✍️ रामप्रसाद पन्त
योजना बनाएर गरिएको यात्राभन्दा अकस्मात् गरिएको यात्रा कौतुहलपूर्ण हुँदो रहेछ । निश्चित स्थान, निश्चित मार्ग, निश्चित गतिविधि, निश्चित यात्री, निश्चित नाम, निश्चित दाम र निश्चित कामले यात्रालाई सीमाबद्ध गर्दाे रहेछ मात्र होइन, यात्राको विशाल आयातनलाई पनि संकुचन गर्दाे रहेछ । यात्रा गर्ने क्रममा मैले अनुभूत गरेको विषय यही हो ।
केही महिनाअघि मित्र मनोज न्यौपानेले राखेको प्रस्ताव मेरा लागि योजनाबद्ध थियो-यसरी हामी जाने छौं, यो यो काम गर्ने छौं, एक रात बस्ने छौं र यसरी हामी फर्कने छौं । कुरा राम्रो थियो तर मलाई त्यो सौभाग्य जुटेन । म अर्कै यात्रामा अनुबन्धित भइसकेको थिएँ ।
म चाहन्छु यात्रा यस्तो होओस्, यात्राको गन्तव्य नै थाहा नहोस् । यात्राको मार्ग नै असामान्य होओस् । यात्राको उद्देश्य नै अनिश्चित बनोस् । बाटोघाटोमा देखिने दृश्यहरू पनि अनौठा र कौतूहलपूर्ण होऊन् । यात्राका पात्रहरू पनि अपरिचित तर हास्यविनोदी होऊन् । अनौठा शब्दहरू बोलून् । अनौठा कार्यहरू गरून् । अनौठा अभिनयहरू देखाऊन् । त्यसैबाट जन्मिन्छ-एउटा रोचक यात्रा संस्मरण । त्यसै भएर मैले धेरै प्रश्न गरिनँ श्रीओमजीसँग तर मैले सोचेको थिइनँ यस यात्राले कलम चलाउन प्रेरित गर्नेछ ।
श्रीओमले मलाई जुन ठाउँमा जाने प्रस्ताव राख्दै हुनुहुन्थ्यो, त्यही बाटो प्रयोग गरेर मैले धेरै पटक दूर यात्रा गरिसकेको थिएँ । यस अर्थ पनि स्थानीयता मेरा लागि नौलो थिएन तर पनि मनमा एउटा प्रश्न थियो-काठमाडौं शहर घुमेर हनुमानढोका छिरिएन भने यात्राले पूर्णता पायो भन्न मिल्छ कि मिल्दैन ? यही प्रश्न गर्दै थियो-चौकीभञ्ज्याङमा ठडिएको प्रवेशद्वारले ।
शङ्खरापुर नगरपालिका, साँखुबाट जरसिङपौवा उक्लेर दुई-तीन किलोमिटर अगाडि बढ्दा आउँदोरहेछ त्यो द्वार । द्वारबाट छिर्नुअघि द्वारको स्तम्भमा लेखिएको सूक्ष्म अक्षरको नामलिष्ट (सम्भवतः सहयोगदाताको नाम) पढ्न सम्भव भएन तर द्वारमाथि लेखिएको स्थूल आकारको अक्षर पढ्न भ्याएँ । लेखिएको थियो-‘जे.पी. प्रतिष्ठान, मैत्री सेवाश्रम, शङ्करापुर-४, लप्सीफेदी काठमाडौंमा तपाईंलाई
स्वागत छ ।’
चौकी भञ्ज्याङबाट भोटेचौरतिर जाने पक्की बाटो छाडेर द्वारबाट छिरिसकेपछि करिब डेढ किलोमिटरको दूरीमा आउँदोरहेछ- जे.पी. प्रतिष्ठान (मैत्री सेवाश्रम) परिसर । बसको झ्यालैबाट देखेँ- तेलिया इँटाबाट निर्मित नेपाली कला झल्कने छानेशैलीका थुप्रै घरहरू ।
अहो ! कस्तो सुन्दर संरचना !
