नमागिएको सल्लाह :
२०८० मंसिर ७ गते एकजना व्यवसायीको संयोजनमा गरिएको प्रदर्शनले आवश्यकताभन्दा बढी चर्चा पायो । संघीय लोकतान्त्रिक गणतन्त्रको विकल्प खोज्ने, ऋणीहरूको ऋण मोचन गरिदिने लगायत माग राख्दै गरिएको प्रदर्शनका उद्देश्य नै जनजीवन अस्तव्यस्त बनाएर आन्दोलनको शक्ति देखाउने रहेकाले निषेधित क्षेत्रतर्फ अगाडि बढ्न खोज्दा सुरक्षा निकायले केही बल प्रयोग गरेको थियो । जबकि नेकपा एमालेको एउटा भ्रातृ संगठनको आहृवानमा तीनकुनेमा गरिएको प्रदर्शन शान्त रहृयो । उनीहरूले निर्धारित स्थानमा नै उक्त कार्यक्रम गरेकाले सुरक्षा निकायलाई कुनै किसिमको शक्ति प्रयोग गर्नुपर्ने अवस्था बनेन ।
यी दुई प्रदर्शन एक आपसमा जुधेर हिंसा भड्केला कि भन्ने चिन्ता सुरक्षा निकाय र यसका परिचालन गर्ने अधिकारीहरूलाई परेको थियो । तर, दुवै प्रदर्शनमा दूरी कायम भएकाले त्यस्तो समस्या केही परेन । खासै जनाधार र विश्वसनीयता नभएका एकजना मेडिकल व्यवसायीले गर्ने भनेको प्रदर्शनले उब्जाएको चर्चा र चासो भने उदेकलाग्दो थियो । लाग्दथ्यो, नेपालमा समाचारको खडेरी परेछ । सञ्चारमाध्यममा चर्चा भएपछि जनसाधारणमा चर्चा हुनु स्वाभाविक थियो तर चर्चा भए अनुसार र लगानी गरिएनुसार मानिसहरू आएनन् । तथापि चर्चा भने सेलाइसकेको छैन । चर्चाको केन्द्रमा रहेका मेडिकल व्यवसायीको अगुवाइमा देखिएको प्रसाई प्रवृत्ति, राजाको पुनरागमनको प्रश्न, उठाइएको प्रश्नलाई कसरी सम्बोधन गर्ने लगायत विषयमा यस आलेखमा चर्चा गरिनेछ ।
प्रसाई प्रवृत्ति देखिनुको कारण :
२०३६, २०४६ सालको राजनीतिक परिवर्तनमा अहिलेका मुख्य पार्टी नेपाली कांग्रेस र कम्युनिष्ट पार्टीप्रति जनताको हार्दिक आस्था रहेको थियो । यी दलहरूलाई जनताले तारण हार नै ठानेका थिए । विसं २०४८ मा भएको संसदीय निर्वाचनमा नेपाली कांग्रेस पार्टीलाई जनताले स्पष्ट बहुमत दिएका थिए तर तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको अहंकार, हठ र व्यवस्थापन कमजोरीका कारण सरकार ढल्यो र मुलुकमा राजनीतिक अस्थिरताको शृंखला सुरु भयो । जनतामा प्रजातान्त्रिक पद्धतिले उब्जाएको आशा निराशामा परिणत हुन थाल्यो ।
जनताको निराशाको आक्रोशजन्य चेतना देशको परिवर्तन छु मन्तर गरेर परिवर्तन गर्न सक्ने तारण हारको खोजीमा छ । त्यस खोजीमा कहिले बालेन साह अवतार प्रकट भयो, कहिले रवि लामिछाने अवतार प्रादुर्भाव भयो । त्यो आक्रोशले राजा मान्ने राजेन्द्र लिङ्देनजस्तामा पनि सम्भावना देख्यो ।
