‘भगवती लेमिनेट्स’को कर छली प्रकरणमा राजस्व अनुसन्धान विभाग गम्भीर, करोडौँ राजस्व झ्वाम

Read Time = 9 mins

काठमाडौं । कर छली प्रकरणमा मुछिएको भगवती लेमिनेट्सका सञ्चालकप्रति राजस्व अनुसन्धान विभाग गम्भीर भएर लागेको छ । सञ्चालकले अनुसन्धान प्रक्रियालाई चुनौती दिन थालेपछि विभाग गम्भीर भएर लागेको हो । विभिन्न प्रकारको दबाब र भनसुनमा कर छली गरी आफू पानीमाथिको ओभानो बन्न खोजेको सो कम्पनीका सञ्चालकमाथि अब राजस्व अनुसन्धान विभाग गम्भीर बन्दै केन्द्रीयस्तरबाटै विस्तृत अनुसन्धान गर्ने भएको छ । हालसम्म राजस्व कार्यालय इटहरीले अनुसन्धान गर्दै आइरहेको भगवती लेमिनेट्सका सम्पूर्ण फाइल राजस्व अनुसन्धान विभागले काठमाडौंमा तानेको छ ।

विभागका उप-महानिर्देशक/प्रवक्ता दिवस आचार्यले फाइल आएका तर आफूहरूले अध्ययन गर्न बाँकी रहको बताउनुभयो । हिमालय टाइम्ससँग कुरा गर्दै उहाँले भन्नुभयो, ‘फाइल हेरेको छैन, हेरेपछि के रहेछ भन्नेछु, दोषि देखिएमा कारबाहीको दायरामा ल्याइने छ ।’
भगवती लेमिनेट्स प्रालिका सञ्चालकहरूले राजस्व कार्यालय इटहरीका अनुसन्धान अधिकृतलाई विभिन्न प्रभावमा पारेको भनी व्यापक गुनासो र असन्तुष्टि विभागमा आएपछि विभागले ती फाइल केन्द्रमै तानेको हो । भगवती लेमिनेट्सका सञ्चालकले शक्तिकेन्द्र प्रयोग गरी राजस्व कार्यालय इटहरीको अनुसन्धान प्रक्रियालाई नै कमजोर बनाउने प्रयास गर्दै आएको स्रोतको दाबी छ । सो प्रालिका सात सञ्चालकले उनीहरूको बैंक खाता र बैंक स्टेटमेन्ट माग गर्दा अटेर गरेर दिन आलटाल गरेका थिए । आलटाल गरेकै कारण विभागले सबै फाइल केन्द्रमै तानेर थप अनुसन्धान गर्ने तयारी गरेको विभाग स्रोतले जानकारी दियो ।

‘अब केन्द्रीयस्तरबाटै भगवती लेमिनेट्सले गरेको राजस्व छलीबारे नयाँ किसिमले अनुसन्धान तथा छानबिन हुनेछ’, विभागका एक अधिकारीले हामीलाई भन्नुभयो । ती अधिकारीका अनुसार सञ्चालकहरू रजनीश कर्नानी, सन्तोष आचार्य, रतनलाल अग्रवाल, निर्मला कर्नानी, निर्मला सरिया, दीपेन्द्रकुमार अग्रवाल र रतनकुमार अग्रवाललाई एकपछि अर्को गर्दै बोलाउने तयारी भएको छ ।

विगत तीन महिनादेखि विभिन्न सञ्चारमाध्यममा कर छलीसम्बन्धी समाचारहरू प्रमाणसहित प्रकाशित हुँदै आएपछि नेपाली जनताले तिरेको भ्याट सम्बन्धित निकायकै कमजोरीका कारण सरकारको ढुकुटीमा पुग्न नसकेको भन्दै राजस्व विभागले अनुसन्धानलाई प्रभावकारी बनाउन केन्द्रले नै बयान लिने तत्परता देखाएको छ । काठमाडौंस्थित केन्द्रीय कार्यालयले फाइल मगाएर अनुसन्धान गर्न र दोषी ठहरिएमा वा भेटिएमा कुनै पनि सञ्चालक र डिलरलाई नछोड्ने बताएको छ ।

