सबै वडाबासीको विद्युत महशुल आफैँले तिरिदिने वडा अध्यक्षको घोषणा

Read Time = 2 mins

बैतडी । पाटन नगरपालिका ९ का वडा अध्यक्ष कालुसिंह भाटले आफ्नो वडाबासी सबैको विद्युत महशुल तिरिदिने घोषणा गर्नुभएको छ । आफ्नो मासिक पारिश्रमिकबाट वडामा रहेका सबै ग्राहकको विद्युत महशुल दिन उहाँले घोषणा गर्नुभयो ।

सिद्धेश्वर मावि हुक्केडाडाँमा सोमबार आयोजित सहभोज कार्यक्रममा उहाँले आफू तलबका लागि नभई जनसेवाका लागि वडा अध्यक्ष बनेको दाबी गर्नुभयो। आफ्नो कार्यकालभर इमान्दारिताका साथ काम गर्ने पनि उहाँले बताउनु भयो । उहाँ नेकपा माओवादी केन्द्रबाट वडाअध्यक्षमा विजय हुनुभएको हो ।

वडा अध्यक्षले पारिश्रमिक नलिने र सो रकम वडाबासीको विद्युत महशुलमा खर्च गर्ने निर्णय भैसकेको वडा सदस्य प्रेमसिंह भाटले बताउनु भयो । उहाँले भन्नुभयो,'म्रो वडामा जम्मा चार सय ५० प्रयोगकर्ता छन् । उनीहरूको मासिक न्युनतम महशुल बुझाइ दिने निर्णय भएको छ । यसरी मासिक करिब १३ हजार पाँच सय रकम हुन्छ । उक्त रकम अध्यक्षको तलबबाट तिर्न समस्या हुँदैन ।'

विद्युत महशुल वडाअध्यक्षले तिरिदिने भएपछि स्थानीय खुसी भएका छन् ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?