नेतागिरीको कारण खस्कँदो सामाजिक अनुशासन

Read Time = 17 mins
  • शम्भु कोइराला

नमागिएको सल्लाह: 
यसै साता बालाजु नयाँ बसपार्क क्षेत्रमा हिंसा भड्किएर लुटपाट र आगजनीका घटनाहरू भए । करोडौंको मोबाइल लगायतका सामान लुटपाट भएको भन्ने पीडित पक्षको दाबी छ । सार्वजनिक गरिएको सिसीटिभी फुटेज नियाल्दा राजधानीको केन्द्रबिन्दुमा भएको घटना अत्यासलाग्दो देखिन्छ । यसरी परिस्थिति काबुबाहिर जानुमा सुरक्षा निकायको सूचना प्राप्ति, सूचनाको विश्लेषण र समन्वयको अभाव त हुँदै हो, त्यसको अलावा अनावश्यक विषयमा आन्दोलनको आहृवान गर्ने, आन्दोलनलाई आफ्नो नियन्त्रणमा राख्न नसक्ने राजनीति स्वार्थ प्रेरित नेतागिरी प्रवृत्ति मूलभूत रूपमा जिम्मेवार छ ।

नेपालमा सबैभन्दा बढी फष्टाएको पेशा भनेको नेतागिरी हो । खासै क्षमता नचाहिने, मूलधारको नेताप्रति बफादार, विपक्षीलाई गालीगलौज गर्न सिपालु र हुलका केही मानिसलाई भड्काउन सक्ने क्षमता भएपछि नेतागिरी पेसा लगानी बेगरको घाटारहित व्यापार बनेको छ । लगानी र परिश्रम अरूले गर्छ, बिचौलिया बनेर नाफा लिन पाइन्छ । ठेक्कापट्टा अरूले गर्छ, त्यसको हिस्सेदार आफू बन्न पाइन्छ । सर्वत्र व्याप्त यस्तो नेतागिरीको कारण हाम्रो समाज गलत दिशातर्फ गइरहेको छ ।

बालाजु बसपार्कमा भएको भनिएको आन्दोलनका आहृवानकर्ता सत्तारुढ दलका मजदुर संगठन थिए । मुख्य दुई पार्टीले गरेको आन्दोलनको माग थियो । प्रचलित कानुनबमोजिम ट्राफिक प्रहरीले लिने जरिवाना नगरियोस्, गर्नैं परे कम गरियोस्, बसपार्कभित्र सवारीसाधन पार्किङ नगरी सडक छेउमा नै गर्न पाइयोस् । यी यस्ता माग छन् जुन माग थाहा भयो भने सभ्य भनिएका देशका नागरिक आश्चर्यचकित बन्नेछन् ।

केही साता अगाडिको मात्र घटना हो– बेलायतका प्रधानमन्त्री ऋषि सुनकले गाडीमा सवार भएको समयमा सेल्फी लिनका लागि सिट बेल्ट खोले र फोटो खिचे र सार्वजनिक गरे । त्यसको व्यापक आलोचना भयो । उनले सार्वजनिक रूपमा क्षमा याचना त गरे तर त्यहाँको प्रहरीले त्यतिमा चित्त बुझाएन । उनलाई मौद्रिक जरिवाना गरेर छोड्यो । उनी विनयीभावमा प्रस्तुत नभएका भए अरू कारबाहीको सामना गर्नुपर्ने परिस्थिति बन्न सक्थ्यो । हाम्रो देशमा सत्तासीन र नेतागिरीमा लागेकालाई अनुशासन उल्लंघनमा कारबाही गरेको अवस्थामा कारबाही गर्ने अधिकारीकै भविष्य चौपट बन्न बेर लाग्दैन ।
बालाजु क्षेत्रका सुरक्षा अधिकारीको कारबाहीमूलक सरुवाले काम गर्ने जिम्मेवारीमा रहेका सुरक्षाकर्मीको मनोबल कस्तो बन्ला ? भोलिका दिनमा के सुरक्षा कारबाही गर्ला ? बालाजु वृत्तका डिएसपीले माथिल्लो निकायको आदेश नलिई सुरक्षा कारबाही गरेका थिएनन् होला वा गर्नुपर्ने बल प्रयोग गरेका थिएनन् होला भन्न सकिने अवस्था छैन । किनकि, नेपाल प्रहरीभित्र कायम चेन अफ कमाण्डका कारण उनले गरेको सुरक्षा कारबाही गर्ने वा नगर्ने विषय एकलौटी निर्णय थियो भन्न सकिने अवस्था छैन । उनी भुरे टाकुरे नेता र दबाबका सामु नतमस्तक भएको प्रहरी नेतृत्वको पिसाहीमा परेको सहजै अनुमान लगाउन सकिन्छ ।

