पुष्टि भएको हो । गोडैता नगरपालिका-५ मा रहेको जेके पशुपालन तथा पोल्ट्री फार्म हाउसमा पालिएका हाँसमा बर्डफ्लु देखिएको पशु सेवा विभागले जनाएको छ ।

विभागबाट खटिएको टोलीले फार्म हाउस तथा आसपासका क्षेत्रमा निरीक्षण अनुगमन गरी फार्ममा पालिएका पाँच सय ५० हाँसमध्ये बर्डफ्लुका कारण तीन सय ८२ हाँस मरिसकेका र फार्ममा एक सय ६८ जिउँदा हाँस नष्ट गरिएको विभागले जनाएको छ । उक्त फार्म हाउसमा पहिलोपटक वैशाख १८ गते हाँस मर्न सुरु गरेको र २३ गते विज्ञ केन्द्र मलंगवामा फार्म हाउसका सञ्चालकले सम्पर्क गरेका थिए । वैशाख २५ गते हाँसको नमुना परीक्षणका लागि भरतपुर पठाइएको र त्यहाँबाट फेरि काठमाडौंमा पनि परीक्षण गर्दा वैशाख २७ गते बर्डप्mलु पुष्टि भएको थियो ।

त्यसैगरी हेटौंडा उपमहानगरपालिका-२ मा पनि बर्डफ्लु पुष्टि भएको छ । गत साता उक्त स्थानमा व्यावसायिक कुखुरा फार्ममा बर्डफ्लु पुष्टि भएको भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र हेटौंडाले जनाएको छ । हेटौंडा-७, नागस्वती र हेटौंडा-१८ हर्नामाडी क्षेत्रमा व्यावसायिक कुखुरा फार्ममा बर्डफ्लु पुष्टि भएको हो । उक्त क्षेत्रबाट कुखुरा छ हजार, अण्डा ११ हजार पाँच सय ९६, दाना तीन बोरा नष्ट गरिएको बताइएको छ ।

त्यसैगरी पूर्वी चितवनको खैरहनीमा रहेको अन्नपूर्ण पोल्ट्री ब्रिडर्स फार्म प्रालिको एक लाख १६ हजार कुखुरामा बर्डफ्लु पुष्टि भएको छ । खैरहनी नगरपालिका–१ ज्यामिरेमा रहेको उक्त फार्ममा गरिएको दु्रत परीक्षणमा संक्रमण देखिएपछि थप परीक्षणका लागि नमुना काठमाडौं पठाइएको थियो । फार्मका सञ्चालक सुमा अर्यालका अनुसार फुल अटोमेसन क्लोज हाउसमा पालिएका लेयर्स कुखुरामा संक्रमण देखिएको हो । बर्डफ्लु देखिएसँगै कुखुरा, अण्डा, दाना, क्रेट, कार्टुनलगायतका सामग्री नष्ट गरिएको छ । बर्डफ्लुका कारण प्रत्यक्ष, अप्रत्यक्षरूपमा झण्डै २५ करोडको नोक्सानी भएको अर्यालले बताउनुभएको छ । २० वर्षअघिदेखि उच्चतम प्रविधि अपनाएर कुखुरापालन गर्दै आउनुभएका अर्यालले पोल्ट्री व्यवसायमा ७० करोडभन्दा बढी लगानी गरिसक्नुभएको छ । भेटेनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र भरतपुरका प्रमुख सुशील केसीका अनुसार देशभरमा बर्डफ्लुका कारण सबैभन्दा बढी नोक्सान चितवनमा भएको छ । माघ २८ गते पहिलोपटक पूर्वीचितवनको राप्ती नगरपालिकामा देखिएको बर्डफ्लु हाल जिल्लाभर फैलिएको छ ।

कुखुरामा बर्डफ्लुको संक्रमण थाहा पाउने पहिलो विधि हो र्‍यापिड टेस्ट । उक्त टेस्टको सुविधा विभिन्न क्षेत्रमा अवस्थित क्षेत्रीय प्रयोगशालामा रहेको छ । पोल्ट्री फार्म वा घरमा पालिएका कुखुरामा र्‍याल-सिंगान काढ्ने, लोती सुन्निने, लोती र सिउर हरियो हुने, डाइरिया हुने लक्षण देखा परी अप्रत्यासितरूपमा कुखुरा मर्न थाले भने पशु चिकित्सक वा प्राविधिकलाई खबर गरिहाल्नुपर्छ । मरेका कुखुरालाई नांगो हातले छुनुहुँदैन, खोरमा जाँदा माक्स र ग्लोब लगाएर जानुपर्छ र फर्किएपछि राम्ररी साबुनपानीले हात धुनुपर्छ ।

कुखुराबाट चाँडै मानिसमा पनि सर्न सक्ने भएकाले मानव स्वास्थ्यका लागि पनि खतरापूर्ण रहेको छ । त्यसैले सावधानीमा अपनाउनुपर्छ । घरपालुवा पन्छी हाँस, कुखुरा आदिलाई जंगली तथा अन्य चराहरूको सम्पर्कमा आउन नदिने, सम्पूर्ण पन्छीपालक किसानले फार्म परिसरमा नियमितरूपमा निःसक्रमणका साथै व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिने, पक्षी तथा पक्षीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्यरूपमा स्वास्थ्य परीक्षण गरी भेटेरीनरी प्रमाणपत्र लिएरमात्र गराउने, कुनै पनि पक्षी फार्ममा अस्वाभाविकरूपमा पक्षी बिरामी परेमा वा मरेमा तत्काल नजिकको पशु सेवा निकायमा जानकारी गराउने, फार्मनजिक जैविक सुरक्षाका विधि अवलम्बन गर्ने, खोरमा काम गर्दा आवश्यक मास्क, पञ्जा तथा बुट लगाउने, काम सकेर निस्किने बेला राम्ररी सरसफाइ गरेरमात्रै जाने, चल्ला र दाना खरिदकर्ताले स्वास्थ्य प्रमाणित गराए वा नगराएको हेर्ने, व्यवसायीले दानालगायतका सामग्री सँगसँगै कुखुराको ओसारपसार नगर्नेलगायतका सावधानी अपनाउनुपर्ने पशु सेवा विभागले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?