सनसनीपूर्ण जितसँगै सिटीलाई प्रिमियर लिगको उपाधि

Read Time = 8 mins

लन्डन । खेलको दोस्रो हाफमा पाँच मिनेटभित्र सनसनीपूर्ण तीन गोल गर्दै म्यानचेस्टर सिटीले एस्टन भिल्लालाई पराजित गरेर इंग्लिस प्रिमियर लिगको उपाधि उचालेको छ । पोप गार्र्डिआवालाको टोली सिटीलाई लिगको उपाधि उचाल्न सिजनको अन्तिम खेलमा जित आवश्यक थियो । तर, म्याटिकास र फिलिप्पे काउन्टिन्होले गोल गरेपछि ६९ मिनेटसम्म सिटी २-० ले पछि पर्‍यो ।

त्यसपछि सनसनीपूर्ण पुनगरागन गर्नेक्रममा ७६, ७८ र ८१ मिनेटमा तीन गोल फर्काउँदै पाँच सिजनमा सिटीले चौथोपटक लिगको उपाधि जित्यो । सिटीले एस्टन भिल्लालाई तीन/दुईले पराजित गर्दै दोस्रो स्थानको लिभरपुलले पनि अन्तिम खेलमा वल्भ्समाथि तीन/एकको जित हात पारेको थियो । तर, लिभरपुल एक अंकले पछि पर्दै उपाधि जित्न असफल भयो । समग्रमा सिटी ३८ खेलमा ९३ अंकसाथ उपाधि जोगाउन सफल रहृयो । यता लिभरपुल ३८ खेलमा ९२ अंकसाथ दोस्रो भयो ।

खेलको ३७ औँ मिनेटमा म्याटी क्यासले एस्टन भिल्लालाई सुरुवाती अग्रता दिलाउनुभयो । उहाँले लुकास डिग्नको पासमा गोल गर्नुभएको थियो । ६९औँ मिनेटमा ओली वाटकिन्सको पासमा कोउटिन्होले पेनाल्टी क्षेत्र बाहिरबाट काउन्टर अट्याकमा गोल गर्दै भिल्लाको अग्रता दोब्बर पार्नुभयो ।

त्यसपछि भने सिटीले लिगमा सानदार पुनरागमन गर्‍यो । ७६औँ मिनेटमा रहिम स्टर्लिङको पासमा इल्काए गुन्डोगनले गोल गर्दै सिटीलाई खेलमा फर्काउनुभयो । लगत्तै सिटीका अलेक्जेन्डर जिन्चेन्कोको पासमा रोड्रीले पेनाल्टी क्षेत्र बाहिरबाट गोल गर्दै खेलमा बराबरी गर्नुभयो ।

त्यसपछि पनि सिटी रोकिएन । केभिन डे ब्रुएनको क्रसमा गुन्डोगनले ६ यार्ड बक्सभित्रबाट गोल गर्दै सिटीलाई सानदार जित दिलाउनुभयो ।
प्रशिक्षक पोप गार्डिआवालाले पछिल्ला ६ वर्षमा जितेको यो ११औँ उपाधि हो । उपाधि जितेपछि उहाँले सिटीको टोली महान् रहेको र सबैले याद गर्ने प्रतिक्रिया दिनुभएको छ ।

‘हामी महान छौँ । हामीलाई सबैले सम्झनेछन् । जुन सफलता हामीले हात पार्‍यौँ, यो चानचुने मिहिनेतले सम्भव भएको होइन । सर एलेक्स फर्गुसनले यस्तै सफलता वर्षौं अघि म्यानचेस्टर युनाइटेडका लागि गरेका थिए । अहिले हामी त्यसै यात्रामा छौँ,’ प्रशिक्षक गार्डिआवालाले उपाधि जितेपछि प्रतिक्रिया दिनुभयो ।

अर्कोतर्फ उपाधि उचाल्ने सोचसहित मैदान उत्रिएको लिभरपुल खेलको तेस्रो मिनेटमा पछि पर्‍यो । पेड्रो नेटोले राउल जिमिनेजको पासलाई गोल गर्दै वल्भ्सलाई अग्रता दिलाउनुभएको थियो । २४औँ मिनेटमा साडियो मानेले खेलमा बराबरी गोल गर्नुभयो । ८४औँ मिनेटमा मोहमद सलाहले र ८९औँ मिनेटमा एन्डी रोबर्टसनले गोल गर्दै लिभरपुललाई जित दिलाए पनि उपाधि उचाल्नका लागि भने एक अंक कम भयो ।

