भारतीय प्रधानमन्त्री मोदीको पहिलो लुम्बिनी भ्रमण : नेपालको प्रशंसा, नेपाल-भारतबीच ६ सम्झौता, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन, अरुण-४ भारतलाई

Read Time = 24 mins

अनिल क्षेत्री/हिटा
काठमाडौं । बुद्ध जयन्तीको अवसर पारेर भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पहिलोपटक लुम्बिनीको भ्रमण गर्नुभएको छ । एकदिने लुम्बिनी भ्रमणमा आउनुभएका मोदीले मायादेवी मन्दिर अवलोकन गर्नुका साथै विशेष पूजा पनि गर्नुभएको छ । भारतको कुशीनगरबाट इण्डियन एयर फोर्सको हेलिकप्टरमार्फत लुम्बिनीमा अवतरण गर्नुभएका मोदीको यो भारतबाट प्रधानमन्त्रीस्तर भएको पहिलो लुम्बिनी भ्रमण हो । मोदीको स्वागतका लागि प्रधानमन्त्री शेरबहादुर देउवा आइतबार नै लुम्बिनी पुग्नुभएको थियो । सोमबार बिहान १० बजेर ४० मिनेटमा भारतीय वायु सेनाको हेलिकप्टरबाट लुम्बिनीमा उत्रिनुभएका मोदीलाई प्रधानमन्त्री देउवा र मन्त्रीहरूले स्वागत गर्नुभएको थियो । लुम्बिनीस्थित अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन केन्द्र अगाडि तयार पारिएको हेलिप्याडमै पुगेर प्रधानमन्त्री र मन्त्रीहरूले मोदीलाई स्वागत गर्नुभएको हो ।

पहेँलो कुर्ता पहिरनमा मोदीले हेलिकप्टरबाट उत्रिएलगत्तै सञ्चारकर्मी र उपस्थित व्यक्तिलाई हात उठाएर अभिवादन गर्नुभयो । मोदी लुम्बिनीमा उत्रिएलगत्तै मायादेवी मन्दिरमा दुवै प्रधानमन्त्रीले एकैसाथ शान्ति पूजा गर्नुभयो । मायादेवी मन्दिरको दर्शनको क्रममा प्रधानमन्त्री मोदीले भिक्षुहरूसँग बुद्ध जन्मस्थलको बारेमा जानकारी पनि लिनुभयो । मन्दिर परिसरभित्र मोदीसहित प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानमन्त्री पत्नी आरजू राणा देउवा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले दर्शन गर्नुभएको थियो । मोदीले मायादेवी मन्दिर परिसरमा हुर्किरहेको बोधी वृक्षमा जल सिञ्चन पनि गर्नुभयो ।

मायादेवीमा पूजापछि दुवै प्रधानमन्त्रीले लुम्बिनीको पश्चिमी विहार क्षेत्रमा भारतीय संस्कृति मन्त्रालयले निर्माण गर्न लागेको अन्तर्राष्ट्रिय बुद्धिष्ट कन्फिडेरेसन (आइबिसी) बिहारस्थल पुगेर संयुक्त रूपमा उक्त बिहारको शिलान्यास गर्नुभयो । आइबिसीले निर्माण गर्ने उक्त बौद्ध बिहार एक अर्ब ६० करोड भारतीय सहयोगमा निर्माण हुन लागेको हो । मोदी प्रधानमन्त्री देउवाले आयोजना गर्ने दिवाभोजमा सहभागी हुनुभयो । भोजपछि मोदीले केही घण्टा विशिष्ट तहका व्यक्तिहरूसँग भेटघाट तथा छलफल गर्नुभएको थियो ।