तबसम्म मलाई केही पनि थाहा थिएन, त्यस संस्थाका विषयमा । मैले सुनेको विषय थियो-मित्रसेन दाहालले आफ्ना पिता जयप्रसाद दाहालका नाममा जे.पी. प्रतिष्ठान स्थापना गरेका छन् र विभिन्न क्षेत्रमा योगदान गर्ने व्यक्तित्वहरूलाई सम्मान गर्दै आएका छन् । मैले थाहा पाएको अर्काे विषय हो-उनी किड्नी प्रत्यारोपित मानिस हुन् । उनले दह्रो मन बनाएर किड्नीसँग जुधिरहे, आत्मबलकै कारण बाँचिरहे÷बाँचिरहेकै छन् र लप्सीफेदीसम्म संस्था विस्तार गर्दै छन् ।
साढे आठमा बस चढेर चावहिलबाट यात्रामा सहभागी भएका हामीहरू एघार बजे लप्सीफेदीस्थित जे.पी. प्रतिष्ठानको परिसरमा ओर्लेका थियौं । ओर्लनेबित्तिकै फनक्क नजर घुमाएर खिचेको थिएँ त्यहाँको दृश्यचित्र मस्तिष्कको क्यामेरामा । कहिले बनेका होलान् यी घर ? के प्रयोजनका लािग बनेका होलान् यी घर ? कसको सक्रियता र लगानीमा सम्पन्न भएको होला यो संरचना ? यथार्थमा भन्दा कुन अभीष्ट पूरा गर्ने हेतुले निर्मित भएका होलान् यी घरहरू ?
लामो कुर्ता र पत्लुन लगाएका मित्रसेन देखिए हाम्रा सामू । ‘उहाँलाई चिन्नुहुन्छ ?’ भनी ध्यानाकर्षण गराए श्रीओमले— मित्रसेनको नजर मतिर फर्काएर । ‘किन नचिन्नु, रामप्रसादजीलाई ?’ भन्दै नामै किटेर झण्डै बीस वर्षअघिको स्मृतिलाई ताजा बनाए, मित्रसेनले । खुशी लाग्यो, उनको संस्मरण शक्ति देखेर ।
मैले आफ्नो जिज्ञासा राखिहालेँ-‘आजको कार्यक्रमभित्र यस संस्थाको परिचय राखिएको छ कि छैन ?’
मित्रसेनले भने, ‘छ ।’
त्यसपछि म ढुक्क भएँ ।
खाजा तयार थियो । सर्वप्रथम हामीले खाजा खाएका थियौं–पुरी, चनाकेराउको तरकारी, आरुबखडाको अचार, फ्रुड सलाद र एक गिलास गाईको शुद्ध दूध ।
मित्रसेनको मैत्रीभाव देखेर श्रद्धाभाव जागेको थियो उनीप्रति । उनी टेबुलटेबुलमा आएर केही थप्न आग्रह गर्दै थिए । जगको दूध खाली गिलासहरूमा भर्दै थिए । फलफूलको थाली बोकेर आउँदै थिए र फलफूल थप्न अनुरोध गर्दै थिए । किड्नी फेरेको एउटा व्याधिग्रस्त मानिस–डाक्टरलाई चुनौती दिएर आत्मविश्वासको आश्रयमा बाँचिरहेको छ र आफूलाई मानवसेवामा समर्पित गरेको छ । बोनस जीवन जिउन पाइरहेकोमा ईश्वरप्रति नतमस्तक छ र हतास जीवन जिउनेहरूका लागि प्रेरणाको स्रोत बनेको छ ।
आज २०७६ साल जेठ महिनाको अन्तिम दिन । नेपाल प्रज्ञा-प्रतिष्ठान गद्य-आख्यान विभाग र लघुकथा समाजको आयोजनामा सम्पन्न गरिने ‘लघुउपन्यास र लघुकथाको सैद्धान्तिक स्वरूप’ विषयक गोष्ठी तथा लघुकथा वाचन कार्यक्रमका लागि करिब तीसबत्तीस जनाको एक बस साहित्यिक टोली लप्सीफेदी पुगेको छ ।
