महेन्द्र पार्क : सुरक्षाकर्मीले रोकेपछि सडक बन्द गरेर विरोध प्रदर्शन

हिमालय टाइम्स
Read Time = 6 mins

पार्थ मण्डल/हिटा
झापा । स्वर्गीय राजा महेन्द्र शाह शालिक पुनःस्थापन समितिलाई झापा भद्रपुर-८ स्थित महेन्द्र पार्क प्रवेशमा सुरक्षाकर्मीले रोक लगाएका छन् । सुरक्षाकर्मीले समितिका संयोजक सञ्जीव मैनालीसहितको टोलीलाई पार्कको मुख्य प्रवेशद्वारमै रोकेपछि दुई घण्टासम्म स्थिति तनावपूर्ण बनेको थियो ।

पार्कभित्र स्वर्गीय राजा महेन्द्रको अर्धकदको शालिक राख्ने समितिको पूर्वघोषित कार्यक्रमअनुसार शनिबार दिउँसो १ बजे र्‍यालीसहित उनीहरू त्यहाँ पुगेका थिए । राष्ट्रिय झण्डा, ब्यानरसहित हातमा कुचो बोकेर पुगेका उनीहरूलाई सुरक्षाकर्मीले पार्कभित्र प्रवेश गर्न दिएन ।

उनीहरू शालिक नलिई सरसफाइ गर्न त्यहाँ पुगेका रहेछन् । तर, पनि सुरक्षाकर्मीले उनीहरूलाई सडकमै रोक्यो । पार्कभित्र प्रवेश गर्न नपाएपछि उनीहरू विरोध प्रदर्शनमा उत्रिए । उनीहरूले सडक नै अवरोध गरी स्थानीय सरकार र प्रशासनविरुद्ध चर्को नाराबाजीसमेत गरे ।

उनीहरूले बल प्रयोग गरेर पार्कभित्र छिर्न खोज्दा सुरक्षाकर्मीले पनि बल प्रयोग गरेर उनीहरूलाई रोकेका थिए । दुवै पक्षबीच सामान्य घम्साघम्सी भए पनि झडपको स्थिति भने आएन । जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठक र सशस्त्र प्रहरी बल नम्बर २ गण झापाका डिएसपी प्रेम पोखरेलसमेत घटनास्थलमा उपस्थित हुनुहुन्थ्यो ।

अन्ततः समितिको कार्यक्रम सुरक्षाकर्मीले असफल बनाइदिएपछि उनीहरूले सदरमुकाममा आधा घण्टा यातायात बन्द गरी विरोध प्रदर्शन गरेका थिए । भद्रपुरको टे«ड युनियन चोकको बीच सडकमै बसेर उनीहरूले यातायात बन्द गराउँदा सवारीसाधन र यात्रुले सास्ती झेल्नु परेको थियो । त्यसपछि उनीहरू कोणसभा गरी कार्यक्रम समापन गरी फर्किएका थिए ।

राजाको शालिक राखेर छाड्ने अडान
स्व.राजा महेन्द्र शाह शालिक पुनःस्थापन समितिका संयोजक सञ्जीव मैनालीले पार्कभित्र जसरी पनि राजाको शालिक राखेरै छाड्ने बताउनुभयो । विगत १६ वर्षदेखि कुनै स्थानीय सरकारले वास्ता नगर्दा जीर्ण बनेको, सरसफाइ र रंगरोगन नपाएको महेन्द्र वाटिकालाई नयाँ जीवन दिएर, पूर्ववत् अवस्थामा फर्काउन आफूहरू लागेको उहाँले बताउनुभयो । ‘हाम्रो शान्तिपूर्ण अभियानसहितको कार्यक्रममाथि भद्रपुर नगरपालिका र स्थानीय प्रशासनले हस्तक्षेप गर्‍यो,’ उहाँले भन्नुभयो, ‘हामी चुप लागेर बस्दैनौँ, यो अभियानको सुरुवात हो, हामी जसरी पनि स्वर्गीय राजा महेन्द्रको शालिक राखेरै छाडछौँ ।’

स्थानीय सरकारसँग सहकार्य र समन्वय गरे मात्र शालिक राख्नुहोस् प्रशासनले भनिरहेको अवस्थामा तपाईंहरूले कि समन्वय गर्नुभएन भन्ने जिज्ञासामा उहाँले भन्नुभयो, ‘स्थानीय सरकारले शालिक राख्न कार्यपालिका वा नगर सभाबाट बहुमतले पारित गर्नुपर्ने हुन्छ, त्यो कदापि स्थानीय सरकारले चाहँदैन, त्यसैले समितिले समन्वय र सहकार्य गर्नु कुनै अर्थ नै छैन ।’ ‘यो पार्क इतिहाससँग जोडिएको सार्वजनिक सम्पत्ति हो, यसमा सबै नागरिकको समान अधिकार हुनुपर्छ,’ उनले भने । त्यस्तै, समितिका सचिव सन्तोष विमलीले हामी झापाली युवाहरू स्वतःस्फूर्त रूपमा लागेर जीर्ण पार्कलाई जीवन्त दिन खोजेको बताउनुभयो । ‘हामी हातहतियारसहित पार्क प्रवेश गर्न खोजेका थिएनौँ,’ उहाँले भन्नुभयो, ‘हातमा कुचो बोकेर आउँदा पनि राष्ट्र प्रेमी नागरिकलाई सुरक्षाकर्मीले अपराधीको शैलीमा हस्तक्षेप गर्न खोज्यो, यो घटना अति निन्दनीय छ ।’

शालिक राख्ने अभियानबाट पछि नहट्ने बताउँदै मेचीनगरका गिरिराजमणि पौडेलले भन्नुभयो, ‘त्यस क्रममा मर्नु परे पनि हामी पछि हट्दैनौँ’ । राजाको शालिक राख्न नदिए देशभर रहेका शहीदको शालिक पनि तोड्न तयार रहेको उहाँको भनाइ थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?