बालाजु क्षेत्रका सुरक्षा अधिकारीको कारबाहीमूलक सरुवाले काम गर्ने जिम्मेवारीमा रहेका सुरक्षाकर्मीको मनोबल कस्तो बन्ला ? भोलिका दिनमा के सुरक्षा कारबाही गर्ला ? बालाजु वृत्तका डिएसपीले माथिल्लो निकायको आदेश नलिई सुरक्षा कारबाही गरेका थिएनन् होला ।

कानुन नलागोस् भनेर गरिएको आन्दोलनले हिंसाको रूप लिएर धनजनको क्षति हुँदा पनि आन्दोलन आहृवान कर्तामा कुनै ग्लानिबोध महसुस भएन । त्यसको नैतिक जिम्मेवारी लिएर क्षमा याचनाको कुरा त टाढाको भयो । त्यसको दोष अरूलाई थोपरेर आफू मजदुरको प्रतिनिधि भएको र मजदुरको नेता भएकोमा विजयीभावमा प्रस्तुत भएको देखियो । सामाजमा सरकार सबैभन्दा निरीह रूपमा प्रस्तुत हुनुपर्ने र ट्रेड युनियनको बिल्ला झुण्ड्याएर नेतागिरी गर्नेहरू मत्ता हात्तीको रूपमा प्रस्तुत भएर समाजलाई अराजक बनाउँने प्रवृत्ति दिनप्रतिदिन बढ्दो छ । समाजका हरेक तप्कामा नेतागिरीको आडमा बिचौलिया प्रवृत्ति हावी भएको लामो समय भइसक्यो तर यो प्रवृत्ति कमजोर भएर परिश्रम र मिहिनेत गर्नेहरूले प्रश्रय पाउनुपर्नेमा कतै पनि सुधारको संकेत देखिँदैन । नेतागिरीबाट आक्रान्त बन्दै गएका समाजका अन्य केही पक्षका बारेमा पनि यस आलेखमा चर्चा गरिनेछ ।

उत्पादनमूलक उद्योगमा ट्रेड युनियनको दादागिरी :
नेपालका सबैजसो उद्योगधन्धा अति राजनीतीकरणको शिकार भएका छन् । हरेक औद्योगिक प्रतिष्ठानमा खोलिएका ट्रेड युनियनहरू श्रमिक हकहितको नामममा खोलिएका छद्मभेषमा पार्टीका भ्रातृ संगठन हुन् । यस्ता संगठनहरूले औद्योगिक वातावरण निर्माण गर्नेभन्दा त्यस्तो वातावरण विगार्ने भूमिका खेलेका हुन्छन् । शासक र शासित बीचमा र मालिक मजदुरबीच वर्गसंघर्षको प्रशिक्षण दिएर नेतागिरीको प्रमाणपत्र पाएका प्रतिष्ठानका नेताहरूको अर्को काम लगानीकर्ताको तेजोबध गर्नु हो । अहिले यिनीहरूको दबदबा केही कम भएको होला । सुरुवाती चरणमा त आफू समर्थित पार्टीका नेतालाई आर्थिक जोहो गरिदिने काममा समेत प्रतिष्ठानमा नेतागिरी गर्नेहरूको पार्ट टाइम जब थियो ।