कार्यक्रम सम्पन्न गर्नका लागि हामी सबै खाजापश्चात् गणेशमान सिंह (जेरियाट्रिक) भवनको तेस्रो तलामा उक्लेका छौं । हलमा कुर्सी भरिएपछि माइकसामू उभिएर फलाक्न थालेका थिए–लघुकथा समाजका महासचिव तुलसीहरि, साढे एघार बजे । समाजका अध्यक्ष श्रीओम श्रेष्ठ सभापति, नेप्रप्रका सदस्यसचिव जगत् उपाध्याय ‘प्रेक्षित’ प्रमुख अतिथि । माया ठकुरी, अशेष मल्ल, लक्ष्मणप्रसाद गौतम, गोविन्द गिरी र मित्रसेन दाहाल विशिष्ट अतिथि । यसरी सजिएको थियो, मञ्च र कार्यक्रमलाई शोभा दिने काम भएको थियो, हामीहरू सबैबाट । रुद्राक्षको माला परेको थियो योग गुरु मोहन घिमिरेबाट सबैको घाँटीमा । स्वागत मन्तव्य भएको थियो-पुष्करराज भट्टबाट ।
एउटा कुराले भने मेरो दिमाग ठुँगिरहेको थियो र ठुँङ्ने गर्छ वेलाबखत- आयोजक संस्थाको सदस्य नै प्रमुख अतिथि बन्नु कति शोभनीय हुन्छ ? ज्ञान मेरो कम पनि हुनसक्छ ! सोच मेरो सङ्कुचित पनि हुनसक्छ !
‘कार्यपत्रको नाम दिएर मैले एक सय पचासजति पत्रहरू प्रस्तुत गरेँ तर यथार्थमा तीमध्ये दुईवटा मात्र कार्यपत्र भनेर प्रस्तुत गरेँ । साँच्चिकैको कार्यपत्र तयार गर्न मलाई एक महिना लाग्छ र प्रस्तुत गर्न दश घण्टा । आज म गोष्ठीपत्र प्रस्तुत गर्दै छु ।’ लक्ष्मणले सुरुमै स्पष्ट पारे ।
बीस मिनेट भन्दाभन्दै आधा घण्टा समय लिएर उनले धेरै कुरा सुनाए । सारांश थिया–‘उपन्यासलाई काटकुट पार्दा लघुउपन्यास हुँदैन र कथालाई काटकुट पार्दा लघुकथा पनि हुँदैन । यी सबै आफैमा पूर्ण हुन्छन् । मानिस अग्लो भयो भनेर शिर काट्नुजस्तै हो कथालाई लघुकथा बनाउने कुरा । पहिले सिर्जना र पछि समालोचना, यो साहित्यको नियम हो । पहिले होमरले साहित्य सिर्जना गरे, त्यसपछि मात्र अरिस्टोटलले साहित्य सिद्धान्त बनाए ।
पश्चिमा साहित्यमा कथालाई सर्ट स्टोरी भन्ने गरिन्छ । यसै हो भने हामीले लघुकथालाई सर्टसर्ट स्टोरी, मिनिमिनी स्टोरी वा माइक्रो स्टोरी भनेर उनीहरूलाई बुझाउनुपर्दछ । दुई सय पचास शब्दसम्मको लघुकथा, सात हजार पाँच सय शब्दसम्मको कथा, सत्र हजार शब्दसम्मको लघुत्तम उपन्यास (नोबेलेट), चालीस हजार शब्दसम्मको लघुउपन्यास (नोबेला) त्यसभन्दा माथिको उपन्यास । सामान्यतया यसै मान्यता अनुरूप चलेको छ-नेपाली आख्यान लेखन ।’
