भारतीय प्रधानमन्त्री मोदी आज लुम्बिनी आउँदै, ६ घण्टा लुम्बिनीमा बिताउने, विहारको शिलान्यास हुँदै

Read Time = 13 mins

गोविन्द लुइँटेल/हिटा
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज (सोमबार) ६ घण्टाको लागि नेपाल आउँदै हुनुहुन्छ । उहाँ शान्तिका अग्रदूत, एशियाका तारा भगवान् गौतम बुद्धको २५६६औँ जन्मत्सोवका अवसरमा लुम्बिनी आउन लाग्नुभएको हो । भारतीय प्रधानमन्त्रीको रूपमा मोदीको यो पाँचौँ नेपाल भ्रमण हो । मोदी सोमबार सिधै लुम्बिनी आएर त्यहीँबाट सोही दिन स्वदेश फर्कने कार्यक्रम रहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा बुद्ध जयन्तीको अवसरमा लुम्बिनीमा आयोजना गरिने एक विशेष समारोहमा सहभागी हुन उहाँ नेपाल आउन लाग्नुभएको हो ।

पूर्व-निर्धारित कार्यक्रमअनुसार प्रधानमन्त्री मोदी भारतीय वायु सेनाको विशेष हेलिकप्टरबाट सोमबार बिहान ११ बजेतिर लुम्बिनी आउँदै हुनुहुन्छ । लुम्बिनीमा अवतरण गरेपछि प्रधानमन्त्री मोदी सिधै मायादेवीको मन्दिर जाने कार्यक्रम रहेको छ । त्यहाँ दुवै देशका प्रधानमन्त्री प्रार्थनामा सहभागी हुनुहुनेछ । साढे ११ बजे मोदी त्यहीँ आयोजना गरिने भूमि पूजा कार्यक्रममा समेत सहभागी हुने जनाइएको छ ।

यस्तै, मोदीले लुम्बिनीमा बौद्ध संस्कृति र सम्पदा केन्द्रको शिलान्यास गर्ने कार्यक्रम छ । पूजा र शिलान्यासको काम सकेपछि उहाँ लुम्बिनीमा रहेको पवन इन्टरनेसनल होटलमा जानुहुनेछ । त्यहाँ उहाँलाई परराष्ट्रमन्त्री डा. नारायण खड्काले शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । त्यसपछि साढे १२ बजे प्रधानमन्त्री देउवा र मोदीबीच भेटवार्ता गर्ने कार्यक्रम तय छ । दुई देशका प्रधानमन्त्रीको भेटवार्ता सकिएपछि नेपाल–भारत द्विपक्षीय उच्चस्तरीय कूटनीतिक बैठक हुने स्रोतले जनाएको छ ।

यस्तै, बैठकपछि प्रधानमन्त्री देउवाले भारतीय समकक्षी मोदीको सम्मानमा दिवा भोजको आयोजना राख्नुभएको छ । त्यसपछि मोदीले त्यहाँ केही उच्चस्तरीय व्यक्तिहरूसँग भेटवार्ता गर्ने बताइएको छ । सोमबार साढे तीन बजे उहाँले बुद्ध जयन्तीको अवसरमा आयोजना गरिएको विशेष समारोहलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सम्बोधनपछि साँझ ५ बजे प्रधानमन्त्री मोदी स्वदेश फर्कने जनाइएको छ ।
मोदीको स्वागत गर्नदेखि बुद्धजयन्ती समारोह मनाउन परराष्ट्र मन्त्रालय, प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयदेखि शिक्षा मन्त्रालयसम्मका मन्त्री सचिव र कर्मचारीको जम्बो टोली लुम्बिनी पुगिसकेको छ ।

सरकारले बुद्धजयन्ती पर्व वर्षैपिच्छे औपचारिक रूपमा मनाउने गरे पनि बुद्धको दर्शन समाजमा फैलाउन नसकेको गुनासो बढ्दै गएको छ । बुद्ध दर्शन अनुरूपको समाज निर्माण गर्न र उहाँको जन्मभूमिको विकास गर्दै संसारभरका मानिसहरूको आकर्षणको केन्द्र बनाउन पर्याप्त ध्यान नदिएको जानकारहरू बताउँछन् । त्यसमा राज्यले ठूलै मूल्य चुकाएको देखिएको छ ।