कांग्रेसले गल्ती गरेका कारण कांग्रेसलाई जनताले दण्डित गरे, कसैको बहुमत आउन सकेन । कुनै पार्टीको बहुमत नभएको अवसरको फाइदा राप्रपाले चरम रूपमा उठायो । यसबेला देखिएका राजनीतिक विकृतिले जनतामा निराशा बढेता पनि विसं २०५६ सालमा भएको निर्वाचनमा जनताले कांग्रेसलाई क्षमादान दिएर पुनः बहुमत दिए । त्यसबेला पनि सरकारले सुशासन दिएर बलियो गरी अगाडि बढ्न नसकेको अवस्थामा राजा ज्ञानेन्द्रको कुदृष्टि लाग्यो र पुनः झन् खराब दिनको सुरुवात भयो । राजा ज्ञानेन्द्रको शासनबाट मुक्ति पाउन सशस्त्र विद्रोही माओवादीलाई साथमा लिएर आन्दोलन गर्नुपर्यो, यस आन्दोलनले राजालाई नारायणहिटी दरबारबाट नागार्जुनतिर वानप्रस्थ आश्रममा पठायो ।
जनतालाई लागेको थियो-शताब्दियौंको इतिहास भएको र राज्यका स्रोतसाधन दोहन गरेर देशलाई कमजोर बनाएको दरबारका राजा र दरबारियाहरूको शासन समाप्त भएपछि अब हाम्रा दिन सुरु भए । गणतन्त्र स्थापनापछि भएको निर्वाचनमा आमूल परिवर्तनका लागि भनेर क्रान्ति गरेको माओवादी सत्तामा स्थापित भयो, सत्ताको मेसो मिलाउँदा मिलाउँदै कटुवाल धरापमा पर्यो । जनताले क्रान्तिकारीहरूले चलाएको सत्ताको स्वाद लिन नै पाएनन् । यो घटनापछि माओवादीको क्षयीकरण सुरु भयो । संविधानसभाबाट संविधान बनाउने धोको पहिलो संविधानसभाले पूरा गर्न सकेन ।
दोस्रो पटकको संविधानसभा, संविधान जारी गर्न सफल भयो । हिन्दू राज्य नराखी धर्म निरपेक्षताको प्रावधान राखेर संविधान जारी भएका कारण दक्षिण छिमेकी रुष्ट भएर आर्थिक नाकाबन्दी लगाउने अवस्था बन्यो । दोस्रो संविधानसभाले संविधान बनायो तर कहिल्यै कुनै पार्टीको बहुमत नआउने अवस्था बन्यो । यसको कारण सधैं राजनीतिक अस्थिरताको वातावरण कायम रहृयो । मूलधारका पार्टीहरूले भुरे टाकुरे पार्टीहरूसँग गठजोड नगरी सरकार नबन्ने अवस्था, त्यसका लागि जनताले बुझ्ने गरी गरिने क्रयविक्रयका खेलहरूले जनताको निराशालाई बढाउने काम गर्यो । एकातिर जनतामा निराशा बढ्दो छ भने अर्कोतर्फ राजनीतिक दलको मुख्य नेतृत्व रोम शहर आगोले जलिरहँदा बाँसुरी बजाउने राजा निरो जसरी नसुने गरी बसिरहे/बसिरहेका छन् ।
जनताको निराशाको आक्रोशजन्य चेतना देशको परिवर्तन छु मन्तर गरेर परिवर्तन गर्नसक्ने तारण हारको खोजीमा छ । त्यस खोजीमा कहिले बालेन साह अवतार प्रकट भयो, कहिले रवि लामिछाने अवतार प्रादुर्भाव भयो । त्यस आक्रोशले राजा मान्ने राजेन्द्र लिङ्देनजस्तामा पनि सम्भावना देख्यो । हुँदा-हुँदा मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई अगाडि सारेर व्यवस्था बदल्न राजधानी कब्जा गर्नेजस्ता दुस्साहसका समाचार सुन्नुपर्यो । यस दुस्साहसलाई ढोडको लौरोजस्तो सहारा दिन केही युट्युबरहरू, केही चरम निराशावादीहरू, केही सधैं उत्तेजनामा लाग्न मन पराउनेहरू, केही ऋण मोचनको भ्रम र अन्य प्रलोभनमा पारिएकाहरू लागिपरे ।
राजाको पुनरागमन सम्भव छ ?