लक्ष्मणको गोष्ठीपत्रमाथि गोविन्दको टिप्पणी भनिए पनि उनको भनाइ टिप्पणीकारको जस्तो थिएन । उनले लघुकथामाथिको प्रतिक्रिया नदिइकन लघुउपन्यासमाथिको आफ्नो धारणा राखे । श्रोतावर्गबाट आएका जिज्ञासाहरू समसामयिक थिए । जसमध्ये कथाकार भागिरथी श्रेष्ठको एउटा भनाइ सटिक थियो-‘कथा कस्तो हो र हुनुपर्ने हो ? भन्ने परिभाषा स्रष्टाले दिने हो कि समालोचकले ?’ यस्तै अर्का कथाकार नारायण तिवारीको भनाइ पनि सान्दर्भिक थियो-‘आख्यानकारले शब्दमा भन्दा विषयवस्तुमा ध्यान दिनुपर्ने होइन र ? कस्तो विषयवस्तुले कथा र कस्तो विषयवस्तुले लघुकथा निर्धारण गर्छ ? वास्तवमा शब्दले भन्दा विषयवस्तुले बढी महत्व राख्दछ ।’
यी दुई कथाकारले उठाएका विषयहरूप्रति लक्ष्मणको पनि सहमति थियो-‘हो, साहित्यमा अंकगणितमा जस्तो पाँच+पाँच=दशमात्र हुँदैन, नौ र एघार पनि हुनसक्छ ।’ कथाकार माया ठकुरी र अशेष मल्लका भनाइहरू पनि यस्तै यस्तै थिए-
‘जीवनको एउटा पाटो लघुकथा हो, पूर्णजीवन कथा ।’
‘नाटक पनि एक प्रकारको संवादात्मक कथा नै हो ।’
‘नेपाल प्रज्ञा-प्रतिष्ठानका एघार विभागबाट गरिने काम मूलतः तीनवटा छन्-अनुसन्धान, गोष्ठी-प्रवचन र प्रकाशन । यीमध्येको एउटा कर्ममा छौं आज हामी । बृहत् आकारका ग्रन्थहरूले मानव जीवनमा खानाको काम गर्छन्, लघु आकारका कथा, मुक्तक र हाइकुहरूले चटनीको स्वाद दिन्छन् । यस अर्थ हाम्रा लागि सबै प्रकारका विधा आवश्यक छन् । समालोचकले लेखकलाई पलायन गराउने होइन, स्वस्थ समालोचना गरेर प्रोत्साहन गर्ने हो । आज हामी यस आश्रममा आएर वैदिक साम्यवादको अभ्यास गर्दै छौं र ‘संगच्छध्वम्, संवदध्वम्’ को भावनालाई अनुसरण गर्दै छौं ।’- प्रेक्षितको प्रक्षेपण थियो ।
यसै बीच हामी सात्विक भोजनमा सहभागी भएका थियौं ।
त्यसपछि रवीन्द्र तिमल्सिना, राधा कार्की, सुशीला देउजा, हिरण्यकुमारी पाठक, त्रिभुवनचन्द्र वाग्ले, निमग्ना घिमिरे, श्रीराम राई, मन्दिरा मधुश्री, देवा अधिकारी, नन्दु उप्रेती, जलेश्वरी श्रेष्ठ, रञ्जुश्री पराजुली, अर्जुन थापा, भागिरथी श्रेष्ठ, द्वारिका कुइँकेल, लक्ष्मी उप्रेती, सिन्धु गौतम, गोपाल अश्क, नारायण तिवारी, सुष्षमा मानन्धर, सुमन सौरभ, पुष्करराज भट्ट र तुलसीहरि कोइरालाले लघुकथा वाचन गरेका थिए तर किन हो कुन्नि दुई–तीनवटा लघुकथाले बाहेक अरू लघुकथाहरूले मेरो मन छुन सकेनन् । लघुकथामा प्रभावपरक उठान, कुतूहलतापूर्ण उत्कर्ष र सन्देशमूलक विश्राम भएन भने लघुकथाले आफ्नो धर्म निर्वाह गर्न सक्तैन ।
पद्मावती सिंह, पवन आलोक, निलम कार्की निहारिका, शीतल गिरी, सुनिता खनाल, सावित्री मल्ल कक्षपतीले पनि लघुकथा वाचन गरेका भए मेरो प्रतिक्रिया फरक आउँथ्यो कि ?