लिभरपुलले यो सिजन एफए कप र इंग्लिस फुटबल लिग कपको उपाधि जितिसकेको छ । अब लिभरपुलले २८ मेमा युइएफए च्याम्पियन्स लिगको उपाधिका लागि स्पेनिस क्लब रियल म्याड्रिडसँग खेल्नेछ । उक्त खेलमा च्याम्पियन बन्न सके लिभरपुलले सिजनको तेस्रो उपाधि जित्दै सिजन अन्त्य गर्नेछ ।

सन र सलाहलाई गोल्डेन बुट
यस सिजनका सर्वाधिक गोलकर्ताद्वय टोटनहम हट्सपरका हृयुङ मिन सन र लिभरपुलका मोहमद सलाहले गोल्डेन बुट हात पार्नुभएको छ । २३ गोलका साथ दुवैजना सर्वाधिक गोलकर्ता बन्नुभएको थियो ।

टोटनहमलाई चौथो स्थानमा राख्दै च्याम्पियन्स लिगमा छनोट गराउन सनको भूमिका महत्वपूर्ण थियो । लिगको अन्तिम खेलमा उहाँले दुई गोल गर्दै सिजनको गोल संख्या २३ पुर्‍याउनुभएको हो ।

अन्तिम दिन एक अंकले पछि पर्दै दोस्रो स्थानमा सीमित लिभरपुलका लागि मोहमद सलाहले अन्तिम दिन पनि एक गोल गर्दै २३ गोल पुर्‍याउनुभएको थियो । सलाहले सर्वाधिक गोलकर्तासँगै सर्वाधिक सहायक गोलकर्ताको उपाधि पनि जित्नुभयो । उहाँले लिग अवधिभर १३ गोलमा सहायकको भूमिका निर्वाह गर्नुभएको थियो ।

आर्सनल पाँचौँ
लिगको अन्तिम दिन आर्सनलले एभर्टनमाथि पाँच/एकको सानदार जित निकाल्यो । आर्सनलको फराकिलो जितमा गाब्रियल मार्टिनेली, इडवार्ड एनकेइटा, सेडरिक सोराएस, गाब्रियल र मार्टिन ओडेगार्डले गोल गर्दा एभर्टनका डानी भान डि विकले एक गोल फर्काउनुभयो ।

२७औँ मिनेटमा गाब्रियल मार्टिनेलीको पेनाल्टी गोलबाट आर्सनलले अग्रता लियो । ३१औँ मिनेटमा इडवार्ड एनकेइटाले अग्रता दोब्बर पार्नुभयो । पहिलो हाफको इन्जुरी समयमा डोनी भान डि विकले एक गोल फर्काउनुभयो ।

५६औँ मिनेटमा सेडरिक सोराएस, ५९औँ मिनेटमा गाब्रियलले तथा ८२औँ मिनेटमा मार्टिन ओडेगार्डले गोल गरेपछि आर्सनल पाँच/एकले विजयी बन्यो । यो जितसँगै ३८ खेलबाट ६९ अंक जोडेर पाँचौँ स्थानमा रहेको आर्सनलले अर्काे सिजनको युरोपा लिगमा स्थान पक्का गरेको छ । पराजित एभर्टन ३९ अंक जोडेर १६औँ स्थानमा रहृयो ।

यस्तै चेल्सीले घरेलु मैदानमा वाट्फोर्डलाई दुई/एकले पराजित गर्‍यो । चेल्सीको जितमा काई हाभर्टज र रोस बार्कलेले एक/एक गोल गर्नुभयो । वाट्फोर्डका डान गोस्लिङले एक गोल फर्काउनुभयो । यो जितसँगै चेल्सीले ३८ खेलबाट ७४ अंक जोडेर तेस्रो स्थानमा रहँदै लिगको अन्त्य गरेको छ । वाट्फोर्ड २३ अंक जोडेर १९औँ स्थानमा रहृयो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?