स्थानीय तह निर्वाचनको परिणामप्रति कांग्रेस सन्तुष्ट, गठबन्धन निरन्तरताको बलियो आधार तय भएको दाबी

हिमालय टाइम्स
Read Time = 14 mins

अनिल क्षेत्री/हिटा
काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनको परिणाम सन्तोषजनक रहेको बताएको छ । सोमबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले स्थानीय तह निर्वाचनको परिणाम सन्तोषजनक रहेको र कांग्रेसले अन्य दलसँग गठबन्धन गरे पनि आफ्नै संगठन बलियो भएको कारण गठबन्धन नभएका धेरै ठाउँमा पनि जित हासिल गर्न सफल भएको बताउनुभएको हो । प्रवक्ता महतले भन्नुभयो, ‘स्थानीय तह निर्वाचनको परिणाम लगभग आइसकेको छ ।

छिटपुटबाहेक मतगणना सकिएको छ, नेपाली कांग्रेसले प्राप्त गरेको परिणाम सन्तोषजनक नै छ । गठबन्धनका कारण गठबन्धनका अन्य दलले पनि उल्लेख्य जित हासिल गर्नुभएको छ ।’ प्रवक्ता महतले कांग्रेस नेतृत्वको सरकारले सफलतापूर्वक निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित निर्वाचन गर्न सफल भएको बताउनुभयो ।

गठबन्धन अगाडि बढ्न मजबुत आधार बनेको निष्कर्ष
सत्तारूढ पाँच दलीय गठबन्धनको प्रमुख घटकसमेत रहेको कांग्रेसले स्थानीय तह निर्वाचनको परिणामले आगामी राष्ट्रिय निर्वाचनमा गठबन्धनलाई अघि बढाउने मजबुत आधार तय भएको निष्कर्ष निकालेको छ । वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मत परिणामले सत्तारूढ पाँच दलीय गठबन्धनका केही दलले असन्तुष्टि जनाइरहेको बेला प्रमुख घटक नेपाली कांग्रेसका प्रवक्ता डा.महतले भन्नुभयो, ‘निर्वाचन परिणाम सन्तोषजनक छ । कांग्रेस आफैँले पनि धेरै ठूलो सफलता हासिल गरेको छ ।

तालमेलसहित निर्वाचन परिणामलाई हेर्ने हो भने सहयोगी दलहरूले पनि उल्लेख्य सफलता पाएका छन् । कांग्रेसले स्वतन्त्र र निष्पक्ष निर्वाचनमा सहयोग गर्दै आएको छ । जनमत हाम्रो पक्षमा आइसकेको छ । गठबन्धन दलहरू सहयोगीका रूपमा निर्वाचनमा गएका थियौँ । समग्रमा लय मिलेको छ । अपवादबाहेक गठबन्धन सफल भएको छ ।’

निर्वाचन परिणामबाट गठबन्धनको नेतृत्व खुसी भएको जिकिर गर्दै प्रवक्ता महतले भन्नुभयो, ‘गठबन्धनको नेतृत्व पनि यसबाट खुसी नै छ । प्रदेश र संघको निर्वाचनमा गठबन्धन लैजाने मजबुत आधार पनि यो निर्वाचनले बनाएको छ ।’

प्रवक्ता महतले प्रधानमन्त्रीसमेत रहनुभएका पार्टी सभापति शेरबहादुर देउवाले गठबन्धनको कुरा गर्दा सफल हुँदैन भन्ने पार्टीभित्र र बाहिरकाहरूले पनि जवाफ पाएको टिप्पणी गर्दै भन्नुभयो, ‘गठबन्धन सफल हुन सक्दैन भनेर पार्टीभित्र र बाहिरबाट गफ हुन्थ्यो । यो सरकार कस्तो परिस्थितिमा बनेको सबैलाई थाहै छ, ती भ्रमलाई चिरेर गठबन्धनको आधार मजबुत बनाएको छ । यो गठबन्धन प्रदेश र संघको निर्वाचनमा पनि सँगै जान्छ ।’

यसैबीच, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि संविधान र मुलुक बचाएर समृद्ध नेपाल बनाउनका लागि भएकाले वर्तमान पाँच दलीय गठबन्धन प्रदेश र आमचुनावसम्म जाने बताउनुभएको छ । तनहुँको व्यास नगरपालिकाको विजय र्‍यालीपछि सभालाई सोमबार सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले राजनीति र अहिलेको व्यवस्थालाई स्थायित्व दिएर मुलुकलाई विकास र समृद्धिको बाटोमा अघि बढाउनका लागि परिवर्तनका पक्षधर पाँच दलबीच गठबन्धन भएकाले यो अझै अगाडि बढ्ने बताउनुभएको हो ।

