प्रतिपक्ष एमालेलाई अर्थमन्त्रीको जवाफ : बजेट अनुदान लक्षित छैन, चुलो बाँड्न सँगै जाऊँला, बजेटप्रति सत्ता र प्रतिपक्ष दलका सांसद विभाजित

अनिल क्षेत्री
Read Time = 12 mins

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट अनुदान लक्षित नभएको जिकिर गर्नुभएको छ । राष्ट्रिय सभामा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमाथिको सामान्य छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री शर्माले बजेट अनुदान लक्षित नभएको बरु प्रस्तुत बजेटले किसानहरूलाई प्रोत्साहन गरेको जिकिर गर्नुभएको हो ।

बजेटमाथिको सैद्धान्तिक छलफलको क्रममा नेकपा एमालेका सांसदहरूले बजेट चुनाव लक्षित भएर कार्यकर्तालाई पैसा बाँड्ने काम गरेको भन्ने टिप्पणीप्रति लक्षित गर्दै अर्थमन्त्री शर्माले आगामी आर्थिक वर्षको बजेट चुनावलाई लक्षित गरेर नल्याइएको र बजेटमा पैसा बाँड्ने कुरा कतै नगरेको दाबी गर्नुभयो ।

एमालेका सांसदहरूप्रति लक्षित गर्दै विगतमा अनुदान बाँडिएको अभ्यासको झझल्को अहिले पनि आइरहेको व्यंग्य गर्दै शर्माले भन्नुभयो, ‘बजेटमा चुनावलाई ध्यानमा राखेर पैसा बाँड्ने कार्यक्रम मात्रै बनाइयो भन्ने छ तर यहाँ कतै पैसा बाँड्ने काम छैन । अनुदान भन्ने कतै पनि छैन । अनुदान भनेर हिजो बाँडिएको अभ्यासको स्मरण होला । तर, यसमा बिल्कुल अनुदान छैन । प्रोत्साहन छ । किसानले दूध दुहृयो, त्यसले प्रोत्साहन पायो । प्रोत्साहन छ, अनुदान छैन । त्यसकारण यहाँ कतै बाँडिदैन । दूध दुहेको बेला सरकारले भोट कसलाई दियो सोध्दैन, दूध दुहृयो कि दुहेन यति सोध्छ, त्यसकारण यसमा ढुक्क हुन आग्रह गर्दछु ।’

इन्डक्सन चुलो बाँडेर भोट साट्न खोजेको विपक्षी सांसदहरूको आरोपको जवाफ दिँदै मन्त्री शर्माले प्रतिपक्षीलाई पनि साथमा लिएर चुलो बाँड्ने कार्यक्रम बनाउने बताउनुभयो । नेपालको विद्युतीय संयन्त्रले २५ प्रतिशत मात्रै विद्युतीय उपकरणको प्रयोग धान्न सक्ने भएकोले त्यसै अनुसारका संरचनामा बजेटले जोड दिएको भन्दै शर्माले भन्नुभयो, ‘विद्युत्को कुरा, विद्युतीय चुलोको कुरा गर्दा इन्डक्सन चुलो बाँड्न लाग्यो, निर्वाचनमा जान थाल्यो, निर्वाचनको बारेमा सोचेको होइन । इन्डक्सन चुलो निर्वाचनसँग सम्बन्धित छैन । यो बाँड्नेमा प्रतिपक्ष दललाई पनि सँगै लगेर बाँड्ने कार्यक्रम बनाउन सकिन्छ । सँगै लैजाऊँला । चिन्ता गर्नु पर्दैन ।’ अर्थमन्त्री शर्माले बजेट उत्पादन, स्थिरता र समावेशीतातर्फ उन्मुख रहेको दाबी गर्दै भन्नुभयो, ‘बहसले नयाँ प्रश्नहरू जन्माएको छ, यस बजेटमा मैले प्रस्तुत गरेको एउटा वाक्य हो-बजेटलाई आयातबाट उत्पादनतर्फ, जोखिमबाट समष्टिगत आर्थिक स्थिरतातर्फ, र वञ्चितीकरणबाट समावेशिता तर्फको प्रस्थान बजेटको रूपमा प्रस्तुत गरेको छु । बजेटको सार यही हो ।’