‘तेत्तीस प्रतिशतले चित्त बुझाइरहेका महिलाहरूको सन्दर्भमा तेइस जना लघुकथा वाचकमध्ये तेह्रजना महिलालाई लघुकथा वाचन गर्न दिएर लघुकथा समाजले राम्रै काम गरेको मन्तव्य दिँदै सभा विसर्जन गरे, श्रीओम श्रेष्ठले । मलाई भने कार्यक्रमको अन्तिम समयसम्म मित्रसेनले कस्तो मैत्री सन्देश दिने हुन् र आश्रमको परिचय गराउने हुन् ? भन्ने उत्कण्ठा जागृत भइरहृयो ।
अबको पालो मित्रसेनको-
‘एघार वर्षअघि ५२ रोपनी जग्गा लिएर थालनी भएको काम आजसम्म आउँदा करिब पच्चीस करोडको लागतका ३१ वटा साना–ठूला घरहरू निर्माण भएका छन् र जग्गाको आकार पनि विभिन्न प्रयोजनका लागि बढ्दै झण्डै पाँच सय रोपनी पुगेको छ । मैत्री सेवा आश्रम दिएको यस आश्रम परिसरभित्र कृषि फर्म, आग्र्यानिक खेती, गाई पालन, ज्येष्ठ नागरिक सेवा र लाइबे्ररीहरू सञ्चालित छन् । यसबाहेक योग शिक्षा र अस्पतालको अवधारणा पनि अगाडि सारिएको छ । तीसजना बुबाआमा स्थायी रूपमा बसोबास गर्नुभएको छ । स्थायी रूपमा साठी वर्ष पूरा भएको नेपाली नागरिकलाई मात्र आश्रममा राख्ने व्यवस्था मिलाइएको छ ।’
‘पाँच सय प्रवेश शुल्क र एघार हजार सदस्यता शुल्क तिरेपछि स्थायी सदस्य बन्न सकिने व्यवस्था छ । सन्तान र सम्पत्ति नभएकालाई र समाज तथा राष्ट्रमा योगदान पुर्याएकालाई निःशुल्क सदस्यता दिने र बस्न खान पाउने व्यवस्था गरिएको छ । दम्पतीका लागि मासिक पच्चीस हजार र एकलका लागि त्यसको आधा रकम उपलब्ध गराएमा एक महिना बस्ने खाने व्यवस्था हुनसक्छ । बीसवटा गाई हामीले पालेका छौं । असी प्रतिशत आग्र्यानिक तरकारी हामी यहीँ उब्जाउँछौं । धान र मकै पनि हामी यहीँ फलाउँछौं । इच्छुक व्यक्तिले आफ्ना रुचि र आवश्यकता हेरी रकम उपलब्ध गराएमा सम्बन्धित व्यक्तिको नाममा कच्ची तथा पक्की भवन बनाइदिने र आजीवन बस्न खान पाउने व्यवस्था पनि यहाँ उपलब्ध छ । थप जानकारी लिन चाहनेहरूले मलाई अलग्गै भेटेर विस्तृत विवरण लिन सक्नुहुनेछ ।’
मित्रसेनको मुखबाट प्रकट भएका यी मनोहारी मन्त्रहरूले म मुग्ध भएको थिएँ । मलाई परिसरमा निर्मित संरचनाहरू आफ्नै आँखाले हेर्न मन लाग्यो र म एक्लै निस्किएँ-नेपालको पहिलो परोपकारी एवं नवीनतम परियोजनाको रूपमा सुन्दर शान्त र सार्थक भविष्यको जीवनशैलीका लागि निर्मित मैत्री सेवा आश्रमको स्वरूप कस्तो होला ? यही जिज्ञासा लिएर ।