बुद्ध जन्मस्थल आउन पाएकोमा खुसी छु : मोदी
२५६६औँ बुद्धजयन्ती मूल समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भगवान् गौतम बुद्धको जन्मस्थल नेपालको लुम्बिनी आउन पाएकोमा आभार व्यक्त गर्नुभयो । गौतम बुद्धको जन्मथलोको ऊर्जा नै फरक रहेको र बुद्धको पवित्र जन्मस्थल लुम्बिनीमा आउने सौभाग्य मिलेको भन्दै मोदीले मायादेवी मन्दिरमा दर्शन गर्ने अवसर अविस्मरणीय रहेको बताउनुभयो ।

नेपालको प्रशंसा गर्दै प्रधानमन्त्री मोदीले नेपाल आउँदा कुनै राजनीतिक भ्रमणभन्दा पनि छुट्टै खालको आध्यात्मिक अनुभूति हुने अनुभव सुनाउँदै भन्नुभयो, ‘आज जसरी भारत र नेपालको मित्रता र घनिष्ठता सबैको मानवताको काम गर्छ । भगवान् बुद्धले दुवैको आस्था एकै सूत्रमा जोड्छन्, बुद्ध मानवताको सामूहिक अवतरण हुन् । बुद्ध बोध पनि हुन् र शोध पनि । बुद्ध विचार पनि हुन् र संस्कार पनि ।’

बुद्ध जन्मभूमि नेपालमा अलग चेतना महसुस हुने बताउँदै मोदीले यसअघि आफूले जनकपुर भ्रमण गरेको स्मरण गर्दै राम र सीताबिना भारत पनि अधुरो हुने बताउनुभयो । नेपाल आउँदा आफूलाई आध्यात्मिक अनुभूति हुने बताउँदै मोदीले भन्नुभयो, ‘नेपाल भ्रमणमा आउँदा मलाई राजनीतिकभन्दा अलग एउटा अध्यात्मिक अनुभूति हुन्छ ।’ उहाँले नेपाल बुद्धको जन्मभूमि भएको पनि दोहोर्‍याउनुभयो । बुद्धको जन्मस्थल लुम्बिनीको चेतनास्तर र ऊर्जा नै फरक भएको भन्दै मोदीले भन्नुभयो, ‘जहाँ गौतम बुद्धले जन्म लिएका थिए । यो स्थानको चेतना स्तर र ऊर्जा नै फरक छ, मैले सन् २०१४ मा महाबौद्ध वृक्ष रोपेको थिए । त्यो आज बढेर ठूलो वृक्ष बनिसकेको छ । यो देख्दा मलाई खुसी लाग्यो, चाहे पशुपतिनाथ होस् वा मुक्तिनाथ होस् । वा जनकपुरधाम वा लुम्बिनीमा जब जब नेपाल आउँछु । नेपाल आफ्नो आध्यात्मिक आशीर्वादबाट मलाई कृतार्थ गर्छ ।’

भारतमा बन्न लागेको भव्य राम मन्दिरबाट नेपाली पनि खुसी भएको भन्दै मोदीले भन्नुभयो, ‘भारतमा बनिरहेको भव्य मन्दिरबाट नेपालीसमेत खुसी छन् । नेपाल विश्वकै उच्च पर्वत सगरमाथाको देश रहेको छ । नेपाल अर्थात् पवित्र धार्मिकस्थल, मठ/मन्दिरको देश हो । नेपालले दुनियाँको प्राचीन सभ्यता र संस्कृतिको संरक्षण गरेर छ ।’

नेपाल र भारतको सम्बन्ध हिमालजस्तै अटल छ
बुद्ध जयन्तीको अवसरमा लुम्बिनीमा आयोजित समारोहलाई सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले नेपाल भारतबीचको सम्बन्धन हिमालजस्तै अटल भएको र दुई देशको सम्बन्धलाई हिमालजत्तिकै उचाइ दिनुपर्ने धारणा राख्नुभयो । समारोहमा मोदीले भन्नुभयो, ‘भारत र नेपालबीचको सम्बन्ध हिमालजस्तै अटल छ, हिमालजस्तै पुरानो छ । त्यो नैसर्गिक र अस्वाभाविक सम्बन्धलाई हिमालजत्तिकै उचाइ दिन जरुरी छ ।’