यसअघि राष्ट्रियसभाको बुधबारको बैठकमा आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिँदै नेपाली कांग्रेसका सांसद जीतेन्द्रनारायण देवले पूर्वाग्रहको संस्कारबाट मुक्त भएर सत्यपरक ढंगबाट ठिकलाई ठिक र बेठिकलाई बेठिक भन्ने संस्कारको विकास गर्नुपर्नेमा जोड दिनुभयो । नेकपा एकीकृत समाजवादीका सांसद बेदुराम भुसालले गठबन्धन सरकारको पहिलो बजेट विगतका केही वर्षका बजेटभन्दा राम्रो रहेको दाबी गर्नुभयो । विपक्षी दल नेकपा एमालेका सांसद देवेन्द्र दाहालले आगामी वर्ष निर्वाचनको वर्ष र आर्थिक संकटको जोखिम रहेकाले सरकारले ठूलाठूला कुरा राख्न नहुने बताउनुभयो ।

आगामी आर्थिक वर्षको बजेटमाथि प्रतिनिधिसभामा छलफल जारी प्रतिनिधिसभाको बुधबारको बैठकमा पनि आगामी आर्थिक वर्षको बजेटमाथि छलफल जारी रह्यो । बुधबारको बैठकमा पनि सत्तारूढ र विपक्षी सांसदहरूबीच आगामी वर्षको बजेटका विषयमा आरोप–प्रत्यारोप चलेको छ ।

वृद्धभत्ता एमालेको ब्राण्ड हो, ६८ वर्ष गर्नुस् कि ५८ : पूर्व-अर्थमन्त्री पाण्डे
पूर्व–अर्थमन्त्रीसमेत रहनुभएका प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद सुरेन्द्र पाण्डेले आगामी आर्थिक वर्षको बजेटमा वृद्धभत्ता ६८ वर्षमै दिने निर्णयको विरोध गर्नुभएको छ । सरकारले वृद्धभत्ता बढाएर मासिक पाँच हजार पुर्‍याउनुपर्नेमा वृद्धभत्ता प्राप्त गर्ने उमेर घटाएकोमा आपत्ति जनाउँदै पाण्डेले भन्नुभयो, ‘वृद्धभत्ता ६८ वर्ष झा¥यौँ नि, जतिसुकै गरे पनि वृद्धभत्ता एमालेको ब्राण्डजस्तो हो । तपाईं ६८ वर्षमा झार्नुस् कि ५८ मा, केही फरक पर्दैन, जनयुद्धमा हाम्रो दाबी पुग्दैन, राष्ट्रिय मेलमिलापमा पनि हाम्रो दाबी पुग्दैन, त्यसमा कांग्रेसको दाबी पुग्छ । ठिक त्यसैगरी वृद्धभत्ता जे गर्नुस् त्यो एमालेकै दाबी हुन्छ । एमालेलाई नै मान्छेले स्याबास गर्छन्, ताली ठोक्छन् ।’

बजेटको सीमाले सबै समस्या समाधान गर्न सहज छैन : बस्नेत
सत्तारूढ दल नेकपा माओवादी केन्द्रका सांसद शक्ति बस्नेतले अघिल्लो सरकारले आर्थिक क्षेत्रमा छाडेर गएका समस्या समाधान गर्नका लागि आगामी आर्थिक वर्षको एक बजेटले मात्रै नसक्ने जिकिर गर्नुभएको छ । स्पष्ट दृष्टिकोण लिएर सरकार अगाडि बढ्दै अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्नेतर्फ लाग्नुपर्ने सुझाव दिँदै सांसद बस्नेतले भन्नुभयो, ‘विरासतमा पाएका धेरै समस्या छन् । हामी अब स्पष्ट दृष्टिकोणका साथ जानुपर्छ । आजको हाम्रो सीमा, आजको हाम्रो आवश्यकताले एकै वर्षभित्र विरासतमा प्राप्त सबै समस्या समाधान गर्न सहज छैन ।’

के काठमाडौंबाट चितवन एक घण्टामा हेलिकप्टरमा झुण्डिएर जानुहुन्छ ? : सांसद पण्डित
प्रतिपक्षी दल नेकपा एमालेका सांसद लालबाबु पण्डितले काठमाडौंदेखि चितवन एक घण्टामा झुण्डिएर जानुहुन्छ ? भन्दै प्रश्न गर्नुभएको छ । सरकारले जेठ १५ गते संसद्मा पेश गरेको बजेटमाथिको सैद्धान्तिक छलफलमा बोल्दै सांसद पण्डितले भन्नुभयो, ‘काठमाडौंबाट चितवन एक घण्टामा के हेलिकप्टरमा झुण्डिएर जानुहुन्छ ? के भन्न खोजेको हो ? कति पैसा छुट्याएको छ ? योजना के हो ? हावादारी हिसाबले प्रस्तुत भएर अनि यही नै ठीक, यही नै सत्य हो भन्ने हो भने के भन्न सकिन्छ ?’

चलु खर्च न्यूनीकरण गर्नेतिर ध्यान दिनुपर्छ : सांसद गुरुङ
सत्तारूढ दल नेकपा माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक देव गुरुङले चालु खर्च न्यूनीकरण गर्दै पुँजीगत खर्च बढाउनेतर्फ ध्यान दिनुपर्ने बताउनुभएको छ । आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा सहभागी हुँदै प्रमुख सचेतक गुरुङले भन्नुभयो, ‘अहिलेको बजेटले नेपालको अर्थतन्त्रलाई परिवर्तन गर्न केही मद्दत पुग्नेछ । यो बजेट कोशेढुंगा सावित हुनेछ । कार्यान्वयनको पाटोको सन्दर्भमा चुनौती छ । त्यसमा सरकारले ध्यान दिनुपर्ने हुन्छ ।’

बजेटमा मधेश प्रदेश पूर्णरूपले ठगियो : सांसद यादव
सत्तारूढ दलको एक घटक जनता समाजवादी पार्टी नेपालका सांसद प्रदीप यादवले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमा मधेश प्रदेश पूर्ण रूपमा ठगिएको टिप्पणी गर्नुभएको छ । मधेश प्रदेशलाई दिइने अनुदानसमेत गठबन्धन सरकारले घटाएर संघीयतामाथि नै धावा बोल्ने काम गरेको आरोप लगाउँदै सांसद यादवले भन्नुभयो, ‘यो बजेटमा मधेश प्रदेश पूर्ण रूपमा ठगिएको छ भन्ने महसुस गरिएको छ । हुलाकी सडक मधेश प्रदेशको लाइफलाइन हो । र हुलाकी सडकमा थोरै बजेट राखिएको छ । जबकि धेरै पुलहरू, सडकहरू बनाउन बाँकी नै छ । मधेश प्रदेशलाई दिइने अनुदान गठबन्धनको सरकारले घटाएको छ । जुन चिन्तायोग्य छ । यसले गर्दा भोलि संघीयतामाथि नै खतरा हुन्छ कि त्यसमा पनि पुनर्विचार होस् ।’

बजेटले मूल्यवृद्धि र आर्थिक संकट समाधानको प्रयास गरेन : लिङ्देन
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं सांसद राजेन्द्र लिङ्देनले आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेटले मूल्यवृद्धि रोक्ने र आर्थिक संकट समाधान गर्ने प्रयास नगरेको टिप्पणी गर्नुभएको छ । प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै लिङ्देनले भन्नुभयो, ‘अहिलेको बजेटबारे इमान्दारीपूर्वक भन्नुपर्छ कि यसले हाम्रो जीवनमा परिवर्तन गर्न सक्दैन । देशमा अहिले जुन प्रकारको आर्थिक संकट देखिँदै गएको छ जुन प्रकारको मूल्यवृद्धि देखिँदै गएको छ त्यसलाई रोक्नेतर्फ यो बजेट उन्मुख छैन ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?