१४ वर्षदेखि बेपत्ता अम्बिकालाई खोजिदिन परिवारको याचना

Read Time = 5 mins

-पार्थ मण्डल

झापा । भारतको बाटो हुँदै वैदेशिक रोजगारीका लागि खाडी मुलुक कुवेत पुग्नुभएकी साबिक पृथ्वीनगर गाविस–५ हाल भद्रपुर नगरपालिका–२ निवासी ३१ वर्षीया अम्बिका गिरी १४ वर्षदेखि सम्पर्कविहीन हुनुहुन्छ ।

सगरमाथा माविमा पढ्दै गरेको अवस्थामा घरकी कान्छी छोरी अम्बिका १६ वर्षकै उमेरमा भारतको दिल्ली एयरपोर्टबाट कुवेत पुग्नुभएको थियो । घरछेउकी तारादेवी लिम्बूले २०६४ सालमा अम्बिकासहित गाउँघरकै अन्य महिलाहरूलाई भारतको बाटो हुँदै कुवेत पु¥याएकी थिइन् ।

यहाँबाट पठाउने एजेन्ट तारादेवीको पाँच वर्षअघि नै हत्या भइसकेकाले छोरीलाई खोज्न झन् समस्या उत्पन्न भएको उहाँकी ७३ वर्षीया वृद्ध आमा चन्द्रमाया गिरीले बताउनुभयो । घरमा आमाबुबाको कुरा नसुनेर अम्बिका गाउँघरको महिलाको लहै–लहैमा लागेर जबरजस्ती विदेश जान्छु भनी हिँड्नुभयो ।

घरबाट छोरीको पासपोर्टमात्र बनाइदिएको बताउँदै आमा चन्द्रमायाले भन्नुभयो, ‘उमेर पुगेन भन्दै छोरी दिल्ली पुगेर आमा म विदेश जान्न, यहीँ काम गरेर एजेन्टको पैसा तिर्छु भनी फोनमा भनिन् ।’ त्यसको केही दिनपछि कुवेत पुगेर छोरीले मलाई फेरि फोन गरिन् । आमा मलाई एजेन्टले अर्पणा थापा नामको भिसामा कुवेत पठायो, यहाँ घरायसी काम गर्दैछु । यहाँ मलाई कुनै पनि समस्या छैन । ‘एक महिनापछि नै एजेन्टको ३० हजार रुपैयाँ तिरिदिन्छु भनी सुनाइन्,’ उहाँले भन्नुभयो ।

छोरीले एजेन्टको ३० हजार पनि तिरिन्, ६ महिनासम्म सम्पर्कमा पनि थिइन्, कुवेतको साल्मियाबाट अर्पणा थापाको नाममा तीनपटक घरमा चिठ्ठी र आफ्नो फोटो पनि पठाइन् । ‘त्यसपछि छोरी एकाएक सम्पर्कविहीन भइन्,’ उहाँले आँखाबाट आँशु झार्दै हिमालय टाइम्ससँग भन्नुभयो, ‘फोन नम्बरसँगै छोरी पनि कुवेतमा हराई, आउँछे आउँछे भनेर कुरेर बसेको १४ वर्ष नै बित्यो ।’ घरको ऋण तिर्छु र कमाएको बाँकी पैसाले सुखको जीवन बिताउने छोरीको ठूलो इच्छा थियो । ‘गाउँघरमा कोही नयाँ मान्छे झोला बोकेर आउँदा छोरी नै आई कि भन्ने मनमा आश पलाउँछ,’ उहाँले भन्नुभयो, ‘छोरी ज्युँदी छ कि मरिसकी त्यो पनि खबर छैन ? मलाई लाग्छ छोरी बाँचेकी छ, छोरीलाई स्वदेश फर्काइदिन सबै समक्ष हात जोडेर अपिल गर्न चाहन्छु ।’

फेसबुकमा फोटो हाल्दा छोरी भेटिन्छ भनेर गाउँका मान्छेले सुनाएपछि मात्र छोरीको खोजी सुरु गरेको उहाँ बताउनुहुन्छ । त्यसभन्दा अघि उहाँले पटक–पटक एजेन्ट तारादेवी र छोरीसँगै विदेश पुगेर फर्किएकी महिलालाई घरमै भेटेर सोध्दा पनि छोरी कहाँ छिन् भनेर उनीहरूले बताउन सकेनन् । उहाँले छोरीलाई खोजिदिन भन्दै अहिले झापामा सुरक्षित आप्रवासन परियोजना सञ्चालन गरिरहेको विराट सामुदायिक अध्ययन केन्द्रका परियोजना संयोजक फणिन्द्र दाहाललाई भेट्नुभयो । दाहालकै पहलमा अहिले छोरीको खोजी कार्य भइरहेको बताइएको छ ।

चन्द्रमायाकी छोरी नभई जेठो छोराकुमार गिरी पनि १६ वर्षदेखि बेपत्ता हुनुुहुन्छ । किचकवध मेलाको भोलिपल्ट हिँडेको जेठो छोरा कुमार अहिलेसम्म सम्पर्कमा नआएको उहाँले बताउनुभयो । उहाँ हाल कान्छा छोरा विमलसँग बस्दै आउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?