नेपाल र भारतबीच भएको खानपान, रीतिरिवाज र पारिवारिक सम्बन्धन जस्तै इन्फास्टक्चर र प्रविधिमा पनि सहयोग गर्न भारत हरदम तयार रहेको भन्दै नेपालीमै सम्बोधन गर्नुभएका मोदीले भन्नुभयो, ‘नेपाल र भारत बीचको मित्रताले मानवीय संकल्पलाई पूरा गर्न दुवै देशले यसैगरी काम गरिरहन्छ भन्ने मैले विश्वास लिएको छु ।’ मोदीले लुम्बिनी म्युजियम, लुम्बिनी बुद्धिष्ट युनिभर्सिटी, डा.अम्बेडकर चेयर फोर बुद्धिष्ट स्टडिजको स्थापना दुवै देशको साझा सहयोगको उदाहरण भएको बताउनुभयो ।

नेपाल आउँदा राजनीतिक भ्रमणभन्दा छुट्टै अध्यात्मिक अनुभूति हुने र यसको मूलकारण यहाँका प्राचीन सभ्यता, तीर्थस्थल, मठ–मन्दिर र सर्वोच्च शिखर सगरमाथा भएको भन्दै मोदीले अगाडि भन्नुभयो, ‘म जनकपुर आउँदा भनेको थिएँ, नेपालबिना राम पनि अधुरो छ । नेपाल र भारतबीच प्राचीन कालदेखि अद्भूत सम्बन्ध रहँदै आएको छ । त्यसलाई दुवै देश मिलेर समृद्धितर्फ अगाडि बढाउनुपर्छ । नेपाल र भारतको विरासतलाई मिलेर समृद्ध बनाऊँ । बुद्ध सर्किट र लुम्बिनीलाई सहयोग गर्न भारत सधैँ तयार छ ।’

नेपाल र भारत एउटै परिवारको सदस्य समान रहेको बताउँदै मोदीले यसै घनिष्ट सम्बन्ध विश्वहितका निम्ति महत्वपूर्ण रहने धारणा राख्नुभयो । खानपान, गीतसंगीत, रीतिरिवाज सबैमा समानता रहेको नेपाल–भारत समुदाय बीचको सम्बन्ध हिमालजस्तै अटल र प्राचीन रहेको मोदीको भनाइ छ ।

बौद्व सम्मेलन केन्द्रको उद्घाटन
प्रधानमन्त्री शेरबहादुर देउवाले बुद्व जन्मस्थल लुम्बिनीमा निर्माण गरिएको बौद्व सम्मेलन तथा ध्यान केन्द्रको उद्घाटन गर्नुभएको छ । सोमबार बिहान आयोजित समारोहबीच प्रधानमन्त्री देउवाले केन्द्रको उद्घाटन गर्नुभएको हो । पाँच हजारजना अट्ने क्षमताको उक्त हल बनेपछि यहाँ हुने सम्मेलन र समारोहहरू सञ्चालनका लागि सहज हुने बताइएको छ । यहाँ प्रत्येक वर्ष अस्थायी हल निर्माण गरेर बुद्वजयन्ती समारोह हुँदै आएको थियो । यस्ता सम्मेलन र समारोह आयोजनाका लागि पाँच वर्षअघि हल निर्माण थालिएको थियो । यस वर्षको बुद्व जयन्तीका अवसरमा सोमबार अपरान्ह यही हलमा नेपाल र भारतका प्रधानमन्त्रीद्वयले २५६६औँ बुद्वजयन्ती समारोहलाई सम्बोधन गर्नुभयो ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सुरु
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सोमबारदेखि नियमित रूपमा सञ्चालनमा आएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार बिहान विमानस्थलको उद्घाटन गरेसँगै विमानस्थल नियमित सञ्चालनमा आएको हो । यससँगै अब मुलुकमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ । अब काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसँगै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पनि २४सै घण्टा सञ्चालन रहनेछ । हवाई उडानको सुरक्षाका लागि आवश्यक पर्ने अत्याधुनिक उड्डयन उपकरण आइएलएस सहितको यो विमानस्थलमा तीन हजार मिटर लामो धावनमार्ग छ ।