नेपालमा औद्योगिक वातावरण नबन्नु र लगानीकर्ता लगानी गर्न हच्कनुका केही कारणमध्ये यो एउटा प्रमुख कारण हो । यातायात क्षेत्र नेपालमा निजीक्षेत्रको एकाधिकार जस्तै भएको महत्वपूर्ण सेवा हो । निजी क्षेत्रले यातायातमा गरेको लगानीको कारण सर्वसाधारण जनतालाई सहज भएको छ । सडक यातायातमात्र नभएर हवाई यातायात क्षेत्रमा पनि निजी क्षेत्र बेगरको सेवा अहिलेको अवस्थामा कल्पना गर्न सकिँदैन । विदेशीले लगानी गरिदिएको ट्रलिबस एकादेशको कथा भएको छ भने नेपाल वायु सेवा निगम अपांगता भएको संस्थाजस्तो भएको छ ।

सरकारी अनुदानको वैशाखीबेगर उठ्न नसक्ने अवस्थामा रहेको छ । आफ्नो स्वार्थमात्र हेर्ने ट्रेड युनियन कुनै परिवर्तन हुन नदिई यथास्थितिमा रमाउने जीवजस्तो भएको छ । सरकारी क्षेत्रको यस्तो कमजोर अवस्थामा यो क्षेत्र भरोसायोग्य भएर आएको छ । यातायात क्षेत्रमा निजीक्षेत्रको योगदान प्रशंसायोग्य छ । दुःखको कुरा यस्तो प्रशंसा गर्नलायक क्षेत्र अतिराजनीतीकरणको शिकार भएको सन्दर्भमाथि नै चर्चा भइसकेको छ ।

राजनीतिक आवरणमा गरिने नेतागिरीले सामाजिक अनुशासनलाई क्रमशः कमजोर बनाउँदो छ । यसमा कहीँकतै गम्भीरता देखिँदैन । अनावश्यक माग राखेर हिंसा भड्किने अवस्था आउँदा पनि राजनीतिक आवरणमा हिंसा भड्काउने कामको नेतृत्व गर्नेहरू कारबाहीको दायरामा आउँदैनन् ।

व्यापारी, उद्योगपति पनि नेतागिरीमा :
व्यापारी उद्योगपति वर्गलाई हरेक समाजको शान्त र अनुशासित वर्गमा गणना गरिन्छ । कुनै राजनीतिक विवादमा नपरी यो वर्ग आफ्नो व्यापारलाई अगाडि बढाउन चाहन्छ । कुनै राजनीतिक आवरण भए पनि देखाउन चाहँदैन । यो वर्ग जसको सत्ता छ उसैसँग घुलमिल बनेर व्यावसायिक स्वार्थ सिद्धिका लागि दत्तचित्त रहन्छ । उसको व्यावसायिक स्वार्थले रोजगारी सिर्जना, पुँजीको निर्माण, कर तिरेको कारण राष्ट्रिय आयमा योगदान, समग्रमा मुलुकको आर्थिक समृद्धिमै योगदान पुगिरहेको हुन्छ । यो वर्ग सामान्यतः सडकमा आएर विरोध प्रदर्शन गर्दैन ।

नेपालमा हालैका दिनमा उद्योगी व्यापारीहरूका छाता संगठन पनि सडकमा विरोध प्रदर्शनमा उत्रिए । ऋणबापतको व्याजदर घटाउनुपर्ने, त्यसलाई एक अंकमा ल्याउँनुपर्ने लगायत माग राखेर विरोधमा उत्रिए । मुलुकको आर्थिक क्षेत्र देशको मेरुदण्ड हो । जुन दिन यसको मेरुदण्ड कमजोर बन्दछ त्यस दिन कुनै पनि देशलाई अहिलेको श्रीलंका बन्न कत्ति समय लाग्दैन । यो क्षेत्र अनुशासित क्षेत्र पनि हो । राजनीतिज्ञहरू सत्ताको लुछाचुँडीमा लागे तापनि यो क्षेत्र गम्भीर भएर आफ्नो स्वायत्तता र व्यावसायिक धर्म निर्वाह गरेर मुलुकको अर्थतन्त्रलाई बिग्रनबाट बचाइरहेको हुन्छ । यस्तोमा केन्द्रीय बैंकको भूमिका महत्वपूर्ण हुन्छ ।

