हावाहुरीले कोतघरमा क्षति

Read Time = 4 mins

-डम्मर बुढा मगर
बागलुङ । हावाहुरीले गलकोट नगरपालिका वडा नम्बर ३ स्थित ऐतिहासिक गलकोट कोतघरमा क्षति पुर्याएको छ ।
केही दिन अघि आएको हावाहुरीका कारण कोतघर छेउँछाउका रुख ढल्दा कोतघरको गारो र छानो भत्किएको हो । सल्लाको हाँगाले कोतघरको दक्षिणपट्टिको भागमा क्षति पुगेको कोतघर पूजा व्यवस्थापन समितिका अध्यक्ष मीनबहादुर खत्रीले जानकारी दिनुभयो ।

चौबिसे राज्यका पालाको उक्त कोतघर रुग्ण अवस्थामा छ । विसं २०४० मा पुनःनिर्माण गरिए पनि फेरि जीर्णोद्वार गर्नुपर्ने स्थिति छ । उहाँले बर्सातका बेला कोतघरमा थप क्षति हुन नदिन बाहिरी सुरक्षा र सामान्य मर्मतको काम थालिएको बताउनुभयो । अध्यक्ष खत्रीले कोतघरका लागि दीर्घकालीन संरक्षण योजना चाहिएको उल्लेख गर्नुभयो । वडा नम्बर ३ का अध्यक्ष फमबहादुर खत्रीले कोतघरको पुनःनिर्माणका लागि नगरमार्फत गण्डकी प्रदेशको पर्यटन तथा संस्कृति मन्त्रालय र सङ्घ सरकारसँग सहयोग माग गरिएको बताउनुभयो ।

ऐतिहासिक र पुरातात्विक महत्वको भएकाले कोतघरको पुनःनिर्माण त्यसैअनुसार गर्नुपर्ने उहाँको भनाइ छ । यसअघि पनि नगरकै लगानीमा कोतघर संरक्षण योजनाले गति लिएको भन्दै वडाध्यक्ष खत्रीले अहिले पनि त्यसलाई प्राथमिकतामा राखिने बताउनुभयो । आर्थिक वर्ष २०७६/७७ मा कोतघरलाई नगर गौरवको योजनामा समेटेर संरक्षण र विकासको काम थालिएको थियो ।

कोतघरलाई आकर्षक सम्पदास्थलका रुपमा चिनाउने लक्ष्यसहित नगरपालिका संरक्षणमा जुटेको हो । नगरपालिकाको पहलमा कोतघरको मर्मतसम्भार, हातहतियार प्रतिस्थापन, घेराबार, पदमार्ग, खानेपानी, शौचालयलगायत संरचना बनेका छन् । कोतघरको बृहत् जीर्णोद्धारका लागि नगरपालिकाले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) पनि तयार पारेको छ । नगरप्रमुख भरत शर्मा गैरेले कोतघरलाई ऐतिहासिक एवं धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्ने गरी पूर्वाधार बनाइने बताउनुभयो ।

उहाँले हटिया बजार (मध्यपहाडी पुष्पलाल लोकमार्ग) देखि कोतघर जोड्ने पहुँच मार्ग कालोपत्रका लागि पनि डिपिआर बनेको उल्लेख गर्नुभयो । जीर्णोद्वार या पुनःनिर्माण गर्दा कोतघरको ऐतिहासिकता र मौलिकता जोगाइने नगरप्रमुख गैरेको भनाइ छ । उक्त कोतघरबाट विसं १६३१ देखि १८४४ सम्म मल्ल राजाले स्वतन्त्र राज्य चलाएका थिए । गलकोट राज्यका पहिला राजा जितारी मल्लले कोतघर बनाएको इतिहासमा उल्लेख छ ।

राजाले त्यहाँ दरबार, कोतघर, मन्दिर, पोखरी, कुवा, किल्ला, मोर्चा, पर्खाल आदि निर्माण गरेका थिए । कोतघरले झण्डै सात रोपनी जग्गा चर्चेको छ । कोतघरसँगै इष्टदेवी र भगवतीको मन्दिर पनि छ । पछिल्लो समय कोतघर आन्तरिक पर्यटकको रोजाइमा समेत पर्दै गएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?