जीवनका बहुआयामिक मोडहरू

Read Time = 15 mins

✍️ अच्युतप्रसाद पौडेल ‘चिन्तन’
भनिन्छ आदर्श जीवन तर जीवन भइरहेको हुँदैन ! सपना देख्ने धेरै हुन्छन्, साकार, सुकर्म गर्ने कम, उपदेश दिने धेरै तर उदाहरण बन्ने कम, संसारको नियति अंग्रेजीमा उखान छ दश उपदेशभन्दा एक उदाहरण ठूलो हो । व्यक्तिमा विवेक छैन भने नियम, कानुन, ऐन, संविधानले के काम गर्छ ?

संविधान कोर्दैमा समृद्धि दिने भए ७२ वर्षमा हामीले ७ थान संविधान बनाएछौं तर खोइ त समृद्धिको यात्रा ? चुनाव हुने अघिल्लो दिन नै एयरपोर्टमा विदेश जाने नेपालीको टिठलाग्दो लर्को, यही त हो हामीले पाएको प्रगति । पहिले मानिस रैति थिए, पछि जनतासम्म भए, नागरिक हुनत धेरै प्रयत्न गर्न बाँकी छ । दर्शन त अमूर्त हुन्छ जीवनदर्शन बुझ्न व्यावहारिक हुन जरुरी छ । दर्शनको चित्रलाई ज्ञानले हेर्ने र ज्ञानले विज्ञानलाई हेर्नुपर्ने हुन्छ । विज्ञानको दुरुपयोग गर्ने धेरै छौं हामी । सायद कोरोना त्यसै आएन, यसले विज्ञानलाई अत्याइदिएकै हो ।

कुनै पनि उपदेश र अर्तीले भान्सा तयार हुँदैन, यसलाई सरसामग्री चाहिन्छ, जुन आपैंm बन्दैन, फल्दैन, श्रम, मिहिनेत गर्नुपर्छ । जीवन कुनै उपन्यास होइन यो त यथार्थको कथाव्यथा हो, सर्जक कल्पनाले आकाशको तारा खसाल्छन् तर यथार्थमा संसार अर्कै हुन्छ, बाहृय आँखाले संसार देखिन्न, भित्रीआँखाले हेर्नुु पर्छ । आफ्नो आँखाले भन्दा अरूको आँखाले संसार, समाजलाई जुन दिन हेर्न सकिन्छ, यसै दिनदेखि जीवन परिवर्तन हुन्छ । जुन खाना खाएर शरीर बलियो हुन्छ त्यही खाना भोलिपल्टै कुहिन्छ, सडेर गल्छ, त्यही खानाको रसले पुष्ट भएको शरीर कसरी नित्य होला ?

गरुड पुराणले स्पष्ट भनेको छ मानिस घमण्ड गर्छ तर बाँसलाई ननिहुरी सुख छैन । दूध उम्लिएपछि पोखिन्छ, गाडी, घोडा भए पनि अस्पताल जाँदा एम्बुलेन्स र हृवील चेयर चाहिन्छ, महँगा कपडा लगाइन्छ तर अस्पतालको बेडमा लाज छोप्दा त्यहीँको गाउन चाहिन्छ, निजी विमान या गाडीले काम गर्दैन । घाटमा जाँदा सबै उतारिन्छ, सुन, गहनागुरिया रहेछन् भने निकालिन्छ, सजिलै आएन भने औजार प्रयोग गरिन्छ । मलामीहरू हुलका हुल जान्छन् घाटसम्म तर देख्नेले मलामी त के लगाएको कात्रो पनि देख्दैन, पत्रपत्रिकामा ठूलै अक्षरले समवेदना भनिन्छ तर जानेले त्यो देखेकै हुँदैन ।

ठूलो पद र कार्यालय छोडेपछि कसले गन्छ, सुनौलो परिचयपत्र त्यतै अल्मलिन्छ, पैसा घरभित्रै हुन्छ, प्रतिष्ठा समाजभित्र मात्रै, मरेको भोलिपल्टै दुई दिन भनी गन्न थालिन्छ, पाँचतारे होटलको खाना खानेलाई पनि अन्त्यमा तुलसीपानी खुवाइदिन्छन्, पकाएको पानी जुठो हुन्छ भन्दै नपकाई मुखमा हालिदिन्छन्, । जग्गाजमिन थुप्रै भए पनि अन्त्यमा सुत्दा चाहिने साँढे ३ फिटको जमिन मात्रै हो । त्यसैले जीवनको साँचो अर्थ विज्ञानले होइन विद्याले दिन्छ, विद्या त्यही हो जसले जीवनलाई जीवन्त बनाउँछ, विज्ञानले जीवनलाई सजिलोमात्रै बनाएको हो, मृत्युनिवारण सम्भव छैन बरू सुधारण सम्भव छ । पशुपन्छीका अंग मरेपछि काम दिन्छ मानिसको शरीरले दिँदैन ।