मैले देखेँ र आत्मसात् गरेँ–दूरदृष्टि भएका मित्रसेनले साँच्चिकै परोपकारी भावना राखेर नभई नहुने र नगरी नहुने परियोजनालाई अगाडि बढाएका रहेछन् । ज्येष्ठ नागरिकले शान्त वातावरणमा जीवनको अन्तिम क्षण बिताउन पाउने संरचना तयार गरेका रहेछन् । राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र उच्चस्तरीय नेताहरूलाई आमन्त्रित गरेर महायज्ञहरूको आयोजना गरेका रहेछन् । वैदिक सनातन धर्ममा मात्र नभएर ॐकार परिवारभित्रका अन्य धर्महरूको संरक्षणार्थ संरचनाहरू बनाउने दृष्टिकोणहरू पनि अगाडि सारेका रहेछन् । गच्छेअनुसार रकम प्रदान गर्नेहरूका लागि एकतले, दुईतले, तीनतले वा चारतले भवन बनाई उनीहरूले प्रयोग गर्नसक्ने व्यवस्था गरेका रहेछन् । दिवंगत आफन्तहरूको संस्मरणमा उनीहरूको नाम चिरस्थायी बनाउनका लागि अक्षयकोष राखेर पुरस्कार प्रदान गर्ने व्यवस्थालाई अगाडि सारेका रहेछन् ।
शैक्षिक जागरण ल्याउने उद्देश्यले मित्रसेनले सरकारी शैक्षिक निकायहरूसँग समन्वय गरेर काठमाडौं र ओखलढुंगामा पनि आध्यात्मिक, भौतिक, नैतिक र गुणस्तरीय शिक्षा तथा छात्रवृत्तिको व्यवस्था मिलाएका रहेछन् । यसअन्तर्गत आधुनिक नेपाली शिक्षाका अतिरिक्त संस्कृत र अंग्रेजी भाषाको शिक्षालाई पनि महत्व दिने कुरा अगाडि सारेका रहेछन् । मित्रसेनले नेपाल सरकारसँग मात्र नभएर नेपाली सेना, नेपाल प्रहरी, गैरआवासीय नेपाली संघसंस्था दानवीर दाताहरू र मैत्री सेवा परियोजनालाई समेत आकर्षित गरेर नेपालकै एउटा नमुना परियोजना बनाउने कर्ममा तल्लीन भएर लागेका रहेछन् । जसअन्तर्गत अस्पताल, शिक्षासेवा, बाल आश्रम, सीप विकास केन्द्र, प्राविधिक शिक्षालय, ज्येष्ठ नागरिक कल्याण कोष, सामुदायिक सेवा कार्यक्रम, आग्र्यानिक ग्रिन फार्म हाउस, जैविक संरक्षण कार्यक्रम र हरियाली अभियान बनाउने सोच पनि अगाडि सारेका रहेछन् । यी कर्महरूलाई काठमाडौंमा मात्र नभएर क्रमशः सातै प्रदेशमा विस्तार गर्ने उनको योजना रहेछ ।
यस मैत्री सेवा आश्रम, ज्येष्ठ नागरिक (जेरियाट्रिक) ग्रामको परिचय र गतिविधिहरूलाई सार्वजनिक गर्ने माध्यमको रूपमा ‘नयाँ सत् मार्ग’ मासिक पत्रिका, प्रकाशन गरिँदै आएको रहेछ र क्यालेन्डरलगायत आश्रमको परिचय झल्काउने अन्य कृतिहरू पनि प्रकाशन हुँँदै आएको रहेछ ।
सहकार्य, सहभागिता र अनुदानबाट निर्माण गरिने प्रस्तावित योजनाहरू त धेरै रहेछन्–शान्ति स्तम्भ, शान्ति उद्यान, नमुना ग्राम तथा अनुदानकर्ताको चाहना अनुसारका अतिविशिष्ट, विशिष्ट र सामान्य कुटीहरू, क्रियापुत्री घर, खेल मैदान, चिडिया घर, सामूहिक भान्सा घर, डिपार्टमेन्टल स्टोर, योग ध्यान केन्द्र, भजन केन्द्र र मन्दिरहरू ।