राजालाई दरबार भित्र्याउनुपर्छ भन्नेहरूमा केही असल व्यक्तिहरू पनि होलान् । अधिकांश चाहिँ देशमा विद्यमान कुशासनको कारण तत्काल प्रतिक्रिया व्यक्त गरेर अराजकतामा रमाउँनेहरू, दुर्गा प्रसाईजस्ता चरम महत्वाकांक्षी र अवसरवादीहरू, हिजोको दिनमा राजाबाट लाभान्वित भएकाहरू र केही धर्मका नाममा परिचालित रहेका छन् । नेपाललाई हिन्दु राष्ट्रको नाममा देख्न चाहने दक्षिण छिमेकका शासन सत्तामा रहेका भारत वर्षका कल्पनाकारहरू र भारतीय शासन सत्ता नजिकका मानिसहरूको सदाशयतालाई आफ्नो पक्षमा पार्न लालायित नेपालीहरूको चासो, प्रयास, सहयोग पनि यस्ता जमघट र भेला जुटाउन मद्दतगार रहेको विषयलाई नकार्न सकिँदैन ।
समस्या अहिलेको राजनीतिक प्रणाली होइन । लोकतन्त्रको विकल्प परिष्कृत लोकतन्त्रमात्र हो । नेपालले ठूलो मिहिनेत र बलिदानीबाट त्यो लक्ष प्राप्त गरिसकेको छ । समस्या भनेका अहिलेको प्रणालीको अग्रस्थानमा देखिएका नेताहरूको हो ।
हरेकजसो घरका युवाहरू विदेशमा छन् । हुनेखानेका छोराछोरी र क्षमता भएकाहरू अमेरिका अष्ट्रेलिया, क्यानडालगायतमा छन्, मझौलाहरू मलेशिया, साउथ कोरिया, इजरायल, जापान आदिमा छन् भने कमजोर आर्थिक अवस्था भएकाहरू कतार, युएई, बहराइनलगायतका अरेबियन देशहरूमा छन् । त्यहाँ पनि जान नसक्ने क्षमता भएकाहरू भारतको लद्दाखदेखि तमिलनाडुका भोजनालय, उद्योग व्यवसायमा र घरेलु कामदारको रूपमा पसिना बगाइरहेका छन् । ती युवाको तन विदेशमा भए तापनि मन नेपालमा डुलिरहन्छ । भारत, अरब, मलेशिया गएकाहरू देशको अवस्था सुध्रिएर सहज जीवनयापनको प्रतीक्षामा छन् भने पहिलो विश्व गएकाहरू ऋणमा गाडी बंगलाको व्यवस्था गरी किस्ता तिर्न संघर्ष गरिरहेका छन् । उनीहरू अब नेपाल फर्कने सम्भावना अति कम छ ।
ऋणबाट मुक्त भएर सहज जीवनयापन गरिरहेको नेपाली मन तर विदेशी राहदानी भएको प्रौढ गैरआवासीय नेपालीको चासो नेपालको आर्थिक, सामाजिक अवस्थाप्रति रहने नै भयो । उनीहरूले सामाजिक सञ्जालमा व्यक्त गर्ने विचार, घर, परिवार आफन्तसँग गर्ने कुराकानीबाट नेपालको शासकीय संरचनामा भएको यथास्थितिवाद, अझ खस्किँदो अवस्थाले पैदा गरेको आक्रोशले नेपालमा भएको परिवारको सदस्यको मनमा पनि विद्रोहजन्य निराशा पैदा गरिरहेको छ । हरेक घरका सदस्य विदेशमा भएको कारण विदेशिएको युवाले विदेशको विकास देखेको छ । अमेरिका, अष्ट्रेलिया, क्यानडा, बेलायतको पूर्वाधारको विकास, सेवा प्रदायक संस्थाहरूको संस्थागत प्रणालीबाट पाइने सुविधा, मिहिनेतले आर्जेको भए पनि सुविधासम्पन्न जीविका देखेको छ । यतिमात्र होइन अरेबियन मरुभूमिमा र युद्धग्रस्त इजरायल अनि मध्यपूर्वमा भएको विकास पनि देखेको छ ।