विमानस्थल बोइङ ७७७, एयरबस ३३० र त्यही क्षमताका बाइडबडी विमान अवतरण गर्न सक्ने क्षमताको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन तथा प्राधिकरणले तोकेको मापदण्डअनुसार निर्माण भएको यस विमानस्थललाई नेपाल नागरिक उड्डयन प्राधिकरणले गत वैशाख २१ गते प्रमाणीकरण गरेको थियो । विमानस्थलको उद्घाटन हुनुअघि कुवेतबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि व्यावसायिक उडान भरेको जजिरा एयरलाइन्सको एयरबस ३२० विमान बिहान ७ बजेर ८ मिनेटको समयमा अवतरण गरेको थियो । यस विमानस्थलमा पहिलो व्यावसायिक हवाई उडान सञ्चालन गरेको जजिरा एयरलाइन्सको उक्त विमानबाट आएका सबै यात्रुलाई विमानस्थलमा स्वागत गरिएको थियो । जजिरा एयरलाइन्सले हप्ताको तीनवटा उडान सञ्चालन गर्ने अनुमति लिएर आफ्नो तालिकाअनुसार सोमबारदेखि उडान सञ्चालन सुरु गरेको हो ।

विमानस्थल उद्घाटन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले यस विमानस्थल सञ्चालनमा आएपछि मुलुकको बढ्दो हवाई चाप कम हुने र अन्तर्राष्ट्रिय हवाई यात्राका लागि काठमाडौं पुग्नुपर्ने बाध्यता हटेको बताउनुभयो । विमानस्थल सञ्चालनमा आएसँगै मुलुकको आर्थिक विकासमा समेत ठूलो सहयोग पुग्ने भन्दै देउवाले नेपालको हवाई नीतिलाई उदार र खुल्ला प्रतिस्पर्धी बनाइने बताउनुभयो । उहाँले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै यसबाट धार्मिक पर्यटनको माध्यमबाट रोजगारी सिर्जना हुने र सरकारको अथक प्रयासमा विमानस्थलको निर्माण सम्पन्न भएको भन्दै सबैलाई धन्यवादसमेत दिनुभयो ।

वि.स.२०७१ माघ १ गते तत्कालीन प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाले यो विमानस्थल आयोजनाको शिलान्यास गर्नुभएको थियो । पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले यस विमानस्थलमा विभिन्न अन्तर्राष्ट्रिय एयरलाइन्सलाई आकर्षित गर्न विमानस्थल सेवा शुल्कमा छुट दिइने बताउनुभयो ।

नेपाल-भारतबीच ६ सम्झौतामा हस्ताक्षर
नेपाल र भारतबीच विभिन्न ६ वटा समझदारी (एमओयु) तथा सम्झौता पत्रमा हस्ताक्षर भएको छ । भारतीय प्रधानमन्त्री मोदीको लुम्बिनी भ्रमणमा ती समझदारी तथा सम्झौता पत्रमा हस्ताक्षर भएको हो । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री मोदीको उपस्थितिमा दुई देशका सम्बन्धित अधिकारीले समझदारी तथा सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो ।

यस्ता छन् सम्झौता-
१. बौद्ध दर्शन अध्ययनका लागि डा. अम्बेडकर चेयर स्थापना गर्ने सम्बन्धमा भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आइसिसिआर) र लुम्बिनी बौद्ध विश्वविद्यालयबीच सम्झौता ।

२. भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आइसिसिआर) र नेपाल तथा एसियाली अध्ययन केन्द्र तथा त्रिभुवन विश्वविद्यालयबीच भारतीय अध्ययनको आइसिसिआर चेयर स्थापना गर्ने सम्झौता ।

३. भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आइसिसिआर) र काठमाडौं विश्वविद्यालय (केयु)बीच भारतीय अध्ययनको आइसिसिआर चेयर स्थापना गर्ने सम्झौता ।

४. काठमाडौं विश्वविद्यालय (केयु) र भारतको इण्डियन इन्ष्टिच्युट अफ टेक्नोलोजी मद्रास (आइआइटिएम)बीच सहयोगको सम्झौता ।

५. नेपालको काठमाडौं विश्वविद्यालय (केयु) र भारतको इण्डियन इन्ष्टिच्युट अफ टेक्नोलोजी मद्रास (आइआइटिएम) भारतबीच स्नातकोत्तर तहमा संयुक्त डिग्री कार्यक्रम गरिने ।

६. अरुण चौथो आयोजनाको विकास र कार्यान्वयनका लागि सतजल जलविद्युत् लिमिटेड र नेपाल विद्युत् प्राधिकरण (एनइए)बीच सम्झौता । प्रधानमन्त्रीका रूपमा पाँचौँ नेपाल भ्रमण गर्नुभएको मोदी सोमबार नै स्वदेश फर्किनुभएको छ ।

लुम्बिनीमा भारतीय प्रधानमन्त्रीको आगमनले नेपालको धार्मिक पर्यटनमा नयाँ उत्साह : पाण्डे
बुद्ध जयन्तीको पावन अवसरमा मंगलबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी आइपुग्नु भएसँगै नेपालको धार्मिक पर्यटन क्षेत्रमा नयाँ उत्साह थपिने संकेत गरिएको छ । बुद्धिष्ट पर्यटन पदोन्नतिको लागि लामो समयदेखि बुद्धिष्ट पर्यटन क्षेत्रमा काम गर्दै आउनुभएका पर्यटन व्यवसायी तथा लुम्बिनी विकास कोषका पर्यटन सद्भावना दूत विक्रम पाण्डेले मोदीको भ्रमणले लुम्बिनीको जनजीवनमा नयाँ आयमुखी र आर्जनमुखी आम्दानी हुनुको साथै दुवै देश (नेपाल-भारत)मा आर्थिक समृद्धि ल्याउने बताउनुभयो । पाण्डेले बुद्धको जन्म र जीवनसँग सम्बद्ध नेपाल र भारतमा रहेका चार तीर्थस्थल लुम्बिनी, बोधगया, सारनाथ, कुशीनगर भएकाले मोदीको लुम्बिनी भ्रमणले दुवै देशको पर्यटन प्रवद्र्धन हुने जिकिर गनुभयो ।

पर्यटन व्यवसायी पाण्डेले लुम्बिनीबाट हिमालय टाइम्सलाई प्रतिक्रिया दिँदै लुम्बिनी विश्वका बौद्ध धर्मावलम्बीहरूको निम्ति नगई नहुने पहिलो गन्तव्य भएको बताउनुभयो, जसलाई भारतीय प्रधानमन्त्री मोदीको भ्रमणले अझ थप प्रष्ट्याइदिएको भन्नुभयो ।

उहाँका अनुसार मोदीको भ्रमणले अब नेपाल, भारत, चाइना, मलेसिया, थाइल्याण्ड, श्रीलंका, भुटानलगायत दक्षिण एशियाली मुलुकका बौद्धमार्गहरूले बुद्धको जीवनसँग सम्बद्ध तीर्थस्थलहरूको यात्रा सुरु गर्दा नेपालको लुम्बिनीबाट गर्नुपर्ने सन्देश जानेछ । गौतम बुद्धको जन्म लुम्बिनीमा, ज्ञान हासिल बोधगयामा, प्रथमपटक आफ्ना शिष्यहरूलाई शिक्षा दिएको स्थान सारनाथ थियो भने कुशीनगरमा बुद्धको महापरिनिर्वाण अर्थात् देहत्याग भएको थियो । यी चारवटा ठाउँको अबदेखि विश्वका बौद्ध धर्मका अनुयायीहरूले चिक्रिय यात्रा गर्ने पाण्डेको भनाइ छ । जसले पर्यटन क्षेत्रको प्रचारप्रसार र आर्थिक समृद्धिमा वृद्धि हुनेको साथै दुवै देशका जनतामा सन्तुलित सम्बन्ध कायम हुने पाण्डे बताउनुहुन्छ ।

