शुक्राचार्यको नीतिमा राज्यकोशको धारणा

Read Time = 13 mins

✍️ स्वयम्भुनाथ कार्की
सनातनमा धेरै विचारकहरू नीति निर्माताहरू, गुरुहरूको उल्लेख पाइन्छ । उनीहरू सबैको अआफ्नो नीति छ । देवगुरु बृहस्पति र दैत्यगुरु शुक्राचार्य दुई विपरीत सभ्यता तथा परम्परा मान्ने सम्प्रदायका गुरुहरू हुन् । देवता र दैत्य सम्प्रदाय विपरीतमात्र होइन एक अर्काका शत्रु पनि हुन् । बृहस्पति जसरी देवताहरूको हितको निमित्त प्रयत्नशील रहे शुक्राचार्य पनि दैत्य हितको निमित्त त्यत्तिकै प्रयत्नशील रहे ।
कतिपय अवस्थामा त शुक्राचार्य कौशल, ज्ञान आदिमा बृहस्पतिभन्दा श्रेष्ठ देखिन्छन् । पौराणिक कथाहरूमा शुक्राचार्यको उपदेश पालन गरुञ्जेल दैत्यले देवतामाथि विजय प्राप्त गरेका छन् र उनीहरूमाथि राज गरेका छन् । तर, जब कुनै दैत्यराजले आफ्नो शक्तिको दम्भमा शुक्राचार्यको उपदेशको अवहेलना गर्छ उसको त्यो रजगज समाप्त हुन्छ । उसलाई देवताहरूले फेरि पराजित गर्दछन् । यस आशयका प्रसस्त पौराणिक कथाहरू प्रचलनमा छन् ।

बृहस्पति र शुक्राचार्य यस अर्थमा एक अर्काका विरोधी हुन् । सामान्यतया विरोधीहरूको हरेक कुरा विपरीत हुन्छ होला भन्ने मान्यता राखिन्छ । दैत्यको जति पनि अत्याचारका कथा छन् तिनीहरूमा शुक्राचार्यको ज्ञान उपदेश होला भन्ने सोच हुनु अनौठो होइन । तर, शुक्रचार्यले प्रतिपादन गरेको नीतिमा अन्यायी, अधर्मी, जनतापिडक राज्यको कल्पना छैन । लोककल्याणकारी राज्यको अवधारणा उनका नीतिमा पाइन्छ ।

यस मामिलामा देव निकट नीति प्रतिपादकहरू र शुक्राचार्यमा विरोध छैन । दुवैले राजा अर्थात् शासक प्रजापिडक हुनुहुन्न भन्ने कुरामा जोड दिएका छन् । शुक्रनीतिको चौथो अध्यायको पहिलो प्रकरणको अन्तमा शुक्राचार्य भन्छन ‘प्रजाको साथ धर्मपूर्वक व्यवहार छोड्ने वित्तिकै ऊ राजा रहन सक्दैन’ । यही आशय विदुर नीति, भिष्मको राजधर्म जस्ता नीतिमा पनि उल्लेख गरिएको छ ।

ऋषिहरूसँग बलपूर्वक करको रूपमा लिइएको रगतबाट सीता उत्पन्न भइन् । तिनै सीता रावणको मृत्यु र लंकाले भोग्नुपरेको कष्टको कारक भइन् । आफ्नो राज्यक्षेत्रमा बस्ने जसले पनि आफूलाई कर बुझाउनै पर्दछ भन्ने रावणको मान्यतामा शुक्रचार्य प्रतिपादित शुक्र नीतिको समर्थन पाइन्न । कोशको बारेमा शुक्र नीति के भन्छ ? यो नै यस प्रस्तुतिको विषय हो । कोशको बारेमा शुक्रनीतिको चौथो अध्यायको दोस्रो प्रकरणमा केही उल्लेख छ । २४ श्लोकमा रहेको कोश निरूपण प्रकरण छ । यसमा कोशको परिभाषा, कोेशको नैतिक वर्गीकरण, शुल्क, कर, दण्ड आदिको नीति उल्लेख छ । साथै शुल्क, कर, दण्ड आदिको सीमा निर्धारण पनि गरिएको छ ।