श्रीलंकाको आर्थिक पतनको एउटा कारण केन्द्रीय बैंकमा राजनीतिक परिवारको अनुचर भर्ती गर्नु पनि थियो । नेपाली उद्यमी व्यापारीको जायज समस्या थियो भने बैंकहरूको बैंक राष्ट्र बैंकलाई कुरा बुझाउन सक्नु पर्दथ्यो । सरकारको विकास खर्च बढ्न नसकेको समेतका कारणबाट बैंकिङ क्षेत्रमा देखिएको तरलता अभावको परिस्थिति आन्दोलनमा संलग्न उद्यमीका छाता संगठनहरूले पनि देखेकै हो । निक्षेपमा दोहोरो अंकको ब्याज दिएर पनि बैंकिङ क्षेत्रमा आवश्यक मात्रामा निक्षेप संकलन नभएको परिस्थिति देखिएकै हो । यस्तो अवस्थामा लगानीका लागि सिंगल डिजिट ब्याजमा ऋण प्रवाह गर्नु भनेको लगानीकर्ता बैंकहरू पनि टाट पल्टिने परिस्थितिमा पुग्नु हो ।

यसको अर्थ यो शान्त र संयमित क्षेत्रमा पनि नेतागिरी हावी भएको छ । यसको चक्रमा नै सुधार नभएसम्म बैंकिङ क्षेत्रले यो माग पूरा गर्ने अवस्था छैन । यस्तो प्राविधिक विषयमा सडकबाट दबाब सिर्जना गर्नु शोभनीय काम होइन । यसको समाधान भनेको सरकारको नेतृत्व गर्नेहरूले पुँजीगत खर्चमा उल्लेखनीय रूपमा वृद्धि गर्ने क्षमता राख्नुपर्दछ । सत्ता टिकाउने विषय जति प्राथमिकतामा पर्दछ, त्यसभन्दा बढी प्राथमिकतामा देशको अर्थतन्त्रको स्वास्थ्य बिग्रन नदिन ध्यान दिनुपर्दछ । यस्तो क्षेत्रमा नेतागिरि गर्नु भनेको मुलकलाई कंगाल बनाउने मार्ग हो भन्ने बुझाई नभएसम्म राजनीतिले गाँजिरहने र अर्थतन्त्र कमजोर हुँदै जाने क्रम रोकिने छैन ।

उत्पादक किसानको रोदन कोही सुन्दैन :
भारतीय तरकारी निर्वाध आइरहेको छ । महँगो मूल्यमा उपभोक्ता खरिद गर्न बाध्य छन् । तर, नेपाली किसानले उत्पादन गरेको तरकारीले उत्पादन लागत पनि उठाउन नसकेर सडकमा फाल्नुपर्ने अवस्था छ । बिचौलियाको पकड यस्तो दरो छ कि यस्तो गम्भीर घटना सामान्य समाचार बन्छ र सेलाउँछ । स्थानीय सरकारलगायत तीनैवटा सरकारहरूले यसलाई गम्भीर रूपमा लिँदैनन् । नेतागिरीको आवरणमा सक्रिय बिचौलियाको कारण नेपाली किसान आफ्नो उत्पादन सडकमा फाल्न बाध्य छन् । यसमा कसैको संवेदनशीलता देखिँदैन ।

राजनीतिक आवरणमा गरिने नेतागिरिले सामाजिक अनुशासनलाई क्रमशः कमजोर बनाउँदो छ । यसमा कहीँकतै गम्भीरता देखिँदैन । अनावश्यक माग राखेर हिंसा भड्किने अवस्था आउँदा पनि राजनीतिक आवरणमा हिंसा भड्काउने कामको नेतृत्व गर्नेहरू कारबाहीको दायरामा आउँदैनन् । यसरी, नेतागिरीको आडमा अपराध संरक्षित हुने काम रोकिएन भने सामाजिक अनुशासन अझ कमजोर भएर जानेछ । जसको कारण समाज अराजकता उन्मुख बन्नेछ । यस्तो गम्भीर विषयमा अविलम्ब सुधार गरिएन भने हाम्रो मुलुकको भविष्य विश्वसामु प्रतिस्पर्धी बनाउन लामो कालखण्ड पर्खनु पर्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?