मेरो पनि मन तानियो-ज्येष्ठ नागरिक भएबापत सुविधा उपभोग गर्न । प्रतिव्यक्ति मासिक एक बेड- चार हजार, एक कोठा-सात हजार, एक कोठे सिंगो कुटी-एघार हजार रुपैयाँ, दुई नाका लागि तीन कोठे सिंगो कुटी-बाइस हजार रुपैयाँ भनेको इच्छाशक्ति भएका धनपतिका लागि कुन ठूलो कुरा भयो र ? निश्चिन्त भएर एक महिना बस्नुस्, दिएको खानुस्, स्वास्थ्य लाभ गर्नुस् र सम्भव हुन्छ भने सिर्जना गर्नुस् । उत्तराद्र्ध जीवनका लागि फाइँदै फाइदा ।
यी सबै देखे सुने र बुझेपछि म के निष्कर्षमा पुगेँ भने यो महान् संरचना हुनुमा समन्वयवादी सिद्धान्तले काम गरेको रहेछ । मित्रसेन जुनसुकै विचार बोक्ने मानिस भए पनि उनले अन्य विचारकहरूलाई पनि सम्मान गरेका रहेछन् । त्यसै प्रकारका विद्वान् र राजनीतिज्ञहरूसँग उनले समन्वयकारी भूमिका निर्वाह गरेका रहेछन्, नत्र उनले फरक विचार बोकेका विभिन्न पार्टीका राजनीतिक नेताहरूलाई किन आमन्त्रण गर्थे र विशिष्ट नेपाली राजनीतिक भूमिका बोकेका पात्रहरूको नाममा भवनहरूको नाम किन राख्थे ? अनि अलग विचार बोक्नेहरूका नाममा निर्मित भवनहरूको उद्घाटन अलग विचार भएकाबाट किन गराउँथे ?
मैले देखेँ, त्यहाँ बिपी हेरिटेज पनि छ, पुष्पलाल भवन पनि छ, सन्त (किसुनजी) कुटी पनि छ । मनमोहन कुटी पनि छ, मदन भण्डारी कुटी पनि छ । यस्तै विभिन्न नाममा थुप्रै कुटी छन्-जिपी कुटी, अरनिको कुटी, भृकुटी कुटी, सगरमाथा कुटी, मणिचूड कुटी, बज्रयोगिनी कुटी, मैतिदेवी कुटी, मनकामना कुटी, दक्षिणकाली कुटी, बूढानीलकण्ठ कुटी, शिव कुटी, पार्वती कुटी, गणेश कुटी, पशुपति कुटी, सिद्धार्थ कुटी, वाल्मीकि कुटी, रिपुमर्दिनी कुटी, मोर्डन कुटी, शिवपुरी कुटी, मातापिता कुटी, भैरव कुटीहरू ।
उल्लिखित भवन तथा कुटीहरूको उद्घाटन-राष्ट्रपति रामवरण यादव र विद्यादेवी भण्डारीलगायत प्रधानमन्त्री तथा भूपू प्रधानमन्त्रीहरू–केपी ओली, शेरबहादुर देउवा, झलनाथ खनाल, बाबुराम भट्टराईहरूबाट भएको छ । कतिपय भवनहरूको उद्घाटन वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीहरूबाट पनि भएको छ । यसैगरी विमलेन्द्र निधि, शंकरप्रसाद कोइराला, शशांक कोइराला, सिपी मैनाली, रामचन्द्र पौडेल, गौरीशंकर लालदास तथा विभिन्न राजदूत र प्रधानसेनापतिहरूबाट पनि भएको छ ।