नेम्प्लाई प्लाइउडको नाउँमा कारोबार गर्दै आएको यसले आफूलाई नेपालकै नम्बर १ प्लाइउडको दाबी गर्दै आएको थियो । तर, यसका क्रियाकलाप ठगी धन्दामै केन्द्रित थिए । अनेकौँ फर्जी बिल बनाएर यसले राज्यको ढुकुटीमाथि अक्षम्य घात गरेको थियो । सरकारी संयन्त्रको आँखा छल्न नक्कली बिलमार्फत करोडौँ रुपैयाँको कारोबार गरे पनि यसमाथि प्रभावकारी छानबिन हुन नसकिरहेको आरोप लागेको बेला अनुसन्धान विभागले केन्द्रमा फाइल मगाएर छनबिन गर्न लागेको छ । राजस्वमा अनियमितता गरेका प्रमाणहरू सार्वजनिक हुँदासमेत नियामक निकायले आवश्यक तदारुकता नदेखाउँदा थप चलखेल हुने सम्भावना बढेर गएको भन्दै विभिन्न सम्बन्धित निकायले यसअघि पटक–पटक ध्यानाकर्षण गराएका थिए ।

एक वर्षको अवधिमा कच्चा बिलमार्फत ८० करोड बढीको कारोबार गरी झण्डै २५ करोड राजस्व छली गरेका आधार भेटिएपछि राजस्व अनुसन्धान कार्यालयले भगवती लेमिनेट्स प्रालिमाथि विस्तृत अनुसन्धान गर्दै आइरहेको छ । भगवती लेमिनेट्सले आर्थिक वर्ष २०७७÷७८ मा मात्रै सरकारलाई राजस्व छली गर्ने उद्देश्यले ८० करोडभन्दा बढीको कारोबार कच्चा बिलमार्फत गरेको पाइएको थियो । सो कम्पनीले सबैजसो कारोबार अण्डर इनभ्वाइसमा गर्ने गरेको छ । मूल्य अभिवृद्धि कर (भ्याट) र आयकरबाट बच्न अण्डर इनभ्वाइसमार्फत कारोबार गर्ने गरिएको जनाइएको छ । विष्णु मधगोरिया र रजनीश कर्नानी भगवती लेमिनेट्सको मुख्य सञ्चालक हुन् ।

सो अनुसन्धानका क्रममा एकपछि अर्को गरी राजस्व छलीका प्रमाण भेटिएपछि राजस्व अनुसन्धान विभागको इटहरीस्थित कार्यालयका अनुसन्धान अधिकृतहरूले भगवती लेमिनेट्सका सञ्चालकहरूलाई बयानका लागि बोलाएका थिए ।

भगवती लेमिनेट्सले यस्तै ‘ए’ ग्रेडको प्लाइउड बिक्री गर्दासमेत भ्याट छल्नकै लागि ‘सी’ ग्रेडको बिक्री गरेको भनी बिल जारी गर्ने गरेको छ । यस विषयलाई विभिन्न सञ्चार माध्यमले उठाउन थालेपछि बिल मिलाउनका लागि यसका डिलर र खुद्रा व्यापारीले १५ दिनसम्म कारोबार बन्द गरेका थिए । त्यसपछि प्लाइउडको कृत्रिम अभाव सिर्जना गरेर मूल्यवृद्धि पनि गरिएको थियो ।

भगवती लेमिनेट्सको दोहोरो बिल प्रकरण केही महिनाअघि नै बाहिर आएको थियो । तर, लामो समयसम्म पनि प्रभावकारी ढंगले छानबिन नहुँदा यसका सञ्चालकको मनोबल झनै बढ्दै गएको थियो ।

प्रभावकारी ढंगले छानबिनमा ढिलाइ हुँदा कानुनी छिद्रहरू खोजेर उन्मुक्ति गराउने चलखेल भइरहेकोे हो कि भन्ने आशंकाले बल पाइरहेको बेला अब बिभागले केन्द्रमा नै फाइल मगाएर छानबिन गर्न लागेपछि ठगी धन्दाको आरोप लागेको भगवती लेमिनेट्सले उन्मुक्ति नपाउने देखिएको छ । कारोबारको छापा मारेपछि तत्काल छानबिन अघि बढाउनुपर्ने भए पनि विभागले छानबिनमा ढिलासुस्ती गरिरहेको उपभोक्ताकर्मीले विगतमा आरोप लगाउँदै आएका थिए ।

कानुनी छिद्रमार्फत उम्काउने तथा डिलर र सबडिलरहरूले समेत कारोबार नै बन्द गरी गैरकानुनी कारोबार लुकाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो दिएर नजिकबाट हेरिरहेको बताइएको छ ।

भगवती लेमिनेट्सले एकपछि अर्को गर्दै करोडौँ रुपैयाँ राजस्व छली गरेको विषयमा राजस्व अनुसन्धान कार्यालयले अनुसन्धान थालेपछि त्यसबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि गम्भीर चासो राखेको छ । अख्तियार उच्च स्रोतले राजस्व अनुसन्धान विभाग र कार्यालयले भगवती लेमिनेट्सको राजस्व छली प्रकरणलाई टुंगोमा पु¥याउने गरी छानबिन गर्नुपर्ने बताएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?