रञ्जन कोइराला बाँकी सजायका लागि पक्राउ

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । सशस्त्र प्रहरी बलका पूर्व-डिआइजी रञ्जन कोइराला पक्राउ परेका छन् । सर्वोच्च अदालतबाट जन्मकैदको फैसला उल्टिएपछि फरार भएका कोइरालालाई उपत्यका अपराध अनुसन्धान महाशाखाले शुक्रबार पक्राउ गरेको हो । सर्वोच्चले कोइरालाको कैद मिनाहा गर्ने निर्णय बिहीबार उल्ट्याएको थियो ।

अदालतले आफ्नै निर्णय उल्ट्याउँदै पूर्व-डिआइजी कोइरालाको जन्मकैद सदर गरेको थियो । यसअघि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले कोइरालाको कैद मिनाहा गरेको थियो ।

काठमाडौं जिल्ला अदालतले पूर्व-डिआइजी कोइरालाविरुद्ध पत्नी मारेर प्रमाण लुकाउन उनको शव जलाएको अभियोगमा सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो । उनी जिल्लाको फैसलाविरुद्ध ललितपुर पुनरावेदन अदालत गएका थिए । तर, पुनरावेदन अदालतले समेत जिल्ला अदालतकै फैसला सदर गरेपछि उनले सर्वोच्च पुगेका थिए । सर्वोच्च अदालतले २०७७ असार १५ मा उनको कैद सजाय ११ वर्ष घटाउने फैसला गरेपछि महान्यायाधिवक्ताको कार्यालयले पुनरावलोकनका लागि निवेदन दिएको थियो ।

२०७७ साउनमा संयुक्त इजलासले सजाय घटाइदिएपछि कोइराला आठ वर्ष ६ महिनामै जेलमुक्त भएका थिए । उक्त आदेशपछि चोलेन्द्रशमशेरको चौतर्फी आचोलना भएको थियो भने महान्यायाधिवक्ता कार्यालयले दिएको निवेदनमा सुनुवाइ गर्दै सर्वोच्चले पुनरवलोकनको निस्सा दिएको थियो । सजाय घटाउन आदेशलगत्तै कोइराला डिल्लीबजार कारागारबाट मुक्त भएका थिए ।

बिहीबारको फैसलासँगै अब कोइराला २० वर्ष नै जेल बस्नुपर्ने भएको छ । जेलबाहिर रहेका उनलाई बाँकी सजायका लागि प्रहरीले पक्राउ गरेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?