भूकम्पसँगै ढलेर अझै उठ्न नसकेको बुङ्मतीको हस्तकला

Read Time = 11 mins

काठमाडौं । हाल ललितपुर महानगरपालिकाअन्तर्गत पर्ने ललितपुरको दक्षिणी गाउँ बुङ्मती पाटन क्षेत्रजस्तो सुगम छैन । स्थानीय तहको पुनः संरचना गर्नेक्रममा साबिकको धापाखेल, सुनाकोठी, हरिसिद्धि खोकना र बुङ्मती गाविसलाई गाभेर ललितपुर महानगरपालिका बनाइएको थियो । तर, बुङ्मतीलाई महानगरको कुनै अनुभूति छैन ।

बुङ्मतीसँगै जोडिएको भैंसेपाटीसँग तुलना गर्ने हो भने बुङ्मती ललितपुर महानगरपालिका क्षेत्रको दुर्गम वडा मानिन्छ । भैंसेपाटीबाट नजिकै भएर पनि चुनाव, शिलान्यास, उद्घाटन कार्यक्रमबाहेक उच्चपदस्थ अधिकारी र ठूला दलका केन्द्रीयस्तरका नेताको मुख देख्न नपाइने स्थानीयवासी गुनासो गर्छन् ।

पुरानो कला, साँस्कृतिक नगरी भए पनि बुङ्मतीको चर्चा ‘महावर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको भोटो जात्राका बेलामात्रै हुने गरेको पाइन्छ । यस वर्षको जात्रा पनि भोटो देखाउँदै शनिबार सम्पन्न भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीलाई ललितपुरको जावलाखेलमा रातो मच्छिन्द्रनाथको भोटो देखाएर जात्रा समापन गरिएको हो । मच्छिन्द्रनाथको रथलाई लगनखेलबाट तानेर जावलाखेल पु¥याएको चौथो दिन भोटो देखाउने प्रचलन छ । भोटो देखाएकै दिन रातो मच्छिन्द्रनाथको मूर्तिलाई खटमा राखेर बाजागाजासहित बुङ्मती पु¥याइन्छ । तर, रथ निर्माणलगायत सोसम्बन्धी सबै काम भने पाटन क्षेत्रमै हुने र बुङ्मतीमा थन्क्याउनमात्रै लगिने भएकाले जावलाखेल, लगनखेलमा जस्तो जनसहभागिता हुँदैन ।

गुरु गोरखनाथले नव नागको आसन बनाएर बसिदिएका कारण १२ वर्षसम्म पानी नपरी अनिकाल लागेपछि लिच्छविकालीन राजा नरेन्द्रदेव, तान्त्रिक, ललित ज्यापु तथा कोर्टक नागराजासमेत कामरूप कामाख्या गई रातो मच्छिन्द्रनाथलाई काठमाडौं उपत्यका ल्याएको र आफ्ना गुरु मच्छिन्द्रनाथ देखेपछि गोरखनाथ गुरुको दर्शनका लागि जानेक्रममा नव नाग मुक्त भइ वर्षा र सहकाल सुरु भएको किंबदन्ती रहेको छ ।

बुङ्मती हस्तकला नगरी पनि हो, खासगरी परम्परागत काष्ठकलामा बुङ्मतीले छुट्टै पहिचान बनाएको छ । बुङ्मती हस्तकला समितिका अध्यक्ष सुजेन्द्र तुलाधरका अनुसार काष्ठकला बुङ्मतीवासीको पुख्र्यौली पेशा नै हो । तर, अहिले यो संकटमा पर्न थालेको छ । २०७२ को विनाशकारी भूकम्पपछि ओरालो लागेको हस्तकला महामारीपछि उठ्नै नसक्ने गरी थला परेको छ ।

