रोहितको शतकमा नेपाल विजयी

हिमालय टाइम्स
Read Time = 7 mins

काठमाडौं । रोहित पौडेलको शतक मद्दतमा नेपालले अमेरिकामा जारी दोस्रो अभ्यास खेलमा जित हात पारेको छ । रोहितको ब्याटिङलाई सोमपाल कामीको बलिङले साथ दिएपछि नेपालले दोस्रो अभ्यास खेलमा हृयुस्टन हरिकेन्सलाई २९ रनले पराजित गरेको हो । नेपालले आइसिसी विश्वकप लिग-२ मा ओमान र अमेरिकासँग खेल्ने त्रिकोणात्मक एकदिवसीय खेलको सिरिजका लागि यी अभ्यास खेल खेलेको हो ।

जितका लागि नेपालले दिएको २५१ रनको विजयी लक्ष्य पछ्याएको हरिकेन्स ४३.३ ओभरमा २२१ रनमा समेटियो । हरिकेन्सका निनाद निम्बालकरले ८१ बलमा १२ चौका र दुई छक्कासहित सर्वाधिक ९९ रन जोड्नुभयो । सोमपाल कामीले बोल्ड पारेपछि निनाद शतक बनाउन चुक्नुभएको थियो ।

यस्तै एन्ड्रिस गौसले २८ रन जोड्दा रमिज राजाले २२ रन र गौरभ बजाजले १५ रन थप्नुभयो । करण केसीले सातौँ ओभरको पहिलो बलमा मुनिब चौधरीलाई रोहित पौडेलको हातबाट क्याच गराउनुभएको थियो । मुनिबले पाँच रनमात्रै जोड्न सक्नुभयो । यस्तै सोमपालले ओपनर एन्ड्रिस गौसलाई एलबिडब्लुको धरापमा पार्नुभयो । २९ बलमा गौसले ६ चौकासहित २८ रन जोड्नुभएको थियो ।

हरिकेन्सको विकेट पतन हुनेक्रम जारी रहृयो । १५ औँ ओभरको अन्तिम बलमा सागर ढकालले नितिश कुमारलाई १० रनमा क्याच गराउनुभयो । लगत्तै किशोर महतोले रमिज राजालाई २२ रनमा विकेटकिपर विनोद भण्डारीबाट क्याच गराएपछि नेपाल खेलमा हावी भएको थियो ।

त्यसपछि सोमपालले लगातार तीन विकेट लिँदै खेल नेपालको पक्षमा पार्नुभएको थियो । उहाँले मार्टिन कैनलाई तीन रन, सक्लान हैदरलाई पाँच रन र गौरभ बजाजलाई १५ रनमा क्याच गराएपछि नेपालको जित सम्भव भएको हो । नेपालका सोमपाल कामीले ८.३ ओभरमा ३८ रन खर्चेर ५ विकेट लिनुभयो । यस्तै किशोर महतोले १० ओभरमा ५१ रन खर्चेर दुई र सागर ढकालले पनि आठ ओभरमा २६ रन खर्चेर दुई विकेट लिनुभयो ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४९.१ ओभरमा सबै विकेट गुमाएर २५० रन बनाएको थियो । नेपालका लागि कार्यवाहक कप्तानसमेत रहनुभएका रोहित पौडेलले ९० बलमा पाँच चौका र चार छक्कासहित १०१ रनको शतकीय इनिङ खेल्नुभयो । ८९ बलमा उहाँले शतक पूरा गर्नुभएको थियो ।

रोहितले पाँचाँै विकेटका लागि आरिफ सेखसँग मिलेर १०८ रनको साझेदारी गरेपछि नेपाल उक्त स्कोरमा पुगेको हो । आरिफले ६३ बलमा तीन चौकासहित ४१ रन जोड्नुभयो । ओपनर कुशल भुर्तेल भने खाता नै खोल्न नपाई आउट हुनुभएको थियो । अर्का ओपनर सुनिल धमला नवौँ ओभर १३ रन बनाउँदै आउट हुनुभयो । सोही ओभरमा देव खनाल पनि १९ रनमा आउट भएपछि नेपालको मध्यक्रम आरिफ र रोहितले सम्हाल्नुभएको थियो ।

त्यसअघि रोहितले दीपेन्द्रसिंह ऐरीसँग मिलेर चौथो विकेटका लागि ६० रनको साझेदारीसमेत गर्नुभएको थियो । दिपेन्द्रले ३५ बलमा तीन चौका र एक छक्कासहित २४ रन जोड्नुभयो । त्यसबाहेक नेपालका विनोद भण्डारीले चार, सुशान भारीले पाँच र करण केसीले १२ रन जोड्नुभयो ।

हरिकेन्सका मोहम्मद इलियासले १० ओभरमा ६४ रन खर्चेर पाँच विकेट लिनुभयो । हरमित सिंहले १० ओभरमा एक मेडनसहित २६ रन खर्चेर दुई विकेट लिनुभयो ।

अब नेपालले विश्वकप क्रिकेट लिग दुईका खेलहरू खेल्नेछ । नेपालले पहिलो खेल जेठ २६ मा ओमानसँग खेल्दै सुरुवात गर्दैछ । नेपालको टोलीमा सन्दीप लामिछाने (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी (विकेटकिपर), सुनिल धमला, देव खनाल, आदिल अन्सारी, करण केसी, सोमपाल कामी, सुशान भारी, किशोर महतो र सागर ढकाल रहनुभएको छ ।

यस सिरिजपछि ओमानको आइसिसी विश्वकप लिग-२ मा ३६ खेल पूरा हुनेछ । नेपालले हाल १२ खेल खेलेको छ । ओमान ३२ खेलमा १९ मा जित र ११ मा हारका साथ शीर्षस्थानमा छ । नेपालको यो विश्वकप लिग-२ मा चौथो त्रिकोणात्मक सिरिज हो । सात टोली सहभागी विश्वकप लिग-२ मा शीर्ष तीन टोलीले आगामी वर्ष हुने एकदिवसीय विश्वकप ग्लोबल छनोट सिधै खेल्न पाउनेछन् । बाँकी चार टोलीले प्लेअफ खेल्नुपर्ने हुन्छ ।

विश्वकप लिग-२ को पूरा खेल नसकिने सम्भावना उच्च हुँदा विजयी प्रतिशतका आधारमा शीर्ष तीन टोली निर्धारण हुनेछन् । नेपालको यो विश्वकप लिग-२ मा चौथो त्रिकोणात्मक सिरिज हो । सात टोली सहभागी विश्वकप लिग-२ मा शीर्ष तीन टोलीले आगामी वर्ष हुने एकदिवसीय विश्वकप ग्लोबल छनोट सिधै खेल्न पाउनेछन् । बाँकी चार टोलीले प्लेअफ खेल्नुपर्ने हुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?