परिवारबाट हिंसामा परेको भन्दै ७५ वर्षीय वृद्धले गरे देश छोड्ने निर्णय

Read Time = 2 mins

सप्तरी । सबै आमाबुवा आफ्ना सन्तानका लागि जीवन अर्पेका हुन्छन् । आफू भोकभोकै रहेर पनि आफ्ना सन्तानलाई भोको हुन दिँदैनन् ।

सन्तानको सुखमा आफ्नो सबै दुःख बिर्सिन्छन् । त्यसरी जीवन समर्पित गर्नुको एउटै उद्देश्य हो सन्तान बुढेसकालको सहारा बनुन् । तर, सप्तरीका एक ७५ वर्षीय वृद्ध आफ्नै श्रीमती र छोराबाट पटक–पटक हिंसामा परेको भन्दै देश छोड्ने निर्णयमा पुगेका छन् ।

रुपनी गाउँपालिका १ का रामप्रसाद साहले आफ्नै परिवारबाट असुरक्षित रहेको भन्दै न्याय खोजिदिन प्रशासन र पत्रकारसँग आग्रह गर्नुभएको छ ।

छोराहरूले हेला गर्न थालेपछि विगत ९ वर्षदेखि घरपरिवार त्यागेर छिमेकीको घरमा भाडा लिएर बस्दै आउनु भएका साह रुपनी बजारमै सानो किराना पसल सञ्चालन गरेर जीविकोपार्जन गर्दै आउनु भएको छ ।

छोरा आनन्दप्रसाद साह, जितेन्द्रप्रसाद साह र गणेशप्रसाद साहले अनावश्यक कुटपिट गर्ने गरेपछि शान्तिपूर्ण बाँच्नेस्थिति नरहेकोले देश छाड्ने मनसाय बनाएको उहाँले बताउनु भयो ।

जेठ १० गते जेठो छोरा आनन्दले विना कारण निहुँ खोजेर कुटपिट गरेको घटनाको विषयमा इलाका प्रहरी कार्यालय रुपनीमा निवेदन दिँदासमेत प्रहरीले चासो नदेखाएको साहको आरोप छ ।

सम्पत्तिको नाममा किराना पसल र सरकारले दिने सामाजिक सुरक्षा भत्ता बाहेक आफूसँग अरू केही नभएको साहले बताउनु भयो ।

२०७० सालदेखि श्रीमती र छोराछोरीबाट अलग्गै बस्दै आएको जानकारी दिँदै साहले आफू एक्लै बस्दासमेत बेलाबखत छोराहरूले कुटपिट गर्ने गरेको दुखेसो पोख्नुभयो ।

सुधा देव/न्युज कारखाना

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?