बैतडीकी सरस्वतीलाई ‘ग्लोबल एन्टी-रेसिज्म च्याम्पियन्स अवार्ड’

डम्बर बोहरा बैतडी, संवाददाता
Read Time = 2 mins

बैतडी । सिमान्तकृत समुदायको अधिकारका लागि वकालत गर्दै आएकी बैतडीकी सरस्वती नेपालीले संयुक्तराज्य अमेरिकाको डिपार्टमेन्ट अफ स्टेटको यस वर्षको ‘ग्लोबल एन्टी-रेसिज्म च्याम्पियन्स अवार्ड’ (जिएआरसी) प्राप्त गर्नुभएकाे छ । बीस वर्षदेखि नेपालमा सिमान्तकृत जाति, अपाङ्गभएका व्यक्ति र गरिबहरूको मानवअधिकारको वकालत गर्दै आएकी सामाजिक कार्यकर्ता र दलित समाज विकास मञ्चको अध्यक्षका रूपमा उहाँले सो अवार्ड प्राप्त गर्नुभएकाे नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।

नेपालीको प्रयासले नेपालको ग्रामीण पश्चिमी जिल्लाका धेरै दलित परिवारले जग्गाको कानुनी हक र न्याय पाएका छन् । अध्यक्ष नेपालीले सन् २००७ मा नेपालको इतिहासमा जातीय भेदभावको पहिलो सफल अभियोजनसहित न्यायको खोजीमा थुप्रै जातीय भेदभावविरुद्धको मुद्दाहरू जित्नुभएकाे थियाे ।

सम्मान र समानताको खोजीमा उहाँको योगदान साहस र समर्पणको उदाहरण रहेको दूतावासले जनाएको छ । बैतडी घर भएकी नेपालीले यसअघि ५ लाख राशीको अन्तराष्ट्रिय दर्नाल अवार्ड समेत प्राप्त गरिसक्नु भएकाे छ । नेपालीले लामो समयदेखि जातीय विभेदविरुद्ध सक्रिय रुपमा लागिपर्नुभएकाे छ ।

उहाँले दलित, महिला, बालबालिका, पिछडावर्गका मुद्धाहरुमा वकालत गर्दै उनिहरुको न्यायका लागि अभियान चलाउदैँ आउनुभएकाे छ । यस अवार्डले आफ्नो काम गर्ने हौसला बढेको अभियन्ता नेपालीले बताउनुभयाे । आफ्नो बच्चै देखि अन्यायका विरुद्ध बोल्ने आदतले यहाँसम्म पुर्याएको उहाँको भनाई छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?