मेयर साब ! अब काम गर्ने कि ?

डा. शान्तिकृष्ण अधिकारी
Read Time = 12 mins

लंकाका ऐतिहासिक राजा रावण निकै ठूला विद्वान् थिए । उनको बल, बुद्धि र प्रताप अतुलनीय थियो । विनाशकाले विपरीत बुद्धि भने झैँ विवेक गुमाएका कारण मात्रै रावण अर्काकी अझ त्यसमाथि भगवान्की पत्नी सीता हरण गर्न पुगेका थिए । भगवान् रामले वाण प्रहार गरिसकेपछि रावण भूइँमा लडेर छट्पटिँदै थिए । त्यतिबेला रामले आफ्ना भाइ लक्ष्मणलाई रावण ज्यादै बुद्धिमान् छन् । भाइ तिमी ऊ लडेका ठाउँमा जाऊ र केही ज्ञान लिएर आऊ भनेर पठाए । लक्ष्मण अलिक रिसाहा खालका थिए र शत्रुसँग गएर शिक्षा लिन अप्ठेरो मान्ने खालका पनि थिए । त्यसैले अन्कनाउँदै थिए तर पनि दाइले भनेका कारण रावण भएको ठाउँमा गएर ज्ञानको भिख मागे ।

लक्ष्मणलाई रावणले धेरै कुराहरू सिकाए । मानिसले ध्यान दिनुपर्ने विषय र चनाखो हुनुपर्ने कुराहरू बताए । त्यसमध्ये एक थियो-आज गर्नुपर्ने कुरालाई भोलि गर्छु भनेर कहिल्यै नपन्छाउनु । भोलि गर्नुपर्ने कुरा आजै गर्नु, आज गर्नुपर्ने कुरा अहिल्यै गर्नु । लंकादेखि स्वर्गसम्म पुग्ने सुनको भ¥याङ बनाउने मेरो योजना थियो । मलाई कसैले मार्न सक्ने होइन क्यारे, विस्तारै बनाउँदै गरौंला भन्दै काम आरम्भ गरेको थिइन । आज मेरो यो हविगत भयो, अब स्वर्गसम्म पुग्ने भर्‍याङ बनाउने मेरो योजना इच्छामा मात्रै सीमित हुन पुग्यो ।

हामीकहाँ वैशाख ३० गते निर्वाचन सम्पन्न भयो । कतिपय ठाउँका मत परिणामहरू त्यही दिन राति आए भने कतिपय ठाउँको अन्तिम नतिजा प्रकाशित हुन वैशाख १३ गतेसम्म पनि लाग्यो । दुई ठाउँबाहेक अन्यत्र सबै अर्थात् ७५१ पालिकाले स्थानीय सरकार पाइसकेको छ भने दुई ठाउँमा अझै केही दिन लाग्ने देखिएको छ । परिणाम प्राप्त हुने बित्तिकैदेखि विजयीहरूको अबिर जात्रा, विजय र्‍याली र धन्यवाद जुलुसहरू निकाल्ने क्रम सुरु भयो । त्यसपछि बधाईका कार्यक्रमहरू आयोजना गरिए । अझै पनि थुप्रै जनप्रतिनिधिहरूको बधाई थाप्ने काम सकिएको छैन । चलिरहेकै छ ।

बाँकी दुई पालिकाको पनि नतिजा आएपछि ३५ हजार २ सय २१ जनाले विजय प्राप्त गरेका हुनेछन् । ती सबैका घोषणापत्र थिए । घोषणापत्रहरूमा सबैले जनताको मुहार फेर्ने वाचा गरेका छन् । आमसभा र कोणसभाहरूमा गाउँघरको विकास गर्ने योजनासहितका आआफ्ना हैसियत बमोजिमका प्रतिबद्धताहरू व्यक्त गरेका थिए । ती भाषण र विकासका प्रतिबद्धता व्यक्त गरिएका कागजका पुलिन्दाहरू एकत्रित गर्ने हो भने आगामी पाँच वर्षभित्रमा सबै स्थानीय तहहरू समस्या मुक्त होलान् जस्तो लाग्दछ ।

वडा अध्यक्षहरूले पदबहाली गरे । सदस्यहरूले वडा अध्यक्षसँगै कुर्सी सम्हाले । मेयर साबहरूको शपथ ग्रहण र पदबहाली धुमधामका साथ सम्पन्न भए । नौमती बाजा बजाएर स्वागत गर्नेदेखि मालाले टाउको छोप्नेसम्मका काम भए । मेयरकै जस्तो देखिने गरी उपमेयरहरूले कार्यभार आरम्भ गर्ने काम पनि भए । पदबहालीका दिनमा प्रधानमन्त्रीले गरे झैँ एउटा महत्वपूर्ण निर्णय गर्ने काम पनि भयो । कुनै-कुनै विकास र जनहितको निर्णयमा हस्ताक्षर गर्दै जनप्रतिनिधिहरूले ओहोदा सम्हालेको कतिको हप्ता दिन नाघेको छ भने कतिको पुग्दैछ । यद्यपि जनप्रतिनिधि अझै बधाई थाप्नमात्रै त रमाइरहेका छैनन् भन्ने प्रश्न उठ्न थालेको छ ।

मेयर साबहरूलाई लाग्दो होला पाँच वर्षको कार्यकाल हो मेरो अहिल्यै के हतार भयो र । उपमेयरलाई मभन्दा बढी जिम्मेदार मेयर नै हो, उसले हतारो नगर्दै म किन आत्तिनु प¥यो र ? वडा अध्यक्षदेखि सदस्यहरू पनि यस्तै केही न केही सोच्दै होलान् । कतिपय जनप्रतिनिधिलाई त अब चार वर्ष मोजमस्ती गरेर हिँड्ने हो, अन्तिम एक वर्ष काम गरेर जनतालाई देखाउने हो भन्ने पनि लाग्दो हो । त्यही एक वर्षकै कामले अर्को चुनावको पृष्ठभूमि तयार गर्छु भन्ने सोच राखेका छँदै छैनन् भन्न सहजै सकिने अवस्था पनि छैन ।

तर, परिस्थिति फरक छ । जनता पानीले तिर्खाएका छन् । सामुदायिक विद्यालयहरूमा गुणस्तरीय पठनपाठन हुन नसकेका कारण निजी विद्यालयमा आफ्ना नानीहरू पढाउन पर्दा त्यहाँको नाजायज शुल्कले ढाड भाँचिएर अभिभावक इन्तु न चिन्तु भएका छन् । पिच सडकहरूमा परेका खाल्डाखुल्डीले दुर्घटना निम्त्याइरहेका छन् । ग्राभेल सडकहरू वर्षेनी बाढी र पहिरोले बगाउँदा वर्षा याममा सवारी साधनको सुविधा नपाउने जनता आजित भएका छन् । समस्याविहीन गाउँ कुनै छैन र त्यही समस्याले जनतालाई पिरोलिरहेको छ । समाधान आजै खोजेका छन् जनताले । आजै सम्भव नभएको कामको पनि सुरुवात आजै होस् भन्ने चाहेका छन् जनताले ।

विसं २०७४ सालको निर्वाचनमा जतिले राम्रो काम गरेका थिए, जनताको मन जितेका थिए, तिनले यसपालि पनि जिते । अघिल्लो निर्वाचनमा विजय हासिल गरेका तर जनताका काममा उदासीन भएकाहरू भने यसपटकको चुनावका लागि पार्टीको टिकट पाएर पनि पराजित हुन पुगेका उदाहरण निकै नै पाइए । शक्तिशाली पार्टीका उम्मेदवारलाई हराएर स्वतन्त्रहरू अगाडि आउनु त्यसैको परिणाम हो । त्यसैले काम छिटो गर्नेले अर्कोपटक मेयर, सांसद् या प्रदेश सांसद जेको टिकट पाए पनि जित्न सहज हुन्छ, जसले आलटाल गरिरहेको छ, उसको मूल्यांकन गरेर जनता बसिरहेका छन् भन्ने हेक्का अहिले निर्वाचित जनप्रतिनिधिले राख्न सक्नुपर्दछ ।

तसर्थ, स्थानीय सरकारका जनप्रतिनिधिले तत्कालै संविधान पढ्न थाल्नु पर्दछ । संविधानमा तोकिएका अधिकारका बारेमा उनीहरू जानकार हुनैपर्दछ । गएको पाँच वर्षमा कतिपय अधिकार केन्द्रले नदिने र कतिपय अधिकारका बारेमा स्थानीय सरकारका प्रतिनिधिहरू नै अन्योलमा रहनाले पनि धेरै काममा विलम्ब हुन पुग्यो । अब आफ्नो क्षेत्राधिकार रहेका विषयमा केन्द्रको मुख ताकेर बस्ने प्रवृत्ति सबैले त्याग्न सक्नुपर्दछ । आफ्नो वडा या पालिकाको प्रमुख आफू हुँ भन्ने स्वाभिमान पलाउनु पर्दछ ।

आफ्नो पालिकाका गर्नुपर्ने कामहरूको प्राथमिकीकरण गरेर आजै काम सुरु गर्नुपर्ने भएको छ मेयर उपमेयरहरूले । त्यस्तै वडा अध्यक्षले आफ्ना वडाअन्तर्गतका गम्भीर र सामान्य प्रकृतिका समस्याको वर्गीकरण गरेर काम आरम्भ गर्न अब ढिलो गर्न हुँदैन । पानीको समस्या भएको टोलमा पानीकै कुरा गर्नु पर्‍यो भने ढलको समस्या भएका ठाउँमा ढल नै प्राथमिकतामा पर्नुपर्दछ । सूक्ष्मरूपमा समस्याको पहिचान गरी चाँडोभन्दा चाँडो समाधानको मार्ग पहिल्याउन सकियोस् भनेर विकेन्द्रीकरणको सिद्धान्तअन्तर्गत संघीय व्यवस्था ल्याइएको छ । अहिले पनि समस्या एकातिर काम अर्कोतिर हुनथाल्यो भने हामी जहाँको तहीँ हुनेछौं ।

भोजभतेरका दिनमा विद्यालय बन्द गरेका घटना पनि भए । मेयरको जन्मदिनमा विद्यालय बिदा दिने कार्य पनि विगतमा भए । यस्ता एकादुई खराब कार्यहरू भए होलान् तर अब विद्यालय सञ्चालनको सम्पूर्ण अधिकार स्थानीय सरकारले लिनैपर्दछ । गाउँका सबै बालिबालिकाको आकडा निकालेर कुनै पनि विद्यार्थी हुने उमेरका बच्चा विद्यालय जान नसकेको अवस्था आउन दिनै हुँदैन । अनुपस्थित भएर राजनीतिमा लाग्ने शिक्षक र दैनिक नियमित भई विद्यालय सुधार्न प्रयत्न गर्ने शिक्षकका बीचमा भिन्नताको व्यवहार गर्न अबेर गर्न नहुने जस्तो लाग्दछ ।

पालिकाहरूको बजेट हेर्दा दुई जना एमबिबिएस डाक्टर पाल्न नसक्ने कुनै पालिका देखिँदैनन् । केन्द्रले डाक्टर पठाएन भनेर गनगन मात्रै गरिरहने हो भने त्यस्ता मेयर हुनु र नहुनुको कुनै अर्थ देखिँदैन । अहिले पनि दश घण्टा हिँडेर भोट हाल्न जान परेका मतदाता भेटिए । ग्राभेल सडक विस्तार गर्न अरूको मुख ताक्न पर्ने पालिकाहरू पनि अब त्यति धेरै छन् जस्तो लाग्दैन । सडकमा परेको सानो प्वाल टाल्न केन्द्र सरकार नै पर्खिनुपर्ने काठमाडौं महानगरको शायदै कुनै वडा होला तर पनि ठूलो भ्वाङ परेपछि सडक विभाग आएर पिच गर्ने प्रवृत्ति हराएको छैन ।

जनताका चाहना असीमित होलान् तर स्थानीय सरकारका जनप्रतिनिधिहरूसँग त्यति धेरै आकांक्षा पनि छैन । ससाना कुराहरूले जनताको मन जित्न सक्ने अवसर सबैलाई छ । भोलि भन्दै नपन्छाई आजै काम सुरु गरेमात्रै पनि जनता खुशी हुन्छन् । आजै काम सुरु गरे गाउँको र जनताको जीवन त सहज हुन्छ नै, नेता आफैंको भविष्य पनि सुमधुर हुनेछ । त्यसैले अब बधाई थाप्ने कामलाई विश्राम दिएर काम गर्न थाल्ने कि ?

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?