दर्शन शब्दको अर्थ देख्नु हो । संसारलाई देख्नु नै दर्शनको मुख्य सार हो । अंग्रेजी भाषामा दर्शनलाई फिलोसफी भनिन्छ । यहाँ फिलो र सफियाको अर्थ ज्ञान भन्ने बुझिन्छ । पश्चिमी दर्शनको पनि अन्तिम आधार ज्ञान नै हो र परमतत्व वा परम सत्यलाई जान्नु नै दर्शन भनिएको छ । दर्शनशास्त्र गहन बौद्धिक शास्त्र हो । यसबाट मानिसले सम्पूर्ण विश्वज्ञानलाई समष्टिगत रूपमा एकैपटक बुझ्न पाउँछ । सोसियो साइन्सबाट यो शब्द निर्माण भएको र यसको अर्थ जान्नु हो ।

विज्ञानको अर्थ ठीक ज्ञान प्राप्त गर्नु हो । दर्शनको उद्देश्य पनि ज्ञान प्राप्त गर्ने नै हो । फरक यति हो, विज्ञानबाट भौतिक लाभ र दर्शनबाट आध्यात्मिक लाभ प्राप्त हुन्छ । धर्मको उद्देश्य आत्माको शक्ति हो र दर्शनको उद्देश्य सत्यको खोजी हो । धर्मको उद्देश्य सत्यको खोजी, ज्ञान प्राप्ति हो । धर्मको स्वरूप भने सेवा नै हो । पूर्वीय दर्शनका विभिन्न स्वरूप छन् । सांख्य, योग, न्याय, वैशेषिक, मिमांशा, वेदान्त आदि । यी सबै आस्तिक दर्शन हुन्, नास्तिकमा चार्वाक, बौद्ध र जैन दर्शन छन् ।

पश्चिमी दार्शनिक, अन्वेषकहरूमा- डा. फ्राइड, डा.युंग, एडलर हेलफिल्ड, डा.ब्राउन आदि छन् । अठारौं शताब्दीका प्रख्यात पाश्चात्य दार्शनिक लेविनिजले यस संसारलाई परमाणुद्वारा बनेको भने । परमाणुलाई उनले मोनाण्ड नामकरण गरे । यसैलाई चित् अणु भनिन्छ । प्रसिद्ध वैज्ञानिक ग्यालिलियोले गणितीय सिद्धान्तअनुसार प्रकृति असंख्य अणुद्वारा बनेको छ भने । पदार्थको बिस्तार यसैबाट भएको हो, यसमा आकर्षण शक्ति हुन्छ जसले गर्दा नै सम्पूर्ण ब्रहृमाण्ड, ग्रह, तारा, नक्षत्र आदि सञ्चालित भएका छन् । गुरुत्वाकर्षणको सिद्धान्तले हामी बस्ने पृथ्वी अडेको छ ।

न्युटनको यो सिद्धान्त गुरुत्वबल पूर्वीय वैशेषिक दर्शनमा यसअघि नै प्रतिपादित थियो । पूर्वीय दर्शनमा यस्ता धेरै सिद्धान्तहरू छन् । विज्ञानले प्रतिपादन गरेको सिद्धान्त आवाज एक माध्यमबाट अर्को माध्यमसम्म फैलिएर जान्छ भन्ने मर्म पूर्वीय न्यायदर्शनमा पाइन्छ ।
संस्कृति भनेको मानवको सम्पूर्ण चरित्र हो । पूर्वीय धर्म दर्शनमा ऋग्वेदको आरम्भदेखि नै मानव जीवन स्वस्थ र सन्तुलित हुनुपर्ने संकेत भएको छ । स्वस्थ जीवनबाटै स्वस्थ समाज निर्माण हुन्छ । स्वस्थ, सन्तुलित, चारित्रिक, सभ्य नागरिक समाजबाट देशप्रेम र ईश्वरीय चिन्तनसमेत हुन पुग्छ । अरूलाई नदिई स्वयंले मात्र प्रयोग गरेको अन्न विषतुल्य हुन्छ भन्ने वाक्यांशले पूर्वीय मानव जीवनको संस्कृति, सभ्यता र पुण्यकर्मको सन्देश मिल्छ ।

पूर्वीय दर्शन वैज्ञानिक छ । कुनै व्यक्तिविशेषले भावावेगमा यो तयार पारेको होइन, सम्पूर्ण संसारको विधि, विश्लेषण गरिएका चिन्तनका विषयवस्तुमध्ये जीव र जगत्को सञ्चालक, मनको ज्ञाता, बिम्बअनुरूप जगत् प्रतीत हुने र बिम्बअनुरूप नै कार्य हुने भएकाले हरेक कार्यहरूको उद्गम स्थलमानव मन हो ।