शुक्रनीति अनुसार कुनै एक समान वस्तुहरूको संग्रहित समूहलाई कोश भनिन्छ । जस्तो अन्नहरूको संग्रह अन्नकोश, रत्नहरूको संग्रह रत्न कोष, नगद वा मुद्राहरूको संग्रह मुद्राकोश । यस प्रकारका अनेकौं कोशहरू हुन सक्छन् । शस्त्रअस्त्र कोश, औषद कोश, वस्त्रकोश आदि सबै कोष हुन् । पछि कौटिल्यले पनि बृहस्पति अनि शुक्राचार्यलगायत आफूभन्दा पहिलेका आचार्यहरूका मतहरूलाई समेटेर कौटिल्यको अर्थशास्त्र रचना गरेका छन् । त्यसमा यस्तै विभिन्न कोशको उल्लेखमात्र होइन त्यस्ता कोशहरूको अलग अलग अध्यक्षको प्रवधान पनि गरेका छन् ।

ती अलग अलग कोशका अध्यक्षहरूमा चाहिने योग्यताको पनि उल्लेख गरिएको छ । संक्षेपमा भन्ने हो भने यी सबै कोशहरू राज्यले निर्धारण गरेको शुल्क, कर, दण्डलगायतबाट निर्माण हुने हो । यसमा थप राज्यको सम्पतिको परिचालनले गरेको आर्जन पनि जोडिन्छ । कोशलाई नैतिक आधारमा सुखदायी र दुःखदायी भन्ने दुई वर्गमा विभाजित गरेका छन् । नैतिक बन्धन दह्रो बनाउन परत्रको राम्रो हुने कि नारकीय हुने कुरा उल्लेख गरिएको छ ।

यसअनसुार जुन कोश सेनाको, प्रजाको कल्याणको निमित्त प्रयुक्त हुन्छ वा त्यसको निमित्त संग्रह गरिन्छ । त्यसलाई शुक्रनीतिले सुखदायी कोश भन्ने वर्गीकरण गरेको छ । यसमा यज्ञ आदि धर्मार्थ उपयोग पनि कोशलाई सुखदायीको श्रेणीमा राखिएको छ । जुन कोशको प्रयोजन निजी अतिरिक्त सुखभोग हुन्छ वा त्यसमा उपयोग गरिन्छ त्यसलाई दुखदायी कोश भन्ने वर्गीकरण गरेको छ । यसले के शासकले राज्यकोश उपभोग नै गर्न हुँदैन त भन्ने प्रश्न पनि पैदा हुन्छ ।

न्यायपूर्ण दरमा लगाएको शुल्क, कर अनि उचित दण्डबाट निर्माण भएको कोशले जनताको, सेनाको कल्याण, यज्ञ सुचारु रहोस् । अनि त्यसैको अनुपातमा शासकले उपयोग गरोस् तब कोश यो दोषबाट मुक्त छ । केवल शासकको उपयोगको निमित्त कोश बढाउन अन्यायपूर्ण दरमा लगाइने शुल्क, कर यो दोषयुक्त छ । अनुचित दण्ड जो अपराधको अनुपातमा हुँदैन त्यसभन्दा ज्यादा हुन्छ त्यो पनि दुःखदायी कोश निर्माण गर्ने हुन्छ ।

सामानको खरिद बिक्रीमा लिइने शुल्क हो । यस्तो शुल्क केवल एक पटक लिइनुपर्दछ । एकै वस्तुमा अनेक बाहनामा बरम्बार शुल्क लिइनु हुँदैन । यो शुक्रनीतिले प्रतिपादन गरेको सिद्धान्त हो । यो वस्तुको मोलको ३२औं भाग लिइनुपर्दछ अर्थात् मूल्यको ३ दशमलव १२५ प्रतिशत । मूलधन कटाएर नाफाकोे बीसौं भाग अर्थात् ५ प्रतिशतदेखि सोह्रौ भाग अर्थात् सव ६ प्रतिशत शुल्क लिनुपर्दछ ।

यदि परल मूल्यमै वा त्यसभन्दा कममा बिक्री भएको अवस्थामा कुनै शुल्क लिइनु हुँदैन । यस्तोमा यदि क्रेतालाई भने लाभ हुने रहेछ भने त्यो लाभको शुल्क क्रेताबाट लिइनुपर्दछ । शुक्र नीतिको यो भनाइअनुसार हमेशा व्यापारिक लाभमा शुल्क लिइनुपर्दछ । त्यो लाभ बिक्रेतालाई भएन र क्रेतालाई पनि भएन भने कुनै शुल्क लिइनु हुँदैन । यदि क्रेतालाई लाभ देखिएमा त्यो शुल्क क्रेताबाट अशुल गरिनुपर्दछ ।