पाण्डेले जनकपुर र मुक्तिनाथमा भारतीय प्रधानमन्त्री मोदीको भ्रमणपछि भारतीय पर्यटकहरूको आवागमन बढेजस्तै लुम्बिनीमा पनि पर्यटकहरूको ओइरो लाग्ने सम्भावना भएको बताउनुहुन्छ । उहाँले बुद्धको जन्म जयन्तीको अवसरमा भारतीय प्रधानमन्त्री मोदी लुम्बिनी आउँदा लुम्बिनी पर्यटन प्रवद्र्धनको क्षेत्रमा कोशेढुंगा सावित हुने निश्चित भएको र कसैकसैको आशंकाप्रति अर्थात् बुद्धको जन्मथलो नेपाल होइन भन्ने दुविधा वा सारा विवादको अन्त्य भएको बताउनुभयो ।

पाण्डेले लुम्बिनीमा हाल जे जति होटेल, रेष्टुराँ, लज, बाटोघाटो आदि पूर्वाधारहरू छन् त्यो अहिलेलाई पर्याप्त भए तापनि भविष्यमा बढ्न सक्ने पर्यटकहरूको आवागमनलाई ध्यानमा राखेर अरू थप राम्रा राम्रा होटल, मेडिटेसन सेन्टर, मसाज सेन्टर, सपिङसेन्टर, रेष्टुरालगायत पूर्वाधारहरूको निर्माणमा सम्बन्धित सबैले ध्यान दिनुपर्ने औँल्याउनुहुन्छ । पाण्डे भन्नुहुन्छ, ‘मार्केटिङ सुशासनको मूलमन्त्र भनेकै बजारीकरण हो, जुन सबै क्षेत्रमा लागू गर्नैपर्छ । त्यसैले नेपाल सरकारले अहिलेसम्म जे जति धनराशिहरू काठमाडौं, पोखरा, चितवनलगायत विभिन्न पर्यटन स्थलहरू पदोन्नति गर्न खर्च ग¥यो अब केही धनराशि लुम्बिनी अर्थात् कपिलवस्तुको पर्यटनमा पनि खर्च गरे देशको आर्थिकस्तर धेरै नै माथि उठ्छ । अब नेपालले योजनाबद्ध तरिकाले पर्यटन क्षेत्रमा लागिपरेका लगानीकर्ता, मिडिया, नेपाल टुरिजम बोर्ड, नेपाल सरकार सबै मिलेर अन्तर्राष्ट्रिय बजारमा भगवान् बुद्धको सन्देश, शान्तिको सन्देश फैलाउन अत्यन्तै जरुरी छ । साथै, सो स्थानमा नयाँ नयाँ सहुलियत प्याकेज निकालेर पर्यटकलाई आकर्षित गर्नुपर्छ ।’

मोदीको लुम्बिनी भ्रमणले नेपालको धार्मिक पर्यटनको क्षेत्रमा नयाँ आयाम थपिदिएको छ । यस्तै सोमबारदेखि औपचारिक रूपमा चालु गरिएको भैरहवास्थित अन्तर्राष्ट्रिय विमानस्थलको कारण नेपालको पर्यटन प्रवद्र्धनमा थप उत्साहको सञ्चार गरिदिएको विश्लेषकहरूको धारणा छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?