पर्यटक आउनेक्रम ठप्प भएसँगै हस्तकला पनि ठप्प भएको हो । भूकम्पअघि दैनिक लाखको कारोबार हुने बुङ्मतीको हस्तकला अहिले हजारमा झरेको अध्यक्ष तुलाधरको भनाइ छ । भूकम्प र कोरोनापछि सबैभन्दा बढी मारमा साना हस्तकला व्यवसायी परेका छन् । अहिले पनि बुङ्मतीवासीको मुख्य पेशा हस्तकला र कृषि नै हो तर पछिल्लो समय खेतीयोग्य जमिन घडेरीमा परिवर्तन हुन थालेपछि कृषि पनि जोखिमतर्फ मोडिएको छ ।

निकट भविष्यमै कृषि पनि मासिने र बुङ्मतीको पहिचानका रूपमा रहेको काष्ठकला पनि मासिने हो कि भन्ने चिन्ताले बुङ्मतीवासीलाई सताउन थालेको छ । तर पनि हस्तकलाको संरक्षण र प्रवद्र्धनका लागि सरकार, महानगरपालिका, नेपाल हस्तकला महासंघलगायत कुनै पनि सरोकारवाला निकायले चासो दिएका छैनन् । सामान्य पहललाई बेवास्ता गर्ने, निरन्तररूपमा सरकारी निकाय धाउन समय नहुने हुँदा बुङ्मतीको हस्तकला संकटपूर्ण अवस्थाबाट गुज्रिरहेको तुलाधरको भनाइ छ । उहाँ भन्नुहुन्छ, ‘हस्तकला प्रवद्र्धनका लागि तालिम र बजारीकरणको आवश्यकता छ तर तालिम र बजारीकरणका लागि हामीसँग स्रोतसाधन छैन, सरकारबाट पनि कुनै सहयोग छैन ।

हामीजस्ताले सरकारी निकायबाट सहयोग पाउन पनि गाह्रो छ, लिन पनि गाह्रोे छ । धेरै प्रक्रियागत झन्झट हुन्छ, हामी कागजी प्रक्रिया मिलाउनै जान्दैनौँ । त्यसका लागि हामीसँग समय पनि हुँदैन । आफ्नो काम पनि गर्नै पर्‍यो ।’

तर पनि बुङ्मतीको पहिचानलाई बचाइराख्न अहिले समितिले हस्तकला तालिम कार्यक्रम सुरु गरेको छ । निरन्तरको पहल र प्रयासपछि वडा कार्यालयले तालिम सञ्चालनका लागि केही बजेट दिएकाले तालिम कार्यक्रम सम्भव भएको अध्यक्ष तुलाधर बताउनुहुन्छ । दुईमहिने एड्भान्स तालिम गत वैशाख ४ गतेदेखि सुरु भएको हो, असार ४ गतेसम्म सञ्चालन हुनेछ ।

तालिममा १० पुरुष र एक महिलाको सहभागिता रहेको छ । स्थानीय हस्तकलाको प्रवद्र्धनकै लागि युएन हृयाविट्याट, सवा नेपाल र लुमन्ती नामक संस्थाको सहयोगमा बुङमतीमा निर्मित बहुउद्देश्यीय भवनमा सञ्चालित तालिम कार्यक्रममा कलाकार अमिर शाक्य र रामभक्त महर्जनले प्रशिक्षण दिँदै आउनुभएको छ । दैनिक दुई घण्टाको तालिम भनिए पनि प्रशिक्षकहरू दिनभरि खटिने गरेको तुलाधरले बताउनुभयो । उहाँ भन्नुहुन्छ, ‘थोरै बजेट छ तर धेरै काम गर्नुपरेको छ । हस्तकलाप्रतिको मायाले गर्दा प्रशिक्षक साथीहरू दिनभर खटिनुभएको हो ।’

