गणतन्त्र स्थापनाको १५ वर्ष -शान्ति प्रक्रियाका बाँकी कार्यभार ज्युँका त्युँ

Read Time = 4 mins

काठमाडौं । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको आज १५ वर्ष भएको छ । संविधानसभाको पहिलो बैठकमा ५६० जना सभासदले गणतन्त्र कार्यान्वयनका लागि संविधानसभामा निर्णायर्थ प्रस्तुत प्रस्तावको पक्षका मत दिएपछि गणतन्त्र स्थापना भएको हो ।

चार जना सभासद भने गणतन्त्र कार्यान्वयन प्रस्तावको विपक्षमा उभिएका थिए । यद्यपि, बहुमतले प्रस्ताव पारित भयो ।

तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको तर्फबाट संविधानसभामा गृहमन्त्री कृष्णप्रसाद सिटौलाले गणतन्त्र कार्यान्वयनको प्रस्ताव निर्णायर्थ प्रस्तुत गर्नुभएको थियो ।

ज्येष्ठ सदस्यको हैसियतले संविधानसभा अध्यक्ष कुलबहादुर गुरुङ हुनुहुन्थ्यो। गुरुङको अध्यक्षतामा बसेको संविधानसभाको पहिलो बैठकले नै राजतन्त्रको अन्त्यको विकल्प खोज्दै गणतन्त्रको प्रस्ताव पारित गर्दै २४० वर्षे निरङ्कुश भनिएको राजतन्त्रात्मक व्यवस्थाको अन्त्य गर्यो ।

सोही अवसरमा सरकारले प्रत्येक वर्ष गणतन्त्र दिवस मनाउँदै आएको छ । दिवसको अवसरमा आज सरकारले सैनिक मञ्च टुँडिखेलमा गणतन्त्र दिवस विशेष कार्यक्रम गर्दैछ ।

दिवसलाई राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवालगायतले सम्बोधन गर्दै हुनुहुन्छ ।

कार्यक्रममा संवैधानिक निकायका प्रमुख, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभा अध्यक्ष र चारवटै सुरक्षा अंगका प्रमुखहरू सहभागी हुनेछन् ।

गणतन्त्रकै कारण जनताका छोराछोरी राष्ट्र प्रमुख भएका छन् । मधेसमा हुर्किनुभएका डा. रामवरण यादव प्रथम राष्ट्रपति बन्दा प्रदेश १ को पहाडी जिल्ला भोजपुरमा जन्मनुभएकी विद्यादेवी भण्डारी दोस्रो राष्ट्रपति हुनुहुन्छ ।

पहिलो गणतान्त्रिक नेपालको कार्यकारी प्रधानमन्त्री तत्कालीन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ हुनुभयो । गणतन्त्र स्थापनापछि हालसम्म उहाँसहित आठ जना प्रधानमन्त्री भइसकेका छन् ।

तर, पनि शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा भएको छैन । बेपत्ता पारिएका व्यक्तिहरूको खोजबिन हुन सकिरहेको छैन । उनीहरूको अवस्था के हो ? सत्य निरुपण सरकारको तहबाट भएको छैन् ।

द्वन्द्वपीडितका मागहरू सम्बोधन भइसकेका छैनन् । सरकारले बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोग त स्थापना गरेको छ तर आयोगले प्राप्त कार्यजिम्मेवारी पूरा गर्न सकेका छैनन् ।

जसले गर्दा गणतन्त्र स्थापना भएको १५ वर्ष हुँदा पनि शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा नभएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?