सधैंजसो युद्धमा रहने मुलुकमा भएको जत्तिको पूर्वाधार विकास र प्रणालीगत विकास नभएको कारण ती देशमा भएका युवाहरू कुण्ठाग्रस्त अवस्थामा रहेका छन् । यी युवाहरूको कुण्ठा र निराशाले देश बनाउने नायकको खोजी गरिरहेको छ । विदेशबाट नेपालको परिस्थिति नियालिरहेको युवाले नेपालमा रहेका परिवारमार्फत उसले ठानेको परिवर्तनकारी शक्तिलाई मतदान गर्न र सहयोग गर्न सम्झाइरहेको हुन्छ । बालेन साह र रवि लामिछानेहरूको उदयमा यस वर्गको महत्वपूर्ण भूमिका रहेको छ । यस निराशाले दुर्गा प्रसाईजस्ता चटकेलाई पनि फाइदा पुगेको कुरालाई इन्कार गर्न सकिँदैन ।
नेताहरूको शासकीय असफलताको कारण उब्जिएको निराशाको विकल्प राजतन्त्र हुन सक्दैन । कुनै मानिस कुनै परिवारमा जन्मिनासाथ उच्च शासकीय हैसियत पाउने विषय लामो राजनीतिक परिवर्तनबाट गुज्रेको नेपालमा सम्भव छैन । नेपालमा लामो समय शासन गरेको राजतन्त्रले (राजा महेन्द्रका केही कामलाई अपवाद मान्दा) सामान्य भौतिक पूर्वाधारको जगसमेत नबसाएको अवस्थामा अहिलेको विश्वव्यापीकरणको युगमा राजतन्त्र फर्काउने विषय असम्भव जस्तै हो । गरिब देशको राजतन्त्र जुनसुकै नामले राखेको पनि गोमन सर्प पालेजस्तै हो । मौका पर्नासाथ जनतालाई टोक्नु उसको धर्मजस्तै हो । कुरा नबुझेका नागरिकलाई भड्काएर उनीहरूलाई आन्दोलनमा होम्नु उनीहरूप्रतिको अन्याय हो ।
नेपालमा जति नै विकास भएन भनेर प्रचार गरिए तापनि गाउँगाउँमा सामान्य नै भए पनि बाटो पुगेको छ । शिक्षा, स्वास्थ्यमा उल्लेख्य विकास भएको छ । सञ्चार क्षेत्रले त फड्को नै मारेको छ । आर्थिक वृद्धि पनि राजतन्त्रको समयको भन्दा घटीमा दुई गुणा भएको छ । नागरिकको चेतनाको स्तरमा उल्लेख्य प्रगति भएको छ । राजनीतिक प्रणालीको कुरा गर्दा सर्वोच्च पद राष्ट्रपतिमा र कार्यकारी प्रधानमन्त्रीमा जनताको छोरा पुग्ने व्यवस्था छ । पुगेका पनि छन् । हरेक स्थानीय निकायले जनतामा शासकीय उपस्थिति देखाइरहेका छन् । हालैको जाजरकोट भूकम्पमा देखिएको चुस्त राहत र उद्धारको काम र कोरोना कहरको समयमा भएको व्यवस्थापनले पनि स्थानीय निकाय जनताको सुखदुःखमा साथी भएको पुष्टि गरेको छ ।
स्थिर सरकार बन्न कठिन हुने संवैधानिक प्रावधानलगायत केही पक्ष वर्तमान संविधानका कमीकमजोरी भए तापनि वर्तमान संवैधानिक व्यवस्थाकै कारण राजनीति, प्रशासन र शासनका हरेक क्षेत्रमा महिलाको उपस्थिति उल्लेख्य रहेको छ । पछाडि बनाइएका वर्गहरूको उपस्थिति पनि उल्लेखनीय रूपमा बढिरहेको छ । यस्ता सकारात्मक पक्षलाई ओझेलमा पारेर कुनै परिवारको शासन स्थापना गर्ने कुरा कदापि स्वीकार्य छैन । काठमाडौंका जनता आन्दोलनमा आएनन् भनेर जति रोइलो गरे तापनि यस्ता प्रतिगमनतिर जाने आन्दोलनमा जान जनताको विवेकले रोकेको हो । भोलिका दिनमा पनि रोक्नेछ । हरेक चटकेले भनेको आन्दोलनमा गएर यसभन्दा खराब अवस्थाका लागि सहयोगी बन्नु किमार्थ उचित काम होइन ।
अब के गर्ने ?
