आज सिथि नखः पर्व र विश्व वातावरण दिवस मनाइँदै

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । आज नेवार समुदायले धुमधामका साथ सिथि नखः पर्व मनाउँदैछन् । यस्तै, आज विश्व वातावरण दिवस परेको छ । जुन महिनाको ५ तारिखमा विश्वव्यापी वातावरण दिवस मनाइने गरिन्छ । जेष्ठ शुक्ल पक्ष षष्ठीअर्थात् कुमार षष्ठीका दिन मनाइने सिथि नखः पर्वलाई नेवार समुदायले वर्षा अघिको अन्तिम चाडको रूपमा मनाउने गर्दछन् ।

भगवान् कुमारको जन्म दिनसमेत भएकाले यस दिन कुमारको पूजा गरी मास, मुगी, केराउ लगायतका दलहनबाट बनेका विशेष प्रकारको पकवान ‘बारा’ खाने प्रचलन रहेको छ । त्यसैगरी, घरमा भर्खर भित्रिएको नयाँ गहुँको म्हुछ्यामढी (मुठ्ठी पारी बनाइएको विशेष खालको रोटी) समेत आज खाने गरिन्छ ।

सिथि नखःको दिन नेवार समुदायले मुहान, इनार, कुवा, पोखरी, धारा लगायतका पानीको स्रोत सरसफाइ गर्ने चलन रही आएको छ । यस चाडसँगै वर्षा सुरु हुने र किसानको वर्षको महत्वपूर्ण कार्य सिन्या ज्याः (धान रोपाइँ) सुरु हुने भएकाले यस चाडलाई वर्षा अघिको अन्तिम चाडको रूपमा लिइन्छ ।

वातावरण दिवस
हरेक वर्ष ५ जुनमा विश्व वातावरण दिवस मनाउने गरिन्छ । पर्यावरणप्रति विश्व जगतमा सचेतना जगाउने उद्देश्यअनुरूप संयुक्त राष्ट्रसंघको आहृवानमा सन् १९७३ देखि प्रत्येक वर्ष ५ जुनमा विश्व वातावरण दिवस मनाइन्छ । यो दिवसमा यसपालिको नारा ‘वन्ली वन अर्थ’ अर्थात् ‘केवल एउटा पृथ्वी’ भन्ने रहेको छ ।

वातावरण दिवस मनाउनुभन्दा एक वर्ष अगाडि सन् १९७२ को जुन ५ देखि १६ तारिखसम्म संयुक्त राष्ट्र संघको महासभाले विश्व वातावरण सम्मेलन आयोजना गरेको थियो । वातावरण संरक्षणका लागि विश्वभरमा राजनीतिक र सामाजिक जनचेतना जगाउने उद्देश्यले विश्व वातावरण सम्मेलन आयोजना गरिएको थियो । वातावरणीय संरक्षणको आवश्यकता महसुस गरी सम्मेलनको एक वर्षपछि सन् १९७३ देखि यो दिवस मनाउन थालिएको हो ।

नेपालमा पनि यसदिन विविध कार्यक्रम गरी यो दिवस मनाउने गरिन्छ । मानव जाति आफू बस्दै आएको वातारणको सर्जक र विनाशक दुवै रहेकाले वातावरण संरक्षणमा मानवको भूमिका महत्वपूर्ण छ । यही कुरालाई ध्यानमा राखेर वातावरण संरक्षणमा मानवीय भूमिकालाई प्रवल बनाउने उद्देश्यसहित यो दिवस मनाइन्छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले वातावरण जोगाउनु सरकारको महत्वपूर्ण एजेण्डा भएको बताउनुभएको छ । कान्तिपुर मिडिया ग्रुपले शनिबार आयोजना गरेको हाफ म्याराथनको उद्घाटन गर्दै उहाँले अहिले वातावरण जोगाउने विश्वकै महत्वपूर्ण एजेण्डा भएको र यसप्रति नेपाल सरकार गम्भीर रहेको बताउनुभयो । प्रधानमन्त्री देउवाले जलवायु परिवर्तनको विश्वव्यापी असर सारा संसारले भोगिरहेको उल्लेख गर्दै जोखिम न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रम अपरिहार्य भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘मौसम परिवर्तन र तापमानमा देखिएको वृद्धिको समस्या सारा संसारले भोग्दै आएको छ । हामीले पनि मौसम परिवर्तनका कारण विभिन्न समस्या भोग्न थालेका छौँ । बेमौसमी बाढी पहिरोका साथै हाम्रा हिमाल पग्लने समस्याले हिमशृंखला नांगिँदै गएका छन् भने नदी प्रणालीमा समेत असर गर्दै आएको देखिन्छ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?