बुङ्मतीको हस्तकला अन्तर्राष्ट्रिय बजारमा पनि पुगेको छ तर बुङ्गतीका कलाकारले भने हालसम्म हस्तकला प्रवद्र्धनका लागि आयोजना हुने अन्तर्राष्ट्रिय व्यापारमा सहभागी हुने अवसर पाएका छैनन् । अध्यक्ष तुलाधार भन्नुहुन्छ, ‘अन्तर्राष्ट्रिय व्यापार मेलाको के कुरा गर्नु, यहीँ हुने व्यापार मेलाबारे पनि हामीलाई थाहा हुँदैन । कसैले जानकारी दिँदैन, अहिले चाहिँ केही साथीहरूले जानकारी गराउन थाल्नुभएको छ ।’

प्रशिक्षक अमिर शाक्य भूकम्पसँगै थला परेको बुङ्मतीको हस्तकला कोरोनापछि झन् थलिएको बताउनुहुन्छ । जसका कारण स्थानीय कलाकर्मीहरू आफ्नो पुख्र्यौली पेशाबाटै पलायन हुनेक्रम बढेको छ । पुस्तान्तरण हुन नसक्दा हस्तकला लोप हुने अवस्थामा पुगेको छ । उहाँ भन्नुहुन्छ, ‘यस्तै अवस्था रहे बुङ्मतीको हस्तकला मासिएर जानेछ किनभने पहिले गरिरहेकाहरू धेरैले छाडिसके, नयाँ पुस्ता पनि कोही अन्य व्यवसायमा लाग्ने, केही नोकरीतिर लाग्ने, केही वैदेशिक रोजगारीमा जाने लहर चलेको छ ।’ शाक्यका अनुसार १०-१५ वर्षअघिसम्म उडकार्भिङ क्षेत्रमा बुङ्मतीको ख्याति काठमाडौं, ललितपुर र भक्तपुरभन्दा बढी थियो । किनभने त्यतिबेला बुङ्मतीमा उच्चस्तरीय उडकार्भिङ हुन्थ्यो तर अहिले सबै हराएर गयो । अहिले पहिलेका जस्ता कलाकार नै छैनन् । उहाँ भन्नुहुन्छ, ‘पुराना कलाकारलाई प्रोत्साहन छैन, नयाँलाई तालिमको व्यवस्था छैन, पर्यटक आउन छाडेकाले पहिले जस्तो हस्तकलाको कारोबार पनि छैन, त्यही भएर धेरैले काम छाडेका हुन् । काष्ठकलाको मास्टर पिस बनाउने कलाकार बुङ्मती क्षेत्रमै अहिले चार-पाँचजनामात्रै छन् ।’

बुङ्मतीको हस्तकलाको प्रवद्र्धनका लागि बुङ्मतीमै आर्ट ग्यालरीको व्यवस्था हुनुपर्ने, काठमाडौंमा विभिन्न म्युजियमहरूमा बुङ्मतीको हस्तकला पहिचानका लागि राखिनुपर्ने, नेपाल पर्यटन बोर्डलगायत पर्यटक आगमन हुने क्षेत्रमा पनि प्रदर्शनीमा राखिनुपर्ने र बुङ्मती क्षेत्रमा पर्यटक आगमनका लागि सहजीकरण गरिनुपर्ने उहाँको भनाइ छ ।

समितिका अध्यक्ष तुलाधरको पनि त्यस्तै सुझाव छ । हस्तकलाका लागि आवश्यक कच्चा पदार्थ सहजरूपमा उपलब्ध गराइनुपर्ने, बजारीकरण, विविधीकरणका साथै पुस्तान्तरणका लागि आधारभूत र उच्चस्तरीय तालिमको व्यवस्था गरिनुपर्ने उहाँ बताउनुहुन्छ ।
त्यसो त विगतमा बुङ्मती यस्तो थिएन, निकै चहलपहल थियो, पर्यटक जान्थे, हस्तकलाका व्यापारी जान्थे, सबै हस्तकलाकर्मी संगठितरूपमा लागिपरेका थिए, काम पनि भ्याइनभ्याई हुन्थ्यो तर हस्तकलासम्बन्धी काम गर्ने संघसंस्थामा चरम राजनीतीकरणसँगै ती संस्था पनि विघटन भए, हस्तकलाको अनि अधोगति सुरु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?