पर्यटकीय पूर्वाधार निर्माणसँगै बढे पर्यटक

Read Time = 4 mins

-ध्रुवसागर शर्मा

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–२ रुमस्थित पर्यटकीय दुरुलेकमा पर्यटकीय पूर्वाधार निर्माण गरेपछि आन्तरिक पर्यटकहरूको भिड लाग्न थालेको छ । म्याग्दी र बागलुङको सिमानमा रहेको पर्यटकीयस्थल दुरुलेकमा गण्डकी प्रदेश सरकारबाट प्राप्त बजेटबाट पदमार्ग, सत्तल, मन्दिरलगायतका पूर्वाधारहरू निर्माण गरिएको हो । गाउँपालिकाको सिफारिस र गण्डकी प्रदेश सरकारबाट प्राप्त २५ लाख रूपैयाँ बजेटबाट पदमार्ग निर्माण गरिएको मालिका गाउँपालिकाकी निवर्तमान उपाध्यक्ष खरमाया विटालुले बताउनुभयो । उहाँले प्रदेश सरकारको थप १० लाख बजेटबाट पर्यटक बस्ने घर निर्माण गरिएको जानकारी दिनुभयो ।

समुद्री सतहदेखि तीन हजार ४८४ मिटर उचाइमा अवस्थित दुरुलेखमा हिमशृंखला र ग्रामीण भुगोलको अवलोकनका लागि नयाँ वर्षमा म्याग्दी र बागलुङका पर्यटक पुग्ने गर्छन् । प्राकृतिक, जैविक, ऐतिहासिक र धार्मिकस्थलका रूपमा दुरुलेक महत्वपूर्ण रहेको छ । तर, पूर्वाधारसँगै प्रचार–प्रसार अभावले यसको फाइदा ग्रामीणवासीको आयस्रोतको माध्यम बन्न नसकेको रुमका चोकेन पुन मगरले बताउनुभयो । दुरुलेकमा लालीगुराँसको घनाजंगल, दर्जनौँ हिमालको दृश्य र म्याग्दी र बागलुङलगायत जिल्लाको ग्रामीण बस्तीका डाँडाकाँडा दृश्यसँग रमाउन पर्यटक आउँछन् । ‘धौलागिरि, अन्नपूर्ण, निलगिरिलगायतका हिमालहरू एउटै रेञ्जमा नजिकबाट देख्न पाइन्छ ।’ प्राकृतिक दृश्यसँग रमाउन आउने पर्यटकलाई दुरुलेकदेखि झण्डी डिलसम्म पुग्ने पदमार्ग र चौतारी निर्माणले सहज भएको छ ।

पर्यटकका लागि मठ्ठा चढाउने भिरले पनि थप आकर्षण गरेको छ । वसन्त ऋतुसँगै जंगलमा लालीगुराँस फुल्ने हुँदा फोटो र भिडियो बनाउन विशेष गरी युवायुवती बढी दुरुलेक पुग्छन् । पर्यटकहरूको बसाइ लम्ब्याउन बस्नेखाने र रमाउने पर्यटन पूर्वाधार निर्माण गर्न स्थानीय सरकारले गुरुयोजना निर्माण गर्नुपर्ने माग गरिरहेको स्थानीय नरबहादुर पुनले बताउनुभयो ।

ताराखोला गाउँपालिका–५ सिपका तिलप्रसाद आचार्यले दुरुलेकमा भाकल गरेपछि नौजना छोरीपछि छोरा नवीन आचार्य जन्मिएपछि दुरुलेकस्थित डडेलेक शिवालय मन्दिर र खानेपानी सुविधा निर्माण गरेको जनविश्वास रहेको छ । स्वदेश तथा विदेशमा सोचेको रोजगारी र व्यवसायलगायतका आकांक्षाहरू पूरा हुने विश्वास लिएर युवायुवतीको भिड शिवालय मन्दिरमा हुने गर्दछ ।

सदरमुकामदेखि मालिका गाउँपालिकाको केन्द्र दरवाङ हुँदै अधिभारा, फूलबारी, डाँडागाउँ, निस्कोट, रुम, जैम हुदै घाङ्लेपानीसम्म सवारीसाधनमा पुगिन्छ भने घाङ्लेपानीबाट करिब पाँच घण्टामा लालीगुराँसको घनाजंगल हुँदै गाइभैंसी र भेडाबाख्राका गोठहरू, वन्यजन्तुको अवलोकन र आवाज सुन्दै पदयात्रामार्फत् दुरुलेकमा पर्यटक पुग्छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?