मुख्यगरी गठबन्धनमा आबद्ध नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका केही नेताहरूले निर्वाचन परिणामलाई लिएर गठबन्धनप्रति प्रश्न उठाइरहेका छन् । यद्यपि, सार्वजनिक रूपमा असन्तुष्टि भने व्यक्त गरेका छैनन् । स्थानीय तह निर्वाचनको परिणामप्रति असन्तुष्टि जनाए पनि कुनै पनि दल गठबन्धनबाट बाहिरिने पक्षमा छैनन् ।

निर्वाचन परिणामप्रति असन्तुष्ट दल नेकपा एकीकृत समाजवादी संसदीय दलका प्रमुख सचेतक जीवनराम श्रेष्ठले कांग्रेसबाट सोचेजस्तो सहयोग नमिले पनि सत्ता गठबन्धनलाई निरन्तरता दिने लक्ष्यबाट भने आफ्नो पार्टी विचलित नहुने दाबी गर्नुभयो । कांग्रेस छाडेर वामपन्थी गठबन्धन बनाउन भइरहेका केही प्रयासहरू अहिले सफल नहुने जिकिर गर्दै श्रेष्ठले भन्नुभयो, ‘तलसम्म गठबन्धन प्रभावकारी हुन सकेन । हाम्रा लागि गठबन्धन फलदायी भएन । तर, प्रतिगमनबाट मुलुकलाई बचाउने उद्देश्यका साथ बनेको गठबन्धन टुटाउने पक्षमा नेकपा (एस) छैन । वाम नामको गठबन्धन र एकता पनि हामीले आवश्यक ठानेका छैनौँ । वाम नाममा केपी ओलीले विगतमा जेजस्तो संविधानविरोधी हर्कतहरू गरे, त्यो विचार उनले सच्याएका छैनन् । नसच्याएसम्म वाम एकता हुन सक्दैन ।’

निर्वाचन परिणामप्रति असन्तुष्ट दल जनता समाजवादी पार्टीका प्रभावशाली नेता मनिष सुमनले केन्द्रको निर्णयलाई कांग्रेसका तल्ला तहका कार्यकर्ता र मतदाताले सम्पूर्ण रूपमा नमान्दा चुनावी गठबन्धन आंशिक रूपमा मात्रै सफल भएको निष्कर्ष सुनाउँदै भन्नुभयो, ‘निर्वाचनमा कांग्रेसले सहयोग गरेन भन्दैमा जसपा गठबन्धन भत्काउने पक्षमा छैन । एउटा सनकी नेताको हातमा फेरि सत्ताको साँचो सुम्पिन हुन्न भन्ने मान्यतामा हामी अडिग छौँ । स्थानीय तहका चुनावमा कहाँ-कहाँ कमजोरी भए त्यसलाई सच्चाएर संघ र प्रदेशमा गल्ती नदो¥याउने गरी गठबन्धनमा जानुपर्छ भन्ने पक्षमा जसपा छ ।’

पार्टीभित्र केही नेताहरूले चुनावी परिणामप्रति असन्तुष्टि जनाए पनि सत्तारूढ गठबन्धनको दोस्रो ठूलो दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त यसअघि नै स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धन मूलभूत रूपमा सफल भएको प्रतिक्रिया दिइसक्नु भएको छ । चुनावी तालमेल भएका धेरै पालिकामा गठबन्धनको मर्मलाई कक्डिन सफल देखिएको निष्कर्ष निकाल्दै अध्यक्ष दाहालले भन्नुभयो, ‘हामीले गठबन्धनबाट देशको राजनीतिमा परिवर्तन वा स्थायित्व र विकासको नयाँ यात्रा सुरु गर्न खोजेको हो, मूलभूत रूपमा गठबन्धन सफल भएको हो । यो गठबन्धनलाई आउने प्रदेश र संघीय निर्वाचन र त्यसपछि देशको विकास र समृद्धिको यात्रामा पनि लिएर जाने संकल्प गरिएको र त्यसमा गठबन्धनमा रहेको दल दृढ छौँ ।’

कांग्रेसबाट गठबन्धनमा धोका नभएको जिकिर
गठबन्धनका कतिपय दलहरूले कांग्रेसबाट धोका भएको टिप्पणी गरिरहँदा कांग्रेसले भने स्थानीय तह निर्वाचनमा आफ्नो तर्फबाट कुनै धोका नभएको जिकिर गरेको छ । कांग्रेसबाट गठबन्धनमा धोका भएको निष्कर्ष निकाल्नु सरासर गलत हुने भन्दै पार्टी प्रवक्ता डा. महतले भन्नुभयो, ‘कांग्रेसले गठबन्धनमा रहेका दललाई धोका दियो भन्ने निष्कर्ष निकाल्नु हुँदैन । गठबन्धनमा सबै पार्टीलाई मिलाएर जाने कुरा आफैँमा जटिल हो । हाम्रो पार्टी एक्लै लडेको ठाउँमा हाम्रै पार्टीका साथीहरूबाट त अन्तर्घात भएको छ । आफ्नै दललाई मतदान नगरेर अर्को दललाई दिएको छ ।’

