२४ घण्टा पनि टिकेन एकीकृत समाजवादीकाे मन्त्री फेरबदलकाे निर्णय

फाइल तस्वीर

Read Time = 4 mins

काठमाडौं । २४ घण्टा नवित्दै नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकले गरेको निर्णय उल्टिएको छ । आइतबार एकीकृत समाजवादीको सचिवालय बैठकले पार्टीका मन्त्रीहरू हेरफेर गर्ने निर्णय गरेको थियो । सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले समाजवादीको उक्त निर्णयलाई उल्टाई दिएको हो ।

आज अध्यक्ष माधव नेपाल चार जना सांसदको नाम मन्त्रीका लागि बोकेर बालुवाटार नपुग्दै साविक मन्त्रीहरुमा खैलाबैला भएको थियो । पार्टीले निर्णय गर्नुअघि नै स्वास्थ्यमन्त्री विरोध खतिवडा र पर्यटनमन्त्री प्रेम आले पार्टी कार्यालय पुग्नुभएको थियो ।

सचिवालयको निर्णय अनुसार चार जनामा सांसदको नाम आज विहान बालुवाटार पुर्‍याउन अध्यक्ष माधव नेपाल बालुवाटार पुग्नुभएको थियो ।

एकीकृत समाजवादी मात्र होइन, कांग्रेस, माओवादी र जसपाका कारण पनि एकीकृत समाजवादीको मन्त्री फेरवदलको निर्णय रोकिएको बुझिएको छ । अलि अघिदेखि नै सत्ता साझेदार दल माओवादी केन्द्र र जसपामा पनि मन्त्रीहरु हेरफेरको माग उठेको थियो ।

यसैगरी एकीकृत समाजवादीकै मन्त्रीहरूको गुनासो सहितको दौडधुप, प्रधानमन्त्री शेरबहादुर देउवाको तत्काल मन्त्री फेरबदल नगर्ने इच्छालगायतका कारण पनि समाजवादीको मन्त्री फेरबदल गर्ने निर्णय तत्काल हुन नसकेको हो । प्रधानमन्त्री देउवा बजेटमाथि मन्त्रालयगत छलफल हुने बेला मन्त्री फेरबदल गर्न नहुने पक्षमा हुनुहुन्छ ।

आजै बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले तत्काल मन्त्री नफेर्ने सहमति गरेसँगै मन्त्री फेरबदलको प्रक्रिया तत्कालका लागि स्थगित भएको छ ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी हुनुहुन्थ्यो ।

यसैबीच एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पूर्वसहमति अनुरुप नै पार्टीका मन्त्रीहरुलाई फेरबदल हुने बताउनु भएको छ ।

सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैँ नेता खनालले कुन व्यक्तिलाई मन्त्री बनाउने भन्ने कुरा पार्टीको सार्वभौम कुरा भएको बताउनुभयो ।

उहाँले आफ्नो पार्टीको तर्फबाट कसलाई मन्त्री बनाउने भन्नेकुरा पार्टीले नै निर्णय गर्ने भन्दै धर्तीका अरु कुनै तागतले रोक्न नसक्ने बताउनु भएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?