त्रिभुवन विश्वविद्यालय केन्द्रीय बौद्ध अध्ययन विभागका प्राध्यापक गौतमवीर बज्राचार्य लुम्बिनीमा सरकारले बुद्धजयन्ती मनाउनेबाहेक खास काम केही नगरेको गुनासो गर्नुहुन्छ । ‘विभिन्न विदेशीको सहयोगमा गुम्बा बनेको छ । ४४ वर्ष अगाडिदेखि अगाडि सारेको लुम्बिनी गुरुयोजना अलपत्र छ । बुद्धजयन्ती मनाउने र फगत कर्मकाण्डी काम मात्रै भइरहेको छ । यसले सच्चा बौद्ध अनुयायीहरूलाई र आम नेपालीलाई समेत दुःखी तुल्याएको छ । नेपालले बौद्ध दर्शन र शिक्षा फैलाउन अभियान सञ्चालन गर्नुपर्ने र नेपाली मौलिकता झल्कने गरी लुम्बिनीमा पूर्वाधारहरू निर्माण गर्नुपर्दछ । बुद्धको शिक्षा जीवनमा उतार्ने गरी समाज निर्माणमा ध्यान दिनुपर्छ,’ उहाँले भन्नुभयो । ‘गौतम बुद्ध जन्मेको स्थानमा बुद्धमय वातावरणसमेत छैन । लुम्बिनीको अस्तित्व मेटिने गरी संरचना धमाधम बनेका छन् । सरकारले वर्षमा एकपटक बुद्धजयन्ती मनाएर झारा टार्र्ने काम गरेको छ’ उहाँले थप्नुभयो । ‘बुद्ध भूमिमा बसेर हामीले बुद्ध धर्म के हो र बुद्ध को हो समाजमा उनको कति महत्व छ बुझाउन न विद्यालयले सकेको छ न त समाजले बुझ्न सकेको छ’, उहाँले भन्नुभयो ।

विशिष्ट अथितिको आगमनले लुम्बिनीमा आकर्षण थपेको छ । भारतमा बुद्ध जन्मेको भन्दै दाबी गरिए पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुद्धजयन्ती पर्वको अवसरमा नेपाल आउनुलाई बुद्धभूमि नेपाल नै हो भन्ने सन्देश दिन सघाउने प्राडा. ब्रजाचार्य बताउनुहुन्छ । संसारको आकर्षणको केन्द्र बन्न सक्ने बुद्धभूमि राज्यको उपेक्षा र बेवास्ताको सिकार बनिरहेको उहाँको गुनासो छ ।

ब्ुद्धभूमि लुम्बिनीको विकास तथा बुद्धको सन्देशबारे विश्वमाझ पुर्‍याउन सरकारको कामको गति सुस्त भएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश सुरभ श्रेष्ठ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘एउटा मन्त्रालयले तीनवटा क्षेत्रको जिम्मेवारी हेर्नु परिरहेको छ । बुद्धजयन्ती एकदिन मनाएर मात्रै हाम्रो दायित्व पूरा हुँदैन । ‘उहाँको शिक्षा दर्शनको अनुशरण गर्दै त्यो अनुरूपको समाज निर्माण गर्न पनि राज्यको दायित्व हो । त्यसमा सरकारको प्राथमिकता परेको छैन ।’

भारत-नेपालबीच प्रश्न उठिरहेका केही विषयमा समाधान खोज्ने उपयुक्त अवसर : आचार्य
भारतका लागि पूर्व–राजदूत नीलाम्बर आचार्य मोदीको लुम्बिनी भ्रमणले सांस्कृतिक र सामाजिक सम्बन्ध अझ गाढा बनाउन सहयोग पुग्ने बताउनुहुन्छ । ‘उहाँ आएका बेला भारत र नेपालबीच प्रश्न उठिरहेका केही विषयमा समाधान खोज्ने उपयुक्त अवसर पनि हो । त्यो मौका दुवै देशका नेतृत्वले गर्नेछन् ।’ उहाँले भन्नुभयो ।