जीव उत्पतिको कारण, कर्म र संस्कार, बन्धन र मोक्ष, पुनर्जन्म र सिद्धि, स्वप्न र निद्रा, रोग र तनाव, शान्ति र अशान्ति, स्मरण र विस्मृति, सन्तोष र आनन्द, त्रास र भय, चरित्र र पतन, वासना र मूर्खता, उत्साह र सफलता, शान्ति र आनन्द, योग र ध्यानविकास र विनाश द्वन्द्व र कलहका मूल कारक तत्व मन नै हो । सिद्धि, सुख, शान्तिका लागि पूर्वीय वैदिक चिन्तनलाई हामीले सदैव मनन गर्न सके हामी, हाम्रो जीवन र जगत् सबै राम्रो हुन्छ ।

परमार्थ चिन्तन, तप, ध्यान र साधनाबाटै गौतम बुद्धलाई सिद्धि मिलेको हो । नैयायिकहरूले भनेका छन्–मन नै सुख दुःखको कारण हो । पूर्वमिमांशा सांख्यदर्शनमा मन र आत्मालाई विभु भनिएको छ । विभु वा प्रज्ञा भन्नु जीवनको यथार्थ ज्ञान हो । हाम्रो मूलुक देवभूमि हो । हरेक युगमा यसको वर्चश्व कायम छ । सत्य, त्रेता, द्वापरदेखि करिब ५ हजार १ सय २३ वर्ष पुरानो कलियुग आरम्भदेखि नै यो तपोभूमिकै रूपमा रहेको छ ।

सत्ययुगमा यस क्षेत्रको नाम ‘सत्यपुरी’, त्रेतामा ‘तपोवन’, द्वापरमा ‘मुक्तिपुर’ र कलिमा यसलाई ‘नेपाल’ भनिन्छ । सात्विक यथार्थलाई आत्मसात् गर्दा ने मुनिले धर्मद्वारा बसालेको नेपाल नगरी आपैंmमा देवभूमि हो । विश्वकै शिरभाग सगरमाथा र शिवपुरी, पशुपतिनाथ हाम्रो ठूलो पुण्यको फल हो । उद्योगविनाको दिन तथा परिश्रमविनाको जीवन पवित्र हुनै सक्तैन । पूर्वीय दर्शनलाई सदैव बोकिरहने हामीले भौतिक जगत् भन्नु क्षणिक सुखको अनुभूतिमात्र हो भन्ने दृढ संकल्पका साथ अध्यात्म जागरण अभियानमा लाग्नुपर्छ । यो हाम्रो माौलिक संस्कृति पनि हो ।

शरीरभित्र रहेको शुद्ध, चैतन्य र परमात्माको अंशआत्मासँग नजिक रहने विद्या नै अध्यात्म सागर हो । पानीविनाको विजुली कल्पना गर्न नसकिए झैं अध्यात्मविनाको भौतिक संसार शून्य छ । जीव, जीवात्मादेखि सारा संसारका रचयिता परमेश्वरप्रतिको स्नेहको गाँठो बलियो पार्ने विचार नै अध्यात्म चिन्तन हो । स्थूल शरीरको सुख, सूक्ष्म शरीर मन र कारण शरीर आत्माको विश्लेषण गरी जीवन र जगत् अनि जगदीश्वरको साकार तथा निराकार चिन्तन विद्या नै अध्यात्म विद्या हो ।

अध्यात्म विद्यासँग रहेको पूर्वीय संस्कृतिले यस विद्यालाई सागरतुल्य गहिराइमा र आकाशतुल्य अनन्तमा फैलाइदिएका छन् । खहरे, खोला, नदीहरूले परम गन्तव्य सागरमा पुग्ने लक्ष्य लिएझैँ हर मानवले परमेश्वरसम्म पुग्ने दृढ संकल्प सदा नै लिइरहनुपर्छ । अध्ययन भन्नु आकाशमा चम्किने सूर्यजस्तै हो विलियम शेक्सपियरको भनाइमा । वेदले पनि आत्मा अमर छ र सूर्यरूपी आत्मा नै जगतको मालिक परमात्माको अभिव्यक्ति हो भनेको छ ।

असत्य भाषण ठूलो पाप हो । अरूको निन्दा, तिरस्कार र अपमान अझ ठूलो पाप हो अनि आफ्नै स्वजातीय र आफन्तको निन्दा गर्नु जघन्य पाप हो । पूर्वीय संस्कृतिमा वेदलाई ईश्वरको बोली भनिएको छ । पैल, जैमिनी, वैशम्पायन, सान्दिपिनी, याज्ञवल्क्य, पाणिनी, पतञ्जलि, व्यास, बुद्ध, जनकले अध्यात्म ज्ञान सिंचन गरेको मूलुक नेपाल विधर्मी कसरी हुन्छ ? सत्यं वद, धर्मंं चर स्वाध्यायान् माप्रमद, कामं क्रोधञ्चजहि को मूलमन्त्रले वाल्यवस्थादेखि नै सदाचार मातृपितृभक्ति, गुरुभक्ति, देशभक्ति, आफूभन्दा ठूलाको सम्मान, ईश्वरप्रति आस्था, सानाप्रति दया र स्नेह भावले नै व्यक्ति, समूह र राष्ट्रप्रति जिम्मेवार हुन सकिन्छ ।

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?