मलाई त्यहाँ बसेर पुगेको थिएन । ती सबै संरचना र त्यहाँबाट देखिने चौतर्फी सुन्दर दृश्यहरू हेरेर म अघाइसकेको थिइनँ । मैले मित्रसेनजीलाई ‘अर्काे पटक आउँदा रात बिताउने गरी आउँछु र दायित्व वाङ्मय प्रतिष्ठानबाट प्रकाशित किताबहरू मैत्री पुस्तकालयलाई अर्पण गर्ने योजनासहित आउँछु’ भन्ने वचन दिएर बिदा भएँ ।
बसमा चढेर फर्कंदै गर्दा सोचें, मानिसमा इच्छाशक्ति भएपछि उसले के गर्न सक्दोरहेनछ र ? संकल्प, निष्ठा र समर्पणलाई मानवीय जीवनको मूल्य र मान्यता बनाएर अगाडि बढ्दा मानिसले शिखर छुन सक्दो रहेछ । एउटा मिर्गौलाको रोगी, जसले मिर्गौला प्रत्यारोपण गरेर बोनसको जिन्दगी बाँचिरहेको छ, त्यस्तो व्यक्तिलाई यो सबै किन चाहिन्थ्यो ? एउटा कुटी भए त पुगिहाल्थ्यो ! तर सपना देख्ने एउटा संकल्पित मानिसलाई आफू जिएरमात्र आत्मसन्तुष्टि मिल्दोरहेनछ । त्यस्तो व्यक्तिले आफूजस्तो रोगी अर्काे नहोस् भनी रोगै नलाग्ने बाटो खोजेर अरूलाई त्यसै बाटोमा हिँडाउन खोज्दोरहेछ । निर्विवाद रूपमा आउने बुढ्यौलीलाई सहज यापन गर्ने उपाय के छ ? बाटो खोज्दोरहेछ । ‘सर्वहिताय’ भाव जागृत गराएर सम्पूर्ण मानवकल्याणको हितका लागि आफूलाई समर्पित गर्दाेरहेछ ।
सोचें, श्रीओम श्रेष्ठले नसम्झेको भए मैले यो सबै अनुभव गर्न पाउने थिइनँ । यस्तो अवसर जुटाइदिने श्रीओम श्रेष्ठप्रति कृतज्ञ भइनँ भने म कृतघ्न हुन्छु । मैले सन्तोषको श्वास लिएँ–आजको दिन मेरा लागि अत्यन्त फलदायी भयो ।
हामी जरसिङपौवा मुनिको वनका घुम्तीहरू पार गर्दै शीतल पवन सेचन गर्दै साँखुफाँटको पल्लो कुनामा ओर्लियौं । ‘द खोला’ लेखिएको बोर्डले झस्कायो । पहिले–पहिले यात्रा गर्दा मैले त्यस्तो बोर्ड देखेको थिइनँ । याद गरिनँ कि के भयो कुन्नि !
अलिकति तल साँखुबजार ओर्लेपछि यही खोला शालीनदी बन्छ र अझै तल पुगेपछि मनोहरा नामले चिनिन्छ । यही मनोहरा कोटेश्वरमुनि बालकुमारी पुगेपछि वाग्मतीमा मिसिन्छ र आफ्नो अस्तित्व मेट्छ । यस प्रकृतिका नदीहरू नेपालमा धेरै छन्, जुन नदीहरू भोटबाट एउटा नामले उद्गम हुन्छन्, नेपालमा आएपछि नेपालीकरण गरिन्छन्, भारत प्रवेश गरेपछि अर्कै नाममा न्वारन गरिन्छन् र समुद्रमा मिसिन्छन् ।
उफ् गर्मी र धुलो ! स्वर्गीय आनन्द भोगिरहेको मानिस पुनः मत्र्यलोकमा अवतरण गरेजस्तो ! जाँदाखेरिको हिलेबाटो पनि दिनभरको सूर्यतापले सुकेर धुलाम्य भइसकेछ । बसको झ्याल थुन्दा गुम्सिने र खोल्दा धुलोले नुहाउनुपर्ने बाध्यताबीच अघि बढ्दै बौद्ध बजारमा आधा घण्टा लाइन लागेपछि मात्र म चावहिल ओर्लिएँ । (पन्त साहित्यकार हुनुहुन्छ ।)