समस्या समाधान गर्ने उपयुक्त मौका : उपाध्याय
भारतका लागि पूर्व-राजदूत दीपकुमार उपाध्याय मोदी लुम्बिनी आउँदा लुम्बिनीको महत्व अन्तर्राष्ट्रियस्तरमा बढाउन सहयोग पुग्ने बताउनुहुन्छ । लुम्बिनीको धार्मिक महत्वलाई बढाउन मात्रै नभई नेपाल र भारतको आपसी सीमा विवादका समस्या समाधान गर्ने उपयुक्त मौका हो । यसमा सार्थक परिणाम निस्कन्छ भन्ने आशा गर्न सकिन्छ ।’ नेपाल र भारतका प्रधानमन्त्रीले विश्व शान्तिका लागि उचित योगादन दिन प्रण गर्ने अवसर पनि हो । त्यसै रूपमा लिन सके बुद्ध जयन्तीका अवसरमा लुम्बिनीमा मोदीको उपस्थितिमा कार्यक्रम गरेको सार्थकता रहन्छ’, उहाँले भन्नुभयो ।

भारतले विगतमा बुद्ध भारतमा जन्मेको भन्दै दाबी गर्दै आए पनि मोदीले बुद्ध जयन्तीको अवसरमा लुम्बिनीमा आएर राष्ट्रिय पर्वमा सहभागी बन्नुले त्यस्ता विवाद अन्त्य भएको प्रमाण भएको उपाध्यायको तर्क छ । बुद्ध सर्किट तथा बुद्ध परिपथ निर्माण जस्ता अवधारणालाई साकार रूप लिने जस्ता विषयले अबका दिनमा प्राथमिकता पाउने आशा गर्न सकिने उहाँको भनाइ छ ।

२०७० मा अन्तर्राष्ट्रिय सम्मेलनमा प्रधानमन्त्री सुशील कोइरालाले एसियाका भारत, बर्मा, श्रीलंका, भुटान, नेपाल मंगोलिया हङकङ लगायतका देश समेटी बौद्ध परिपथ निर्माणको अवधारणा अगाडि सार्नुभएको थियो । उहाँको प्रस्तावलाई धेरै देशले समर्थन गरे पनि त्यसले साकार रूप पाउन सकेको छैन । मोदीले लुम्बिनी भ्रमणको पूर्व-सन्ध्यामा एक वक्तव्य जारी गर्दै जलविद्युत्, विकास, कनेक्टिभी लुम्बिनीलगायत क्षेत्रमा दुई देशबीच सहकार्य निरन्तर जारी रहने उल्लेख गर्नुभएको छ ।

उहाँले नेपालसँग भारतको सम्बन्ध अतुलनीय रहेको उल्लेख गर्दै भारत र नेपालबीच पुरानो सभ्यतादेखि नै जनस्तरको सम्बन्ध र सम्पर्क रहँदै आएको बताउनुभएको छ । ‘यसले हाम्रो निकट सम्बन्धको दिगो संरचना निर्माण गरेको छ,’ उहाँले वक्तव्यमा भन्नुभएको छ । उहाँले दुई देशबीच शताब्दीयौँदेखि झांगिँदै आएको सम्बन्धलाई यो भ्रमणले थप गहिरो बनाउने अपेक्षा लिएको पनि बताउनुभएको छ । उहाँले बुद्ध जयन्तीमा मायादेवी मन्दिर दर्शन गर्न इच्छुक रहेको उल्लेख गर्दै दसौँ लाख भारतीयहरूको पाइला पछ्याउँदै गौतम बुद्धको जन्मस्थल लुम्बिनीको पवित्र भूमिमा प्रार्थना गर्न पाउँदा आफूलाई सम्मानित महसुस गरिरहेको जनाउनुभएको छ ।

प्रधानमन्त्रीले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्दै
प्रधानमन्त्री शेरबहादुर देउवाले बुद्ध जयन्तीको अवसर पारेर भैरहवामा निर्मित दोस्रो अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थलको उद्घाटन गर्दै हुनुहुन्छ । चीन सरकारको सहयोगमा बनेको उक्त विमानस्थल प्रधानमन्त्री देउवाले उद्घाटनपछि आजदेखि सञ्चालनमा आउँदैछ । यो विमानस्थलमा अवतरण नगरेर भारतको कुसीमा अवतरण गरी हेलिकप्टरमार्फत भारतीय प्रधानमन्त्री मोदी लुम्बिनी आउनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?