समस्या अहिलेको राजनीतिक प्रणाली होइन । लोकतन्त्रको विकल्प परिष्कृत लोकतन्त्र मात्र हो । नेपालले ठूलो मिहिनेत र बलिदानीबाट त्यो लक्ष प्राप्त गरिसकेको छ । समस्या भनेका अहिलेको प्रणालीको अग्रस्थानमा देखिएका नेताहरूको हो । मूल पार्टीका सबैजसो नेताको अपारदर्शी जीवनशैली, आर्थिक उपार्जनको उपाय नभएका नेताहरूले गर्ने राज्यका साधनस्रोतको दोहन, यस्तो दोहन जीविका यापनका अलावा राजनीतिक परिचालनका लागिसमेत गर्नुपर्ने सोच, मौका परेका बेला आफ्नै नातागोता र पछुवाहरूलाई अवसर दिने प्रवृत्ति, अन्तर्पार्टी न्याय नगर्ने प्रचलन, राजा हटाए पनि नेताहरूको राजर्षि ठाँटबाट जनता आजित बनेका छन् । कार्यालयमा जाँदा प्रणालीले भन्दा चिनेको र किनेकोले काम गर्ने अवस्थाले सबैलाई निरास बनाएको अवस्था हो । अहिलेका मूल पार्टीको नेतृत्वबाट यसमा सुधारको सम्भावना देखिँदैन ।
देशको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका सभापति देउवा र उनकी पत्नी आरजुको निजी स्वार्थप्रेरित गतिविधि र हालै भारत रिझाउँन हिन्दु राष्ट्रको पक्षमा गरेको देउवाको वकालतले पनि जनतामा चरम निराशा पैदा गरेको छ । वाकपटु र आफूलाई बहुतै बाठो ठान्ने नेता ओलीको कारण मुलुकका संवैधानिक निकायलाई कमजोर पार्ने गरी गरेको नियुक्ति र अदालतको भ्रष्ट प्रवृत्तिलाई समर्थन गरेको कारण पनि देशका ठूला पार्टी र नेताहरूप्रति पनि जनताको भरोसा टुट्दो छ ।
समस्या लोकतान्त्रिक प्रणालीको होइन, कांग्रेस, एमालेजस्तै पार्टीका नेताहरूको हो । यसका लागि यी ठूला पार्टीभित्र तल्लो पुस्ताको विद्रोह अपरिहार्य छ । अब पनि देउवा, माधव नेपाल र ओलीहरू कार्यकारी प्रमुख बन्नु भनेको नेपालको आर्थिक विकास र समृद्धिका लागि ठूलो प्रतिगमन हो । यस प्रतिगमनलाई परास्त गर्न सकेको अवस्थामा राजतन्त्रको भूत र प्रसाई प्रवृत्तिबाट नेपाली जनमानस तर्सनुपर्ने छैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच