‘ठूला काम होइन, जनता खुसी हुने साना काम गर्नुस्’

Read Time = 3 mins

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले रुकुम पश्चिममा निर्वाचित जनप्रतिनिधिलाई ठूला कामभन्दा पनि जनता खुसी हुने साना काम गर्न निर्देशन दिनुभएको छ । आफ्नो गृह जिल्लाका नवनिर्वाचित जनप्रतिनिधिसँग शुक्रबार बिहान अर्थ मन्त्रालयमा आयोजित अन्तरक्रियाका क्रममा उहाँले यस्तो निर्देशन दिनुभएको हो । कार्यक्रममा रुकुम पश्चिमका नगरपालिका प्रमुख/उपप्रमुख, गाउँपालिका अध्यक्ष/उपाध्यक्ष, वडाध्यक्ष, वडासदस्यलगायतको उपस्थिति थियो ।

अर्थमन्त्री शर्माले पालिकाभित्रका स्थानीयलाई ठूला कामको सपना नदेखाउन सुझाव दिँदै भन्नुभयो, ‘तपाईंहरूले स्थानीय जनतालाई ठूला काम गर्ने भनेर सपना नबाँड्नुस् । त्यस्ता काम गर्नेतिर पनि नलाग्नुस्, स्थानीय जनतालाई स-साना काम गरेरै खुसी बनाउनुस् । स्थानीयको दैनिकीसँग जोडिएको आवश्यकता पूरा गरेर सबैको मन जित्ने काम गर्नुस् ।’

उहाँले स्थानीयको आवश्यकताका आधारमा पहिचान भएका ठूला परियोजना प्रदेश र संघले बनाउने पनि जानकारी दिनुभयो । पालिका तथा वडा कार्यालय आउने स्थानीयलाई कामको सहजीकरण गर्न छुट्टै कर्मचारीको व्यवस्था गर्न पनि उहाँले निर्देशन दिनुभयो । मन्त्री शर्माले भन्नुभयो, ‘कार्यालयमा सेवाग्राही आउनासाथ नमस्ते गर्दै स्वागत गर्न एउटा कर्मचारी राख्नुस् । ती कर्मचारीलाई सेवाग्राही के कामका लागि आएको हो, त्यो काम तुरुन्त गराउन सहजीकरण गर्न लगाउनुस् । तपार्इंहरू (जनप्रनिधि) पनि नमस्ते खाएर बस्ने होइन, विकास निर्माणको कामको निरन्तर अनुगमन गर्नुस् ।’

संघ र प्रदेशले बनाएका परियोजनाको निरन्तर अनुगमन, मूल्यांकन र खबरदारी गर्ने काम स्थानीय तहको भएकाले त्यस्तो जिम्मेवारी पूरा गर्न उहाँले निर्देशन दिनुभयो । प्रत्येक हप्ता जनताबीचमा गएर अन्तरक्रिया, भेटघाट र सामिप्यता बढाउन पनि उहाँले सुझाव दिनुभयो । मन्त्री शर्माले स्थानीयस्तरका बारेमा पर्याप्त ज्ञान राख्न, वडा सदस्यलाई विभिन्न समिति बनाई जिम्मेवारी दिन, विकास-योजनाबारेमा जिल्लास्तरका कर्मचारीसँग छलफल गर्न, जनप्र्रतिनिधिलाई नैतिक आचरणबारे प्रशिक्षण दिन, दुई वा सोभन्दा बढी पालिकास्तरमा समन्वय गरी काम गर्न सुझाव दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?