गठबन्धनमा समस्या नै आएन भन्ने तर्क गर्नु पनि गलत हुने भन्दै प्रवक्ता महतले भन्नुभयो, ‘ठाउँ, परिवेश र उम्मेदवार विविध कारणले प्रभाव पर्छ । माधव नेपालका पार्टीका उम्मेदवारलाई पनि मत गएको छ । पोखरा र हेटौँडामा कांग्रेसका मतदाताले मत हाल्नुभएको छ ।’
गठबन्धनको घटक नेकपा एकीकृत समाजवादीले एमालेबाट मत तान्न नसकेको जिकिर गर्दै प्रवक्ता डा. महतले भन्नुभयो,‘माधवजीको पार्टीले एमालेको मत तान्न सकेन । हामीले मत नहालेको होइन । कांग्रेसले गठबन्धनमा इमानदारी देखाएको भरतपुर र पोखरा महानगरपालिकाबाट पुष्टि भएको छ । पोखरा र भरतपुरको परिणाममा कुनै असर नपर्ने देखिएको छ ।’ स्थानीय निर्वाचनको छोटो समयमा मतदाता शिक्षा दिन नसक्दा केही ठाउँमा भने गठबन्धन पराजित हुनुपरेको प्रवक्ता महतको भनाइ छ ।

स्वतन्त्र उम्मेदवारको जितलाई नोटिस गरेको प्रतिक्रिया
कांग्रेसले केही स्थानीय तहमा स्वतन्त्र उम्मेदवार निर्वाचित भएको विषयमा समीक्षा गर्ने बताएको छ । कांग्रेस प्रवक्ता डा. महतले स्वतन्त्र उम्मेदवारहरू निर्वाचित हुनुले पार्टी फेल भएको भन्न नमिल्ने जिकिर गर्दै भन्नुभयो, ‘नेपाली कांग्रेस फेल भयो, पार्टी असफल भइसक्यो भन्न मिल्दैन । के कारणले युवा पंक्ति असन्तुष्ट छन्, उहाँहरूका भावना सम्बोधन गर्न लाग्छौँ । कांग्रेस गतिशील पार्टी हो । अनुभवबाट पाठ लिने हो । कहिलेकाहीँ विभिन्न खाले कुरा चल्छन् । यसले केही गरिहाल्छ कि भन्ने उत्सुकता चल्छ । हाम्रो पार्टीले नोटिसमा लिएको छ । कहाँ-कहाँ कमजोरी रह्यो मूल्यांकन गर्छौं । पार्टीलाई समयसापेक्ष बनाउने सोच छ । केही ठाउँमा अपवाद परिणाम आउन थाल्यो भनेर पार्टी फेल भए भन्ने कुरा हुँदैन । पार्टीहरूले सिक्छन् । निरन्तर सिक्ने, परिमार्जन गर्ने, समयसापेक्ष पार्टीलाई बनाउने प्रक्रिया हो ।’

पार्टीभित्रको अन्तर्घातले ७० पालिका गुमेको दाबी
नेपाली कांग्रेसले पार्टीभित्रको अन्तर्घातका कारण करिब ७० पालिका जित्न नसकेको ठहर गरेको छ । यो स्थानीय तह निर्वाचनमा पार्टीभित्रको अन्तर्घातका कारण कांग्रेसले भनेजति सिट जित्न नसकेको दाबी गर्दै प्रवक्ता महतले भन्नुभयो, ‘पार्टीभित्र अन्तर्घात ठूलो समस्याको रूपमा देखियो । हाम्रो पार्टीमा अन्तर्घातको समस्या पुरानै हो । हामीले अन्तर्घातका कारण कैयौँ पालिका गुमायौँ । यदि अन्तर्घात नभएको भए कांग्रेसले ४०० पालिका जित्ने थियो । हामी यसबारे समीक्षा गर्नेछौँ । अन्तर्घातबारे पार्टी केन्द्रले समीक्षा गरेर आवश्यक कारबाही प्रक्रिया अघि बढाउनेछ ।’

पुनःमतदान गर्न माग
कांग्रेसले चुनावमा धाँधली भएको र राज्यशक्तिको दुरुपयोग भएको भन्ने नेकपा एमालेको आरोपको खण्डन गरेको छ । बाजुराको बुढीगंगा नगरपालिकाको चारवटा वडामा भने एमालेले धाँधली गरेको भन्दै कांग्रेस प्रवक्ता डा. महतले त्यहाँ पुनः मतदान गर्न माग गर्नुभएको छ । यस्तै, उदयपुरको त्रियुगाको एउटा वडामा पनि समस्या रहेको भन्दै डा. महतले तत्काल निर्णय गर्न निर्वाचन आयोगलाई आग्रह गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?