उत्पादनमा या आम्दानीमा लिइनेलाई शुक्र नीतिले कर मानेको छ । व्यापारको लाभ अर्थात् आम्दानी, आर्जन गरेको ब्याज आदिमा आर्जनको ३२औं भाग अर्थात् ३.१२५ प्रतिशत कर लगाइनुपर्दछ । सबै प्रकारको भूमि उपयोगमा खेती प्रयोजनको निमित्त निर्धारण गरेको दरले नै कर लगाइनुपर्दछ । यात्रीबाट मार्ग सफाइ, सुरक्षा आदिको निमित्त पनि कर लिन सकिन्छ । यसरी शुल्क तथा कर ग्रहण गरिसकेपछि राजा अर्थात् शासकले नोकरले जस्तो उनिहरूको रक्षा गर्नुपर्दछ । कसुर अनुसारको दण्ड जरिवाना लिने काम राज्यमा न्याय स्थापना गर्ने आधार हुन् ।

यसबाहेक राजा अर्थात् शासनले कुनै पनि अन्य किसिमले प्रजा अर्थात् जनताको धन हरण गर्न हुँदैन । यो सामान्य नागरिकको या जनताको निमित्त निर्धारण गरिएको व्यवस्था भयो । तर, अन्यायपूर्वक धनार्जन गर्ने अनि धन कुमार्गमा खर्च गर्ने अर्थात् अपराध प्रवर्धन गर्न खर्च गर्नेको निमित्त अलग व्यवस्था छ । त्यस्ताको सर्वस्व हरण गर्नपर्ने कुरा शुक्र नीतिमा उल्लेख छ । योमात्र होइन कुनै राज्यको शासक अधर्मशील छ भने त्यस्तो राज्यको धन पनि कल, छल, बल हर सम्भव उपाय लगाएर खोस्नु पर्दछ भन्ने कुरा पनि उल्लेख छ । विशेष संकटको अवस्थामा आफ्ना राज्यका धनीहरूसँग बलात धन लिन हुन्छ तर त्यसलाई पछि ब्याजसहित फिर्ता गर्ने प्रतिज्ञा गरिएको हुनुपर्दछ । त्यस संकटबाट मुक्त हुने बित्तिकै आफूले कबोल गरेको ब्याजसहित त्यो धन फिर्ता गरिनुपर्दछ ।

यसै गरेर संकटको समयमा शुल्क, कर, दण्ड, जरिवानाको दर बढाएर लिन पनि अनुचित हुँदैन । यस्तो वृद्धि भने अस्थायी हुनु पर्दछ । अर्थात त्यो संकट समाधान हुने बित्तिकै दर फेरि सामान्य अवस्थामा कायम गरिनुपर्दछ । अनि कोश सञ्चालन बारेमा पनि व्यवस्था गरिएको छ । कोशको रक्षा कन्जुसले जस्तो गरेर गर्नुपर्दछ । नचाहिँदो खर्च गरिनु हुँदैन तर जब आवश्यक पर्ने समय आउँछ बैरागीले जस्तो खर्च गर्नुपर्दछ । यहाँ बैरागी भन्नाले त्यस्ता व्यक्तिलाई भनिएको हो जो धन, सम्पत्ति केही कुराको मोह राख्दैनन् ।

आपूmसँग भएको धन र बेकारको वस्तुमा कुनै फरक गर्दैनन् । खर्च गर्नुपर्ने कारण नहुँदा कोशको रक्षा एक कञ्जुसले जस्तो गर्नु, आवश्यकतामा कोशलाई बैरागीले जस्तो खर्च गर्नु भन्ने भनाइ शुक्र नीतिको हो अर्थात् मौकामा हीरा फोर्नु बेमौकामा कौडी नछोड्नु ।

केही कार्यनीतिबाहेक सैद्धान्तिक रूपमा शुक्राचार्य अरूभन्दा फरक छैनन् । सबै आचार्यहरूले परिकल्पना गरेको असल राजा र राज्य लोककल्याणकारी राज्यकै रूपमा भेटिन्छ । यसको विपरीत राजा र राज्यको अवधारणालाई राम्रो मानिएको छैन । शुक्राचार्यको यो प्रवन्धमा अरूले भन्दा ज्यादा राज्यकोशलाई जनताको सम्पत्ति मानेको छ । शासकको, राज्यको आम्दानी बढाउन करको दर वा दायरा बढाउने कुरालाई सनातनका सबै नीतिकारले अनुचित मानेको छन् । राज्यको आम्दानी बढाउने एकमात्र उचित उपाय जनताको आम्दानी बढाउनु हो । जनताको आम्दानी बढेको अनुपातमा राज्यको ढुकुटी आफैँ बढ्छ भन्ने मान्यता सनातनको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?